Shittalpati
हेफरले दियो तीन स्थानीय तहलाई राहत रकम

पाल्पा, हेफर ईन्टरनेशनल नेपालले जिल्लाका थप तीन स्थानीय तहलाई राहत रकम सहयोग गरेको छ । जिल्लाका ७ स्थानीय तहलाई कोभिड विरुद्ध लड्नको राहत रकम सहयोग गरिसकेको हेफरले जिल्लाका थप तीन स्थानीय तहलाई पनि रकम सहयोग गरेको हो । हेफरले स्वास्थ्य संस्था तथा आईसोलेसन निर्माण अक्सिजन खरिद, पिसिआर किट तथा एन्टिजेन किट खरिद, पिपिई, औषधी लगायतका सरसमान खरिदको लागि रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकालाई दोस्रो चरणमा सहयोग रकम प्रदान गरेको छ । हेफरले स्थानीय साझेदार संस्थाहरुको सहकार्यमा पाल्पाको रामपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकालाई राहत रकम स्वरुप चेक हस्तान्तरण गरेको हो । उसले तीन वटै स्थानीय तहहरुलाई १५/१५ लाखको चेक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवाल, स्थानीय साझेदार संस्था पछौटेपन उन्मुलन समाज बेसका कार्यकारी निर्देशक शालिकराम पाण्डेले चेक हस्तान्तरण गरे । त्यस्तै निस्दी गाउँपालिकाको लागि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुलाई हेफरका कार्यक्रम प्रबन्धक अनन्त सिलवाल, स्थानीय साझेदारी संस्था जनविकास तथा परिचालन केन्द्रका कार्यकारी निर्देशक देविलाल लामिछानेले चेक हस्तान्तरण गरेका थिए । त्यस्तै पूर्वखोला गाउँपालिकाको लागि हेफरका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले गाउँपालिका अध्यक्ष नुनबहादुर थापालाई चेक हस्तान्तरण गरेका हुन् । कोभिड विरुद्ध लड्नको लागि पाल्पाका १० वटै स्थानीयतहलाई १ करोड ४९ लाख रुपैयाँ सहयोग गरिएको हेफरका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले बताए । हेफरले यस अघि तानसेन नगरपालिकालाई ४० लाख, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका, रम्भा गाउँपालिकालाई १५/१५ लाख, माथागढी गाउँपालिकालाई १० लाख, बगनासकाली गाउँपालिका र रैनादेवीछहरा गाउँपालिकाको लागि ४ लाख ५० हजार सहयोग गरिसकेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update