Shittalpati
संस्कृति संरक्षणका लागि गल्धा मिनी साँस्कृतिक महोत्सव

पाल्पा, स्थानीय कला संस्कृतिको संरक्षणका लागि निस्दीको गल्धामा मिनी साँस्कृतिक महोत्सव भएको छ । सगरमाथा युवा क्लब निस्दी – ५ , गल्धा, कठैडाँडाको आयोजनामा महोत्सव भएको हो ।

‘मगर संस्कृतिको धरोहर गल्धा गाउँ, स्थानीय र कला संस्कृति, परिकार र प्राकृतिक वातावरणमा रमाउऔं’ भन्ने मूल नाराका साथ दुई दिनसम्म महोत्सव चलेको थियो । महोत्सव यही फागुन १४ र १५ गते भएको हो । महोत्सवको उत्साहजनक रुपमा समापन गरिएको कार्यक्रमका संयोजक कृष्ण गैरेले जानकारी दिए । महोत्सवको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले उद्घाटन गरेका थिए । महोत्सवको उद्घाटन गर्दै अध्यक्ष सारुले स्थानीय कला संस्कृतिको संरक्षणसँगै आर्थिक विकासका लागि महोत्सवले महत्वपूर्ण टेवा पुर्‍याउने बताए ।

उनले नेपाली कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै गाउँपालिकाले आगामी दिनहरुमा सहयोग गर्ने बताए । महोत्सवमा लोकप्रिय लोक गायक बद्री पंगेनी, सर्जक तथा गायक हुम गैरे, लोक गायक बिक्रम परियार, लोक गायिका जमुना राना, धन माया दिशुवा मगर, कृष्ण गैरे, समिक्षा ठाडा गैरे, राज बयम्बु मगर, झलक सारु,सुर्य गैरे लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेकोे थियो । महोत्सको अवसरमा खुल्ला लोक नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो । प्रतियोगितामा सगरमाथा बाल क्लब प्रथम र नयन ज्योति बाल क्लव द्धितिय भएका थिए । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य युब राज खनालले महोत्सवको समापन गरेका थिए । महोत्सवको समापन गर्दै सांसद खनालले महोत्सव आयोजनाले आर्थिकसँगै संस्कृति संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । क्लबका अध्यक्ष पिलेन्द्र ठाडाको अध्यक्षता, सञ्चारकर्मी गोविन्द नेपाली र कुशल अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update