Shittalpati
चिसो बढ्दै छ, ख्याल गरौं

पछिल्लो केही दिन यता चिसो बढ्दै गएको छ । पुसको पहिलो हप्ता लाग्दा नै बढी चिसोको महसुस गरिएको छ । चिसोका कारण अस्पतालहरुमा विरामीहरुको चाप बढ्न थालेको छ । पुस महिना मै चिसोले सयौं बिरामी परिसकेका छन् भने माघमा झन् अवस्था कस्तो होला अहिले नै आंकलन गर्न सकिदैन । चिसो र शीतलहरुले शारीरिक कमजोरी भएका वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन परिवार, सडक मजदुरहरू बढी प्रभावित हुन्छन् । यो समयमा शारीरिक सरसफाइमा कमी हुनाले लिंग तथा योनीमा फोहर जम्ने र कापमा संक्रमण हुन सक्छ । हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीं घाउ हुने, रूघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्याहरू, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुख्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुने, अपच, पखाला, आउँजस्ता पाँचन सम्बन्धी रोगहरू देखा पर्ने गर्दछन् ।

शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउछ । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोगीहरू बढी गम्भीर बन्छन् । त्यसैले चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । जाडो मौसम शुष्क हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ । शीतलहर, हुस्सु, कुहिरो र चिसो हावामा रोगले छिटो आक्रमण गर्ने गर्दछ । चिसो समयमा वातावरणमा उत्पन्न भाइरसले छिटो आक्रमण गर्छ । चिसोमा सकेसम्म तातो पानी, झोलजन्य खानेकुरा र सुप पर्याप्त मात्रामा खानुपर्छ । जाडोका कारण पानी कम प्रयोगमा ल्याउँदा अन्य स्वास्थ्य समस्या निम्तिन सक्छन् । चिसो बढ्न थालेपछि त्यसबाट बच्न सबैले सतर्कता अपनाउनु आवश्यक छ । मंसिर, पुस र माघ महिना यसै पनि नेपालीका लागि निकै चिसा महिना हुन् । यी महिनामा हिमाली क्षेत्रमा हिउँ पर्ने र पहाडी क्षेत्रमा हिउँको प्रभाव पर्ने भएका हुनाले निकै ठन्डी हुन्छ । सबैका लागि कष्टकर हुने यी चिसा महिना पछिल्लो समयमा जलवायुमा आएको परिवर्तनका कारण चिसो कहिलदेखि र कुन बेलासम्म रहन्छ भन्न सकिने अवस्था भने छैन । तसर्थ चिसोबाट बच्नका लागि सबैले सतर्कता भने अपनाउनै पर्छ ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update