Shittalpati
अर्थतन्त्रमा नीतिगत सुधार आवश्यक

देशमा अर्थतन्त्रका पक्षमा थुप्रै समस्याहरु उत्पन्न भएका छन् । तर सरकार भने ति समस्या समाधानमा गम्भीर भएको देखिदैन । पछिल्लो समय राष्ट्र बैंकले ल्याएको नीतिप्रति उद्योगी व्यवसायीहरु आन्दोलित छन् । उनीहरु बैंकको चर्को व्याजदरका विरुद्ध सडकमा उत्रिएका छन् । तर सरकार भने उनीहरुको जायज मागप्रति रमिते बनेको छ । रुस–युक्रेनबीच जारी युद्व तथा यस अघि नै कोभिडका कारण थलिएको विश्व अर्थतन्त्रको बाछिटाका रूपमा नेपाली अर्थतन्त्रमा शिथिलता देखिएको तीतो यथार्थलाई नकार्न सकिँदैन् । तर यसो भन्दैमा अर्थतन्त्र सुधारतर्फ भने सरकार मौन बस्नु हुुँदैन । नेपालमा थुप्रै अर्थतन्त्रका स्रोतहरु छन् । तिनीहरुको उचित परिचालन गर्न सकियो भने मात्र देशको अर्थतन्त्रलाई केही हदसम्म भए पनि सुधार गर्न सकिन्छ । मुलुकको अर्थतन्त्र निकै समस्यामा परिसकेको वर्तमानमा नेपाली अर्थतन्त्रलाई कसरी जोगाएर राख्ने भन्ने विषय ज्यादै महत्वपूर्ण छ । यसका निम्ति सरकार र निजी क्षेत्रको सहकार्य जरुरी छ ।

बैंक तथा वित्तीय संस्थाको भूमिका अझ महत्वपूर्ण हुन्छ । कठिन परिस्थितिमा सहकार्य तथा समन्वयबिना अगाडि बढ्न सकिन्न । कुनै एक पक्षको प्रयासले मात्र अर्थतन्त्रमा तत्काल सुधारको अपेक्षा गरिनु केवल सपना मात्र हुनेछ । परनिर्भरताका कारण नेपाली अर्थतन्त्रमा अपेक्षित रूपमा सुधार आउन सकेको छैन । फलतः खाद्यान्न, फलफूलजस्ता कृषि उपजका क्षेत्रमा आत्मनिर्भरतातर्फ अग्रसर गराउने नीति तथा कार्यक्रम अवलम्बन गर्न सक्नुपर्छ । जलस्रोत र पर्यटन नेपाली अर्थतन्त्रका मुख्य आयस्रोत हुुन् र तिनले नेपालीको मुहार परिवर्तन गर्न सक्छन् । मूलभूत रूपमा वर्तमानको आर्थिक समस्या कुनै देश वा क्षेत्र विशेषको होइन । त्यसैले विश्व अर्थतन्त्रमा सुधार आए नेपालमा पनि यसको सकारात्मक प्रभाव पर्ने तथ्यलाई नकार्न सकिँदैन । अर्थतन्त्रको वर्तमान अवस्था जोखिमपूर्ण देखिए पनि नेपालका निम्ति अवसरसमेत हुन सक्छ । नीतिगत, संस्थागत र संरचनागत सुधार गरी अगाडि बढ्दा स्वनिर्भर अर्थतन्त्रको मार्गचित्र बन्न सक्छ । यसर्थ अर्थतन्त्रको नीतिमा केही सुधार गर्दै अगाडि बढ्न सके मात्र देशको अर्थतन्त्र सुुधार हुन सक्छ । यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update