Shittalpati
नयाँ नेतृत्व आवश्यक

नेपाली राजनीतिमा विभिन्न समयमा उतारचढावहरु आउने गर्दछन् । देशमा प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको छ । यति बेला नयाँ सरकार निर्माणको प्रसव पीडालाई कसरी समायोजन गरेर अगाडि बढ्ने भन्ने विषयले प्राथमिकता पाएको छ । निर्वाचन परिणामको आकंलनसँगै विभिन्न खालका क्रिया प्रतिक्रियाहरु अहिले राजनैतिक वृतमा देखापरेका छन् । अनौठा–अनौठा क्रियाकलापले गर्दा कतै फेरि मूलुक राजनैतिक अस्थिरताको भूमरीमा त पर्दैन भन्ने चिन्ता र चासो पनि उत्तिकै बढेको छ । यी चासो र चिन्तालाई साकार पार्न गठबन्धनमा सहभागी दलहरुका मनमा भएका विकारहरु कम गरेर अबको नयाँ नेपाल निर्माणका लागि नयाँ सोंच र जागर भएका युवापुस्तालाई अगाडि सार्नु पर्ने अहिलेको उपुक्त विकल्प हो । आम नागरिकले पनि त्यही नै चाहेका छन् । युवा पुस्तालाई नै सरकारको नेतृत्व दिनुपर्ने आवाजहरु नागरिकस्तरबाटै आउनुलाई सकारात्मक रुपमा लिनुपर्छ । नयाँ पुस्ताका नेताहरुले पनि अब पुराना पुस्ताहरुलाई स–सम्मान गर्दै आफुहरु नेतृत्व तहमा पुगेर मुलुक हाक्ने प्रतिज्ञा गरिरहेका छन् । यो स्वाभिक नै हो । पुरानै नेताहरुबाट मुलुक अब अगाडि बढ्न सक्ने अवस्था छैन । सरकार जनताले खोज्दा भेटिने खालको हुनुपर्छ । चाहेको बेला सरकारका हरेक अंगहरु देखिने खालका हुुनुपर्छ । अनि मात्र देशको विकास हुन्छ । जनताका समस्याहरु सम्बोधन हुन्छन् ।

अब नेपाली जनताले यसैका लागि नयाँ रुपान्तरण खोजेका छन् । उनीहरुलाई रुपान्तरणका आवश्यक अवयवहरुको पहिचान गर्ने काममा सरकार कमजोर हुनु हुँदैन । त्यसकारण परम्परागत रुपमा भन्दा पनि परिवर्तित नयाँ रुपमा भएको देखिने र अनुभव गर्न मिल्ने खालको सरकार अहिलेको आवश्यकता हो । पुराना र टेस्टेड नेता भन्दा पनि नयाँ र केही गरांै भन्ने भावना भएका नेतालाई संसदीय दलको नेताका रुपमा अगाडि ल्याउन नसक्ने हो भने देशले नयाँपन पाउन सक्दैन र जनताले परिवर्तनको अनुभूति गर्न सक्दैनन् भन्ने कुराको चेतना आवश्यक छ । सरकार फेरेर मात्र हुँदैन । दलको नेतृत्व गर्ने र सरकारको गाडी चलाउने चालक पनि फेरिनुपर्छ । समग्र मुलुकको मागलाई सम्बोधन गर्नेतर्फ सबै राजनीतिक दलहरुको ध्यान जानुपर्छ । सरकारका हरेक क्रियाकलापले भावी राजनैतिक आधारहरु तय गर्ने कुरामा दुईमत नभए जस्तै यो पटक पनि सरकारको नेतृत्व गर्ने व्यक्तिहरु नयाँ आएनन् भने देश र जनता जहिले पनि यस्तै समस्याहरुको शिकार बाहेक अरु केही हुन सक्दैनन् । त्यसकारण सरकार जुनसुकै दल र गठबन्धनको बनोस् तर प्रधानमन्त्री अर्थात् सरकारको नेतृत्व गर्ने पात्र चाँही नयाँ र केही गरौं भन्ने हुट्हुटी भएको हुनुपर्छ । यसर्थ अहिले मुलुकको आवश्यकता भनेको नै नयाँ नेतृत्व हो । यसतर्फ सबै राजनीतिक दलहरुको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update