Shittalpati
निर्वाचनमा सुरक्षा प्रभावकारी बनाऊ

प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिदै गएको छ । सरकार र सम्बन्धित निकायले निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । लोकतन्त्रको मूल आधार आवधिक निर्वाचन हो । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बनाउन सुरक्षा प्रवन्ध अत्यन्त महत्वपूर्ण हुने गर्दछ । एकै चरणमा देशभर निर्वाचन हुँदैछ । निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित तवरले सम्पन्न गर्नु यतिबेलाको मूल दायित्व हो । एकै चरणमा निर्वाचन सम्पन्न गर्नु सुरक्षाका दृष्टिकोणले निकै नै चुनौतीपूर्ण कार्य हो । अझ यसमाथि निर्वाचन बिथोल्नका लागि केही समूह लागिपरेका कारण थप सुरक्षा चुनौतीसमेत देखिएको छ । निर्वाचन शान्तिपूर्ण र सुरक्षित नभएसम्म यसको औचित्य एवं आधिकारितामा नै प्रश्न उठ्न सक्छ । यो अवस्थाप्रति सरकार र निर्वाचन आयोग समयमै संवेदनशील हुन जरुरी छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने दायित्व आयोगको मात्र नभई राजनीतिक दलदेखि सबैको हो । तर, लोकतान्त्रिक अभ्यासमा अभ्यस्त दलहरू जनमत लिने सवालमा भने स्वस्थ प्रतिस्पर्धा गर्न अझै सक्षम छैनन् । यसले सुरक्षा चुनौतीलाई भने थप बल पुुग्ने गरेको छ । यसअघिका निर्वाचनमा बाह्य सुरक्षा चुनौती बढी हुन्थे । तर, यस निर्वाचनमा सहभागी दलबीचका अस्वस्थ प्रतिस्पर्धा र हत्कण्डा नै चुनावी सुरक्षामा प्रमुख चुनौती बन्दै आएको छ । दलका गतिविधिले निर्वाचन आयोग, निर्वाचन प्रक्रियामा सामेल कर्मचारी र सुरक्षाकर्मीमा समेत एकखाले मनोवैज्ञानिक दबाब र त्रास देखिने गर्छ, जुन अर्को सुरक्षा चुनौती हो । निर्वाचन आचारसंहिता कडाइपूर्वक कार्यान्वयन गर्न आयोगले काम गरे पनि दलबाट भने उल्लंघन भइरहे । कतिपय अवस्थामा आयोगले आफैले बनाएको आचारसंहितालाई कडाइ गर्न सकेन । स्थानीय तह निर्वाचनलाई हेर्दा अब हुने निर्वाचनमा पनि चुनौती हुन सक्ने देखिन्छ । निर्वाचनमा सरकारद्वारा शान्ति सुव्यवस्था कायम गर्न गरिएका सुरक्षा प्रबन्धमा मतदाता विश्वस्त हुनुपर्छ । निर्वाचनमा कुनै किसिमको बाधा व्यवधान सिर्जना हुनुहुँदैन । शान्ति सुरक्षाको विषयमा सम्बद्ध निकाय गम्भीर भएर लाग्न सके समस्याहरु सिर्जना हुँदैन । निर्वाचनमा मतदाताले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाए, पाएनन् भन्ने कुराले अधिक महत्व राख्छ । मतदान शान्तिपूर्ण वातावरणमा नभए निर्वाचनको वैधतामा प्रश्न उठ्छ । सुरक्षा आफैंमा एउटा मनोविज्ञान हो, जुन विथोलिंदा लोकतान्त्रिक अभ्यासका धेरै तन्तु खल्बलिन्छन् । तसर्थ भयको वातावरण हटाउनु र निर्वाचन सुरक्षा प्रभावकारी बनाउनु अहिलेको प्रमुख शर्त हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update