Shittalpati
निर्वाचनको परीक्षामा दलहरु

मंसिर ४ को प्रतिनिभि सभा र प्रदेश सभा सदस्यको निर्वाचन दलहरुको परीक्षा हो । निर्वाचन दलहरू परीक्षण भई उम्मेदवार अनुमोदन हुने महत्वपूर्ण अवसर पनि हो । यो यस्तो अवसर हो, जसबाट दलले आफ्नो खास सामथ्र्य पहिचान गर्ने मौका पाउँछन् । अहिले त्यहि परीक्षाको तयारीमा दलहरु लागेका छन् । उनीहरुले पाँच वर्षमा के कति काम गरे ? त्यहि कामको सम्पूर्ण तथ्यगत जानकारी जनतालाई दिनुपर्दछ । कामको परिणाम दिन नसक्ने र भावी योजना समेत जनतालाई बुझाउन नसक्ने दल र उम्मेदवारले भने निर्वाचनमा पराजय भोग्नुपर्दछ । यसैले पनि आवधिक निर्वाचन दल र उम्मेदवारका लागि अग्नि परीक्षा हो ।

आसन्न आम निर्वाचनमा विशेषतः कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन र एमाले नेतृत्वको (केही मधेसवादी र राप्रपासहितको) विपक्षी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । केही स्वतन्त्र व्यक्तिले चुनाव जित्न सक्ने आंकलन गरिए पनि तात्विक अर्थ राख्ने गरी संसद्मा उपस्थिति नरहने स्पष्टै छ । जातीय, क्षेत्रीय दलहरूको अर्थपूर्ण उपस्थिति हुने सम्भावना पनि देखिँदैन । अर्थात् सत्ता परिवर्तनमा दक्खल पु¥याउने गरी कुनै नयाँ दल या व्यक्ति संसद्मा दरिलो उपस्थिति हुने दिशामा राजनीति मोडिएको अवस्था छैन । जनताको प्रतिनिधित्व भनेको केवल कानुनी र औपचारिक प्रक्रिया मात्र नभई परिणामसम्म पुर्‍याउने सारवान सहभागिताको सशक्त मार्ग हो । त्यसैले, प्रतिनिधित्व प्रभावकारी हुन सक्नु पर्छ । प्रतिनिधित्व गर्ने व्यक्ति र दलले प्रतिनिधित्व गरिने वर्गका निम्ति गरिने कार्यसम्पादन प्रभावकारी हुन त्यस जनप्रतिनिधिप्रति रहेको जनविश्वास, सामाजिक पुँजी र सक्षमताले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ । जनविश्वासका सूचक इमान्दारिता भरोसापूर्ण कार्य र स्वच्छता हो भने सामाजिक पँुुजीलाई निर्वाचनको भावना र अपेक्षाबाट मापन गर्न सकिन्छ । क्षमता र दक्षतालाई भने प्रतिनिधिले गर्ने काम र त्यसका उपलब्धि देखाउन सक्ने खुबीमार्फत मूल्यांकन गर्न सकिन्छ । तर त्यो खुवी अहिलेका राजनीतिक दल र उम्मेदवारहरुमा भेट्न सकिदैन । अहिले दलहरुप्रतिको वितृष्णका कारण पनि आम मतदाताहरुमा उत्साह छाएको छैन् । राष्ट्र, राष्ट्रियता, जनजीविका, सेवा, सुशासनका क्षेत्रमा दलहरुले देखाएका गलत प्रवृत्तिका कारण जनताहरुमा उत्साह छैन् । दलको संकीर्ण स्वार्थ जनताले बुझेका कारण पनि जनतालाई यस चुनावले खासै आशा, उल्लास जगाउन नसकेको हो । यही अवस्था दलहरूले बुझेका कारण जनताको मन जित्न सकिने कुरामा नेतालाई शंका छ । जनताले सजिलै विश्वास गरिहाल्ने अवस्था पनि अहिले छैन । त्यसैले पनि दलहरुका लागि अहिलेको चुनावी परीक्षा निकै नै सकसपूर्ण छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update