Shittalpati
पर्यटन दिवसको औचित्य

विश्वमा हरेक वर्ष पर्यटनको क्षेत्रको विकास र उत्थानका लागि विश्व पर्यटन दिवस मनाइँदै आइएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर ‘पर्यटनमा पुनर्विचार’ भन्ने नाराका साथ पर्यटन दिवस मनाउन लागिएको हो । कोभिड–१९ को महामारीका कारण दुई वर्ष यता अन्य क्षेत्र जस्तै नेपालको पर्यटन क्षेत्र थिलथिलो बनेको छ । तर, सामान्य अवस्थामा पनि यो क्षेत्रका केही समस्या कहिल्यै हटेनन् । खास गरी हाम्रा सम्पूर्ण पर्यटकीय गन्तव्यबारे सूचना र जानकारी नै उपलब्ध छैन । भेटिए पनि पर्याप्त हुँदैन । जसका कारण नेपालमा पर्यटनहरुको आवागमनमा जुन रुपमा उत्साह हुनुुपर्ने हो त्यो हुन सकेको छैन ।

कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्न यो दिवस कोसेढुङ्गा सावित हुन जरुरी छ । हुन त विगतका दिवस औपचारिकतामा मात्र सिमित बन्न पुगेका छन् । यस वर्ष पनि त्यस्तो नहोला भन्न सकिदैन तर यसो हुनुहुँदैन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो । हिमश्रृंखलाहरू, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय बुद्धभूमिका शालीन हामी नेपालीहरू नै नेपालको गहना हो । कोभिडले यस व्यसवायका हरेक पाटाहरू नराम्रोसँग थलिएका छन् । कोरोनाले थिलो–थिलो पारेको पर्यटन व्यवसायीलाई अझ सशक्त ढंगले अगाडि बढाउने अवसरको रुपमा दिवसलाई लिनुपर्दछ । पर्यटन दिवस मनाइरहँदा कम्तिमा प्रदेश सरकारले कोरोनाका कारण प्रभावित बनेका पर्यटन क्षेत्रको समस्या र चुनौति बारे गम्भीरतापूर्वक छलफल गर्ने तथा विगतका कमीकमजोरीलाई दोहोरिन नदिनेतर्फ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना बनाउनतर्फ उत्तिकै सजगता अपनाउन आवश्यक छ । आयात र भुक्तान सन्तुलनका लागि आवश्यक पर्ने विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा रहेको पर्यटन व्यवसायलाई वेवास्ता गर्ने हो भने देशले ठूलो आर्थिक भार व्यहोर्नु पर्ने हुनसक्छ । यसर्थ सम्बन्धित निकायले पर्यटन क्षेत्रमा चहलपहल ल्याउन आवश्यक कदम चाल्न सके मात्र पर्यटन दिवस मनाउनुको औचित्य रहन सक्छ ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update