Shittalpati
प्राथमिक उपचार दिवसको सन्दर्भ

हरेक वर्ष आजकै दिन प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २२ मा प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । प्राथमिक उपचार भनेको दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आकलन गरी त्यसको निदानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो । अर्को अर्थमा भन्दा कुनै व्यक्तिलाई चोटपटक लागेपछि वा ऊ बिरामी भएपछि अस्पताल पुर्‍याउनुअघि गरिने सबैभन्दा सुरुको उपचार पद्दतिलाई प्राथमिक उपचार भनिन्छ । कुनै पनि दुर्घटनामा घाइते हुनेलाई बचाउन प्राथमिक उपचारको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

नेपालमा पनि हरेक वर्ष सयौं जनाले सडकमा हुने दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा घाइते बन्न पुगेकाहरूलाई सामान्य प्राथमिक उपचार प्रदान गर्ने हो भने पनि उसको ज्यान जोगिने सम्भावना बढेर जान्छ । सानादेखि ठूलासम्मका दुर्घटनामा घाइते हुन पुगेकालाई प्राथमिक उपचार दिने हो भने उसको ज्यान जोगाउन पनि सहज हुन्छ । प्राकृतिक विपत्तिदेखि दुर्घटनाको अवस्थामा मानिसहरू निकै आत्तिने, र जसोतसो अस्पताल पु¥याउन हतारो गर्दछन् । यस्तो प्रवृत्तिले कतिपय अवस्थामा विरामीको ज्यानै जानेदेखि उपचार प्रक्रिया निकै जटिल पनि हुन सक्दछ । त्यसको बदलामा घटनास्थलमा उपलब्ध मानिसले घटनास्थल र विरामीको राम्रो मूल्यांकन गरी जति सक्दो छिटो प्राथमिक उपचार दिनुपर्दछ । यसलाई नेपालले जनस्वास्थ्यको राष्ट्रिय कार्यक्रमको रूपमा कार्यान्वयनमा लैजानुपर्दछ । त्यसका लागि स्कुल, कलेजमा स्वास्थ्य शिक्षा अन्तर्गत प्राथमिक उपचारलाई पाठ्यक्रममा समेटेर पढाउन आवश्यक छ । प्रशिक्षार्थीको उमेर र जोखिम समूहको आधारमा यस्तो तालिममा सिकाइने विषयवस्तु पाठ्यक्रममा समाविष्ट गर्न सकियो भने दुर्घटनाबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update