Shittalpati
दलहरुलाई स्वतन्त्रको चुनौती

अहिलेको स्थानीय तहको निर्वाचनबाट स्वतन्त्र व्यक्तिहरुको उदय भएको छ । यसको संकेत प्रदेश र संघीय तहको निर्वाचनमा समेत देख्न थालिएको छ । हालै सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूको विजयले लोकतन्त्रमा प्रक्रियागत स्वतः परिमार्जन हुने सम्भावनाहरू उजागर गरेको छ । लोकतन्त्रमा यो सुखद घटना हो । यो लोकतन्त्रमा अति दलीयकरण, दलभित्र र बाहिर दलहरूले ल्याएको बेथिति, हरेक क्षेत्रको भ्रष्टीकरण, कार्यकर्ता र दलका नेताबीच मालिक र झोले सम्बन्ध, शीर्ष नेताहरूको मनोमानी अनि पार्टीभित्र एकल हैकमबारे खबरदारी गराउने परिणाम र घटना अवश्य हो ।

आउँदो संघ र प्रदेशको आमनिर्वाचनका लागि पनि स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसबाट पनि प्रष्ट हुन्छ कि जनताहरु राजनीतिक दलहरुबाट वाक्का भएका छन् । स्वतन्त्र दलहरुको उदयले दलहरुका लागि निकै ठूला चुनौती देखिएको छ । स्वतन्त्रबाट उम्मेदवारी पर्न थालेपछि राजनीतिक दलहरु छटपटीमा छन् । दलहरुमा एक्कासी बढ्न पुगेको छट्पटी तत्कालको परिणाम भने होइन । दलहरुले दलीय मर्यादा र आचरणलाई कुल्चेर जे पनि गर्न खोजेको नतिजास्वरुप नै स्वतन्त्रहरु जन्मिन पुगेका हुन् । धमाधम स्वतन्त्रहरुबाट आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्न थालेको छ, जसले पुराना दलका रुपमा रहेका नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायतमा एक किसिमको छट्पटी उत्पन्न गराएको छ । चर्चित सञ्चारकर्मी रवि लामिछानेले समेत राष्ट्रिय स्वतन्त्र पार्टी नै निर्माण गरेर चुनावमा होमिने तयारी गरेका छन् । राजनीतिको मूलधारमा आउने अभ्यासमा जुटिरहेका स्वतन्त्रहरुमा देखिएको उत्साह र उमङ्ग त्यति कमजोर पनि छैन र हुन पनि हुँदैन । स्वतन्त्रको उम्मेदवारीले कम्तीमा पनि दलहरु सच्चिने अवसर भने पाउने छन् । यसर्थमा पनि स्वतन्त्र उम्मेदवारीको घोषणालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । अब पनि राजनीतिक दलहरु सच्चिएनन् भने भोलि उनीहरुले ठूलो मूल्य चुकाउनु पर्ने छ । यसर्थ स्वतन्त्रहरुको हस्तक्षेप र दबदबालाई कम गर्ने हो भने राजनीतिक दलहरुले आफूलाई सच्याउन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update