Shittalpati
नेवारी चाड ‘पिशाच चतुर्दशी’ र ‘पाँहाचन्हे’

आज ‘पिशाच चतुर्दशी’ । तानसेनमा कसै कसैले मात्र ‘पिशाच चतुर्दशी’ अर्थात ‘पाँहाचन्हे’ मनाउँछन् तर सबैले मनाउँदैनन् । भनिन्छ फागुण कृष्ण चतुर्दशीको दिनमा भगवान शिव पिशाचको रुप धारण गर्नु भएको थियो त्यसैले पिशाच चतुर्दशी भनिएको हो । त्यस्तै पाँहा चन्हे भन्नाले पाँहा भनेको पाहुना र चन्हे भनेको पर्व (नेवारी शब्द) । अर्थात यस दिन काठमाडौं उपत्यकामा बिहे गरी पठाइसकेका आफ्ना चेलीबेटीहरुलाई घर व्यवहारले नभ्याईरहने हुँदा वर्षको एकदिन भए पनि अनिवार्यरुपमा निम्तो गरी भोज खुवाउने चलन रहेको छ । त्यसैले काठमाडौं उपत्यकाका नेवारहरुले आजको पिशाच चतुर्दशीको दिनलाई विशेष ठूलो चाडको रुपमा मनाउने गर्दछन् । यस दिन पिशाच रुपि भगवान शिबको पूजा आराधना गरि विशेष भोज चढाइन्छ । यस पर्वले हाम्रा वरपर घुमिरहने दुष्ट आत्माहरुबाट छुटकारा पाउने हो भनिन्छ । आजकाल मानिसहरु भूतप्रेतमा खासै विश्वास गर्दैनन् तर यस्ता तत्वहरु समाजका लागि घातक नै सिद्ध भएका छन् ।

आयुर्वेदशास्त्र अनुसार कतिपय यस्ता रोगहरु हुन्छन् जुन कसरी लाग्यो भन्ने कुनै शारीरिक कारण देखिदैन तर त्यसले दैनिकरुपमा दुख दिइरहन्छन् । यस्ता रोगहरुलाई भूतजन्य रोग भनिन्छ । यस्ता रोगहरुको निराकरण धामी झाँक्रीहरुले स्वस्तीशान्ति, झारफूक गरेर सञ्चो तुल्याएका हुन्छन् । भनिन्छ चतुर्दशीका दिन भूतप्रेत जागृत हुन्छन् त्यसकारणले यस दिन तान्त्रिकहरु मन्त्र विद्याद्धारा त्यस्ता भूतप्रेत हटाउन सक्रिय हुन्छन् । पहिला–पहिला आजको जस्तो विभिन्न रोगहरुको लागि विभिन्न औषधिहरुको उत्पादन भएको थिएन । कहिलेकाहीं कसैलाई सानोतिनो रोगहरु लाग्यो भने पक्कै पनि भूतप्रेत, बोक्सी लाग्यो भनेर धामी, झाँक्री, तान्त्रिककोमा पुग्दथे र उनीहरुले झारफूक आदि गरेर सञ्चो बनाइ दिन्थे । हुनत आजको यस्तो विकसित युगमा पनि भूतप्रेत, बोक्सी आदिले दुख दियो भनेर आज पनि धामी झाँक्री माताकोमा जाने चलन छ । कतिपय सञ्चो हुन्छन् कति हुँदैनन् । यो त विश्वास हो । भ्रतप्रेत पिशाच भगवान श्री महादेवका गण हुन । यिनीहरुको पनि आफनै अस्तित्व रहेको विश्वास गरिन्छ । त्यसैले पनि भगवान श्री महादेवको पूजा गरिन्छ । यस पिशाच चतुर्दशीको दिन भक्तजनहरु लुकु महाद्योको अर्थात् लुकेको महादेवको पूजा आराधना गर्दछन् । उपत्यकामा नेवार समुदायले टोल–टोलमा लुकेर बसेको महादेवलाई सरसफाई गरी लुकुमहाद्यो अर्थात् लुकेको महादेव भनी पूजा गरी पाहाँचन्हे पर्व मनाउँछन् । एकदिन अगाडि घर वरपर सरसफाई गर्ने ढल, खाल्डा खुल्डी इत्यादि सफा गर्ने गर्दछन् । अरु दिन मासु नखाने महादेवलाई यस दिन मासु सहितको भोजन गराउँछन् ।

यस सम्बन्धमा विभिन्न किंवदन्ती उपत्यकामा रहेको छ । एउटा किंवदन्ति अनुसार पार्वती महादेवकी अधाँगिनी शक्तिकी देवी अर्थात् भगवती हुनुहुन्छ उहाँलाई पूजा आराधना गर्दा मद्यपान, माँसले पूजा गरिन्छ तर महादेवले यसरी माँस, मद्यपान गर्नु हुँदैन । यस्तो अप्ठयारो परिस्थितिलाई महसूस गरी भगवान श्री महादेव लुकेर पिशाचरुप धारण गरी माँस मद्यपान तथा अन्य खानेकुरा खाएर पार्वतीलाई देखाउनु भएको भनिन्छ । अर्को किंवदन्ती अनुसार शनिग्रहले आजदेखि शनिको साढेसातको दशा शुरु भयो भन्दै भगवान महादेवलाई छुन लाग्दा महादेव भागेर फोहोरको थुप्रोमा सातवर्षसम्म लुकेर बसेको पनि भनिन्छ । त्यस्तै अर्को किंवदन्ती अनुसार पौराणिक ग्रन्थमा भगवान शिवजीले भष्मासुर नामक राक्षसलाई उनको तपस्यादेखि खुसी भएर जसको शिरमा हात राख्छ भष्म हुनेछ भनेर वरदान दिनु भएछ । वरदान पाए पछि यस्को परीक्षण गर्नलाई आफनो अगाडि शिवजीलाई नै देखि शिव कै शिरमा हात राख्न जाइलागे । त्यो देखेर शिवजी डराएर भाग्दै जाँदा रछ्यानमा लुकेर ज्यान बचाए । उक्त कुरा भगवान विष्णुले थाहा पाएर मोहिनी रुप लिई भष्मासुरलाई भुल्याई आफनै शिरमा हात राख्न लगाई भष्म गराए छन् । पछि शिवजीलाई रछ्यानबाट निकाली सफा गरी पवित्र बनाई पूजा गरे छन् । त्यसदिन देखि यस दिनलाई पिशाच चतुर्दशी भन्ने गरिएको तथा लुकेर बसेको लुकुवा महादेवको पूजा गर्न थालिएको भनिन्छ । यसरी लुकेको महादेवलाई वर्षको एकपटक भए पनि रछ्यानबाट निकाली तोरी र मुलाको फूल तथा नेवारी परम्परा अनुसार मासु सहितको समयवजी राखेर पूजा गर्ने गरिन्छ ।
लुकेर बसेको महादेवले मासु सहितको समयबजी खाएको अरु कसैले नदेखोस् भनेर यसरी तोरी र मुलाको फूलले छोप्ने परम्परा रहेको पनि भनिन्छ । भगवान महादेवलाई पूजा गर्दा चढाइएको विभिन्न मिष्ठान्न भोजन आफ्ना पाहुनाहरुलाई पनि खुवाउने चलन रहेको छ त्यसकारणले पनि यसलाई पाँहा चन्हे भनिएको भनिन्छ । यो पूजा साँझपख गरिन्छ । लुकुँवि अर्थात् सूर्यास्त पछि गरिने पूजा भएकाले लुकुमहाद्यो भनिएको भनिन्छ । काठमाडौंका नेवार समुदायले भूत प्रेत पिचाशबाट मुक्तिका लागि यस दिन आफ्नो घर आगन सफा गरी फोहोर फ्याकिएको ठाउँमा लुकेर बसेको महादेवलाई आह्वान गरी जाँड रक्सी लसुन, अदुवा, मासु आदि राखी महादेवलाई चढाई विधिपूर्वक पूजा गर्दछन्, प्रसाद लिने गर्दछन् तथा भोज खाने चलन रहेको छ । यस पर्व मनाउनु भनेको हाम्रा वरपर घुमिरहने दुष्टा आत्माहरुबाट छुटकारा पाउनु हो ।
यस दिन काठमाडांै वरपर रहेका अजिमाहरु लगाएत गणेश र भैरवको रथयात्रा गर्ने गरिन्छ । त्यस्तै गरी उपत्यकामा भएका कंकेश्वरी, नरदेवी, टंकेश्वरको नीलबराही, बटु भद्रकाली र लुमही भद्रकालीको खट जात्रा चैैत्र शुक्ल प्रतिपदाका दिनसम्म नै मनाउने गर्दछन् । औसीको रातमा तीनवटा खटलाई टुँडिखेलमा लगेर एकआपसमा जुधाइन्छ । पाँहाचन्हे पर्वमा खट जुधाउने जात्रा काठमाडौं उपत्यकामा मनाइने जात्राहरु मध्येको एक फरक प्रकारको जात्रा हो भनिन्छ । किंवदन्ती अनुसार लिच्छवी राजाले काठमाडांै खड्ग आकारको निर्माण गर्दा ७ जना अजिमादेवी स्थापना गरेका थिए र तिनै अजिमादेवीहरुको सम्मानमा यसरी जात्रा गर्ने चलन चलाएका थिए रे । पहिला–पहिला यी सातैवटा खट जात्रा गरे पछि असनमा एक आपसमा लडाइन्थ्यो रे जसलाई द्य ल्वाकेगु जात्रा अर्थात् देवतालाई लडाउने जात्रा भनिन्थ्यो तर पछि गएर केवल तीनवटा खट मात्र जुधाउन थालिएको भनिन्छ । त्यस्तै गरी यो पर्वलाई काठमाडौंका आठवटी दिदीबहिनीहरु भद्काली, कंकेश्वरी, नरदेवी, म्हेपी, मैतीदेवी, असनदेवी, संकटादेवी तथा लतीदेवीको भेटघाटको पर्व पनि भनिन्छ । कता–कता पाँहा चन्हेःलाई साथीभाइहरुको जात्रा पनि भन्ने गर्दछन् । यस दिन उपत्यकाका ज्यापु समुदायले नाय खीं भन्ने वाजा पनि वबजाउँछन् । साँझपख टोलटोल, चोकमा रहेको लुकेको महादेवलाई विशेष प्रकारले भोज चढाई पूजा गरिन्छ । त्यसपछि सबै परिवार बसी भोज खाने गर्दछन् । लुकेको महादेवलाई दिइएको बत्तिको गाजल थापी आँखामा लगाउँछन् यसरी आँखामा लगाउनाले आँखा तेजिलो हुन्छ भन्ने जन विश्वास पनि रहेको छ । यो जात्रालाई उपत्यकामा इन्द्र जात्रा पछिको दोश्रो ठूलो जात्रा भनिन्छ । पिशाच चतुर्दशीको भोलिपल्ट घोडा जात्रा गरिन्छ । घोडा जात्रामा घोडा जति वेगले दौड्न सक्छ त्यति नै देशमा दुख कष्ट हराउने तथा शत्रु नाश हुन्छ भन्ने मान्यता अनुसार नै घोडा जात्रा मनाइएको भनिन्छ । काठमाडौं उपत्यकाबाट विभिन्न समयमा आई तानसेनमा स्थापित भएका केही नेवारहरुले मात्र यो चाड मनाउँछन् । सबैले मनाउँदैनन् । काठमाडांै उपत्यकामा जस्तो तानसेनमा बहाल, चोक नभएकाले यस दिन विहान श्री रण उजिरेश्वरी भगवती मन्दिर तथा विभिन्न शिव मन्दिरहरुमा गई पूजा आराधना गर्ने मात्र गर्दछन् । त्यसपछि आफ्नो घरमा रहेको सबै देवी देवताहरुलाई पूजा गर्दछन् । पूजा पछि निम्त्याईएका आफ्ना छोरी जुवाँइहरु तथा अन्य सबै परिवार एकै ठाउँमा जम्मा भई पाँहा चन्हेः मनाई भोज खाने गर्दछन् । अस्तु ।

                                    (लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update