Shittalpati
दिवा खाजाले विद्यार्थी नियमित

सामुदायिक विद्यालयमा सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीको संख्या बढेको छ । शैक्षिक गुणस्तर सुधारका लागि भन्दै पाल्पाका केही स्थानीय सरकारहरुले सामुदायिक विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रमले विद्यार्थीहरू नियमित रुपमा विद्यालयमा आउन थालेका हुन् । विद्यालयमा दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थीको उपस्थितिमा वृद्धि भएको पाइएको छ । यो आफैमा सकरात्मक हो । लामो समय विद्यालयमा रहनुपर्ने बालबालिकाका लागि स्वाभाविक रुपमा भोक लाग्छ ।


भोक मेटाउनको लागि खाजा खानुपर्छ । त्यति मात्र होइन बालबालिकाले पोषणयुक्त खानेकुरा पाउन् भन्नको लागि पनि दिवा खाजा कार्यक्रमले महत्व राख्छ । सरकारले स्वस्थ शरीरले मात्र बालबालिकाले राम्रो सिकाइ गर्न सक्छन् भन्ने मान्यताले दिवा खाजाको परिकल्पना गरेको हो । गएको वर्षदेखि यो कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गरिएको छ । कतिपय विद्यालयहरुले विद्यार्थीहरुलाई घरबाटै खाजा ल्याउन लगाउने र सरकारले खाजा खान दिएको रकम विद्यार्थीलाई दिने गरेको पनि भेटिएको छ । समग्रमा कार्यक्रम एकदमै प्रभावकारी छ । पछिल्लो समय आम सञ्चार माध्यमहरुले पनि दिवा खाजा कार्यक्रमलाई प्राथमिकता दिएका छन् । यसलाई पनि सकारात्मक मान्नुपर्छ । स्वस्थ खानेकुरा खान पाउनु बालबालिकाको अधिकार हो । आउने दिनहरुमा खाजा कार्यक्रमलाई अझ विस्तृत र प्रभावकारी बनाउन आवश्यक छ । जङ्गफुडकै कारण धेरै बालबालिकाहरु अस्वस्थ र पठाइएमा कमजोर हुने गरेका छन् । यसलाई निशेषध गर्न पनि दिवा खाजा कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्दछ । बालबालिकालाई प्रत्येक दिन खाजा खुवाउने विषय सामान्य कुरा होइन । यो चुनौतीपूर्ण विषय पनि हो । तर चुनौतीबाट नै समस्याको समाधान गर्ने बाटो खोज्न सकिन्छ । त्यसका लागि विद्यालय आफैँ, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार र स्थानीय संघसंस्थाको पनि साझेदारी र समन्वय हुन आवश्यक छ ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update