Shittalpati
खोप अभियान प्रभावकारी बनाऔं

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि खोप अभियान अगाडि बढाइएको छ । विश्वका धेरै देशहरुले खोप उत्पादन गरी सबै नागरिकलाई खोप लगाउन अभियान नै सञ्चालन गरेका छन् । नेपालले पनि खोप अभियानलाई तिव्रता दिएको छ । सुरुमा भारतबाट अनुदानमा प्राप्त भएको १० लाख खोप नेपालले आफ्ना नागरिकलाई लगाएको छ । पछि नेपाल सरकारले आफै खरिद गरेर खोप ल्याएको छ । उक्त खोप प्राथमिकताको आधारमा सरकारले आम नागरिकहरुलाई लगाउदै आएको छ । पहिलो चरणमा पहिलो प्राथमिकतामा परेकाहरुलाई लगाई सकेको नेपालले पुनः दोस्रो प्रथामिकतामा परेका पहिलो चरणका नागरिकहरुलाई आजदेखि खोप लगाउन सुरु गरेको छ । सरकारले खोप अभियानलाई प्रभावकारी बनाउने भने पनि त्यो अझै प्रभावकारी बन्न सकेको छैन । धेरै नागरिकहरुले खोपमा विश्वास गर्न सकेका छैनन् । जसले गर्दा सरकारको लक्ष्य अनुरुप खोप अभियानले सार्थकता पाउन सकिरहेको छैन ।

पहिलो चरणमा चार लाखजनालाई खोप लगाउने लक्ष्य राखेकोमा सरकार सो लक्ष्यमा पुग्न सकेन । एक महिनासम्म पहिलो चरणको समय निर्धारण गरिएको र सोहीअनुसार देशका अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, फोेहोर संकलन गर्ने गाडीका चालक, तिनका सहचालक र संकलक, एम्बुलेन्स चालक, सुरक्षाकर्मी लगायत प्राथमिकतामा परेका थिए । पहिलो चरणलाई चार खण्ड गरेर पत्रकारहरूसम्म आइपुग्दा लक्ष्यको आधामात्र खोप लगाएका छन् । कोरोनाको प्रभाव अहिले पनि छ र महामारी बाँकी छ भन्ने मानसिकता मानिसमा छैन । उनीहरू सहज रूपमा आफ्ना काममा लागेका छन् । मनबाट कोरोनाको भय हटाएर काममा लागेका कारण कोरोना विरुद्धको खोपप्रति चासो नभएको हो । सरकारले उनीहरूलाई यसबारे चेतना दिने खालका कार्यक्रम ल्याउन सकेको छैन । यसको उपयोगिता, आवश्यकता, प्रभाव र प्रयोगबारे कुनै चेतनामूलक कार्यक्रम दिन नै सकेको छैन । यसले गर्दा खोपप्रति मानिसको चासो बढ्न नसकेको हुनसक्छ । अर्कातिर संसारमै पहिलो पटक आएको यस खोपबारे अनेकथरी हल्ला चलेकाले मानिसले झट्ट खोप लगाउने आँट गरेका छैनन् । जसले गर्दा खोप अभियान प्रभावकारी बन्न सकिरहेको छैन । तसर्थ सरकारले अब खोप अभियानलाई प्रभावकारी बनाउन आम नागरिकलाई खोप प्रति विश्वास दिलाउन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update