Shittalpati
राष्ट्र निर्माताको सम्मान गरौं

पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती देशव्यापी रूपमा मनाइएको छ । सरकारी स्तरबाट खासै कार्यक्रमहरु नभए पनि राजनीतिक दल, सामाजिक संघ–संस्थाहरुबाट कार्यक्रम गरी राष्ट्र निर्माताको स्मरण गरियो । पृथ्वीनारायण शाह एक राष्ट्रनिर्माता हुन् । उनकै प्रयास र लगानीले नेपाल राष्ट्र निर्माण भएका हो । यसमा कुनै दुई मत छैन । उनको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा समेत मनाउँदै आइरहेको छ । तर सरकारीस्तरबाट भने यो दिवस मनाएको देखिदैन । यो अत्यन्तै दुःखद् पक्ष हो । पृथ्वीनारायण शाह राजा हुँदा एक÷एक गरेर निर्माण गरेको राष्ट्र अहिले नेपाल भनेर चिनिएको छ । एकताको सूत्रमा बाँधिएको भने सत्य हो । आफूले राज्य सत्ता सञ्चालन गर्ने गरेर उनले गरेका कार्य अहिले पनि उदाहणीय र महत्वपूर्ण देखिएका छन् । परिवर्तनको नाममा भएका विभिन्न परिवर्तनमूखी आन्दोलनले तिनै राष्ट्र निर्माता एकीकरणकर्ता, राज्य एकताका महान व्यक्तिको समेत बेला–बेला अपमान गरिनु राज्यकै लागि सकारात्मक मानिदैन । राष्ट्र निर्मातालाई राष्ट्र निर्माताकै रुपमा हेरिनुपर्छ, सम्मान गरिनुपर्छ ।

आज हामीले नेपालीका रूपमा विश्वभरी शिर ठाडो पार्दै जसरी गौरव गरिरहेका छौँ त्यो पृथ्वीनारायण शाहको देन हो । गणतन्त्र स्थापनापछि केही वर्ष राज्यस्तरबाट पृथ्वीजयन्ती मनाइएन । राज्यस्तरमा निर्णायक तहमा रहेका पार्टीहरूले गणतन्त्र स्थापनापछि पृथ्वीजयन्ती मनाउनुको सान्दर्भीकता नदेखे पनि जनस्तरबाट भने यसलाई निरन्तरता दिइएको छ । पृथ्वीनारायण शाहलाई भूतपूर्व राजाको रूपमा मात्रै हेरिनु गलत हो । उनी राजा मात्रै नभएर राष्ट्रनिर्माता पनि हुन् । महामानवहरूको स्मरणमा विभिन्न कार्यक्रम गरिनु कर्मकाण्ड मात्रै होइन । उसका योगदानद्वारा नयाँ पुस्ताले प्रेरणा लिदै जाउन् भन्नका लागि महामानवहरूको जन्मजयन्ती मनाउने परम्परा बसालिएको हो । तर, नेपालका सन्दर्भमा पृथ्वी जयन्ती कर्मकाण्डका रूपमा मात्रै सीमित हुँदै आएको छ । शासकहरूको अदूरदर्शिताका कारण पृथ्वीजयन्ती कर्मकाण्डका रूपमा सीमित हुन पुग्दा राष्ट्र निर्माता प्रति नै अपमान भएको छ । पृथ्वीनारायण शाहका दिब्य उपदेशहरू अहिले पनि त्यतिकै सान्दर्भिक र व्यवहारिक छन् । तर अहिले ती नेपाल निर्माताको दिव्य उपदेशभन्दा शासन ठीक विपरीत चलेको छ । त्यसैले देशमा संकट पनि चुलिँदो छ । तसर्थ अब देशलाई संकटबाट जोगाउन राष्ट्र निर्माता शाहको योगदानको सम्मान गर्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update