Shittalpati
कोरोनाकहर : ‘हतार छैन, हतार छ’ !

गंगाबहादुर खत्री
विश्वमा फैलिरहेको कोरोना महामारीको प्रकोपबाट नेपाल पनि अछुतो रहन सकेन । विश्वका विभिन्न स्थानहरुमा लकडाउनको अवस्था छ । विश्वमा रहेका मानव जातिको ज्ञानको अधिनमा यो महामारी रहेको परिस्थीति पनि छैन । मानव जातिको प्रकृतिसँगको लडाईको एक परिदृष्य हो जहाँ सम्पूर्ण मानवहरु कोरोना भाइरससँगको युद्धमा एक वीर योद्वाका रुपमा रहेका छन् । युद्धमा पसिना बगाउन सक्नेहरुले अवश्य नै जीत हासिल गर्न छन् । तर अहिले आएर हाम्रो सोध, खोज र सोंच भीष्म उप्रेतीको ‘हतार छैन, हतार छ’ भन्ने निबन्धसँग मेल खाने खालका प्रवृतिहरु देखा परेको महशुस भएको छ । ‘जीवन सधैँ अपूर्ण हुने रहेछ । जीवन सधैँ नपुगेर अभाव ग्रस्त हुँदो रहेछ । यही अभाव र अपूर्णताको अनुभूतिले हिँडाउदो रहेछ मान्छेलाई । जीवन त केवल हिँड्नु मात्र रहेछ, पुग्नु होइन रहेछ ।’ उनले आफ्नो निबन्धमा उल्लेख गरेका तर्क हुन् यि । अहिले यि तर्क वास्तवमै वर्तमान परिस्थितीसँग मेल खाना गएका छन् । एकातर्फ मानव जाति कोरोना महामारीको युद्धसँग लडिरहेको छ भने अर्को तर्फ मानिस आफ्नो पेशा, व्यवसाय, प्रतिष्ठा, पद गुम्ने खतराबाट चिन्तित छ । यी सबै कुराहरु जोगाउनका लागि मानिस हतार–हतार गरिहेको छ । यसर्थ विश्वभर फैलिएको कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि लामो समयदेखि नेपाल लगायत अन्य शाक्तिशाली राष्ट्रहरुमा जारी रहेको लकडाउनले मानव जीवनमा देखा परेका परिस्थिती जन्य अवस्थाको यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

संसारका मानव जाती आज अपूर्ण जीवनको परिमार्जनका लागि कोरोना भाइरससँगको युद्धमा होमिएको छ । यहाँ मानवलाई घरभित्रबाट बाहिर यात्रामा निष्कनका लागि निद्राबाट ब्यूझिनका लागि, धनी बन्नका लागि, दिनदुगुना रातचौगुना प्रगतिका लागि हतार छैन हतार छ । कतिपय मानिसले आफ्नो जीवनको अपूर्णताको आभास नै गरेका छैनन् । चाहे यो मानवजातिको लागि विनासकारी प्रलय नै किन नहोस् । मानवीय प्रवृति आफैमा एक अनौठो र अकल्पनीय यात्रा हो, जहाँ काँडैकाँडाहरुको बीचबाट फुलरुपी जिन्दगीको यात्रामा निक्लनु पर्ने छ । तर यस यात्राको अन्त्य कसरी र कहाँ हुन्छ थाहा छैन । विश्वका मानव जातिहरुमा कोरोना माहामारीको भन्दा पनि पेशा व्यवसाय, उन्नती प्रगतिको चिन्ता छ । विश्वका मानवजातिहरुको प्रकृति र स्वभाव एउटै हो, चाहे त्यो अमेरिकामा होस् वा अफिका वा भनौँ हाम्रो देश नेपाल ।

प्रवृति र प्रकृति एउटै हो, मात्र रङ्गमञ्च फरक हुन सक्छ । तर रङ्गमञ्च भित्रको नाटक एउटै हो । हाम्रो देशमा पनि तिनै मानवजातिहरु बसेका छन् जो रङ्गमञ्चका कुशलकलाकारहरु हुन, जसले हतार छैन हतार छ भन्ने प्रवृति अवश्य नै देखा पर्छ र पर्नु पनि स्वभाविक ठहर्छ । परिवेश जुन कुनै किन नहोस् हुने र देखाइने प्रवृतिहरु एक हुनु । रातो,कालो, सेतो, हरियो आदि रङ्गका प्रर्दामात्र फेरिने हुन् । त्यस्तै प्रर्दाहरुसँग हतार छैन हतार छ नामको नाटक हाम्रो देशमा पनि मञ्चन भईरहेको छ । जुन नेपाली कथानक हो । यस नाटकका कलाकर्मीहरु हामी नै हौंं । त्यसमा हामी सबैको भूमिका फरक फरक प्रकृतिको छ तर प्रवृति एउटै छ । मौका पाउँदा एकले अर्कोको खेदो चाहि खनि रहेकै हुन्छौ । राजनीतिज्ञहरुलाई कोरोनाकहरसँगै राजनीतिको चिन्ता छ । आफ्नो क्षेत्रमा कोरोनाकहरको प्रभाव भन्दा पनि आफ्नो राजनैतिक प्रभाव के हुने हो । त्यहाँ कोरोना प्रभावको अध्ययन कसरी गर्ने भन्नु भन्दा पनि कोरोनाको विषयलाई लिएर जनतालाई कसरी प्रभाव पार्ने हो भन्ने चिन्तासँगै भोटको जोहोका लागि हतार छैन हतार छ । सामाजिक अभियानता बताउनेहरुलाई पनि हतार छैन हतार छ, कसरी जनताहरुमा राजनैतिक वितृष्ण ल्याउने भनेर । जनतालाई धारमा राखेर राजनीति गर्नु शिवाय केही देखिदैन । तर ३ करोड नेपाली जनताको नाम लिन नत राजनितिज्ञ छोड्छन् नत सामाजिक अभियानता नै । देशमा भयवह प्रस्थिती आउन साथ सहयोगी भावनाले उत्प्रेरित एक थरी जनताहरु राहत संकलन तथा वितरण तर्फ उन्नमुख हुने गर्दछन् । जसलाई पनि हतार छैन हतार छ, कहाँ–कहाँ राहत पुगेको छैन त्यहाँ त्यहाँ पुगेर राहत वितरण गरी सामाजिक सञ्जालका भित्ताहरु सझाउने तर सामाजिक सञ्चाल सझाउँदै गर्दा राहत ग्रहण कर्ताको सामाजिक प्रतिष्ठाको ख्याल गरिदैन र पाउनेले पायो कि पाएन ख्याल समेत गरिदैन ।

उता राहत लिनेहरुलाई पनि हतार छैन हतार छ राहतको चामलमा किरा छ कि छैन, भात मिठो छ कि छैन भनेर, कसले कति पायो, मैले कति पाए भनेर आनन्दसँग चोकमा बसेर गफ गरेकै हुन्छन् । असली गरिबहरुलाई पनि हतार छैन हतार छ साँझ विहान कसरी चुलोमा आगो बाल्ने भनेर । कतै ढुङ्गा पाकाएर बच्चा भुलाउने प्रस्थिति हाम्रो देशमा नआयोस् । समय उत्पानमुखी बनाउने कोरोना संक्रमण पछि वा सँगसँगै देखिने विभिन्न समस्यासँग जुध्नका लागि तयार हुने परिवेश निमार्णका लागि कसैको ध्यान जान सकेको छैन । वषैदेखि घरभन्दाबाहिर रहेकालाई पनि हतार छैन, हतार छ कहिले, कसरी, को सँग पुकार्दा घर पुग्न सकिन्छ । हिडेर गुडेर वा उडेर जसरी भएपनि घर पुग्नु छ । नआतिनु होस् आवश्यक सावधानीसँगै जहाँ हुनुहुन्छ सुरक्षित बस्नुहोस् । घर फर्किने हतारोमा तपाईको अमूल्य जीवनै हरण हुन सक्छ ।

सामाजिक सञ्जाल प्रयोग कर्तालाई पनि हतार छैन हतार छ स्वतन्त्र र क्रियाशील थलो सामाजिक सञ्जालमा पक्षविपक्ष, बनाउने बिगार्ने, तर्कवितर्क आदि कुराहरु राख्न, प्रशारण गर्नको लागि । सोचांै हामीहरुले लेख्ने विचारहरु, सुझावहरुले कतै अरुको जीवनमा आघात पुगेको त छैन ? के सबै कार्य सम्पादन तपाईको मनमा उब्जिएका भावनाबाटै प्रेरेरित होलान त ? वा तपाईले यो परिस्थितिसँग मुकाविला गर्नका लागि के गर्नु भएको छ ? तपाईको योजना के छ ? भोलि ति सबै सामाजिक सञ्जालकर्ताले तपाईमाथि नै प्रश्नचिन्ह खडा नगरुन । उता समाजसेवी, शिक्षासेवी, स्वयम सेवीहरुलाई पनि उस्तै छ लकडाउनमा पनि क्रियाशील देखाउनका लागि, विज्ञापन गर्नको लागि । विद्यालयहरुलाई उस्तै हतार छैन हतार छ नतिजा प्रकाशनका लागि, विद्यार्थी भर्नाको लागि, अनलाईन कक्षा सञ्चालनको लागि, अनलाइन मार्फत कक्षा सञ्चालन गर्ने विद्यालयको रुपमा सावित गर्नको लागि, पहिलो विद्यार्थी भर्ना गर्नको लागि, पहिलो विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नको लागि । के यो समय यी सबै कार्यका लागि उपयुक्त हो त ? यो भन्दा उपयूक्त समय अब आउदैन र ? के यस्ता खालका गतिविधिहरुले बालमनोविज्ञान, समाज मनोविज्ञानमा असर पर्दैन ? बालमनोविज्ञान, समाज मनोविज्ञान यस्ता कार्यहरुले कोरोनाकहर भन्दा बढी असर गर्न सक्छ । विद्यालयहरु सबै सेवाहरु सुचारु भएपछि सबैभन्दा पछि सञ्चालनमा आउने सेवाहरु अन्र्तगत पर्ने गर्दछन् । तर परीक्षा सञ्चालन, नतिजा प्रकाशन भर्ना जस्ता खबरले बालमनोविज्ञानमा नकरात्मकता सिर्जना गर्न सक्छ ।

यो समयमा कोरोना संक्रमण सम्बन्धिका विषय वस्तुहरु विद्यार्थीमाझ पुर्‍याउने हो, विद्यार्थीहरुलाई रोचक प्रकृतिका परियोजनामा सामेल गराई घरमै सिक्ने वातावरण सिर्जना गर्नुपर्छ । यो मनोविज्ञानलाई बढवा दिनेखालका विषयवस्तु खोज र सम्प्रेषण गर्ने समय हो । सरकारलाई पनि हतार छैन हतार छ जस्तो देखिन्छ । विभिन्न अध्यादेश, सम्झौता, योजना सु–सम्पन्न, संसद सुचारु गर्नका लागि, लकडाउन हटाउनको लागि यो समय उपयूक्त होइन । कोरोना प्रतिरोधि गतिविधि, स्वास्थ्य सुधार कार्यक्रम, स्वास्थ्य सामग्रीहरुको व्यवस्था वा व्यवस्थापन गर्नु पर्ने समय हो । फुट भन्दा पनि जुट ल्याउनु पर्ने बेला हो । तर त्यसो हुन सकिरहेको छैन । यो अत्यन्त दुःखको कुरा हो । व्यवसायीहरु पनि उही चटारोमा छन् । घरभेटीहरुमा पनि हतार छैन हतार छ । महिना मरिसक्यो । शिक्षाविद्हरुलाई पनि हतार छैन हतार छ शिक्षकहरुलाई अनलाईन कक्षा सञ्चालन गराउनका लागि, शिक्षकहरु विद्यार्थीको घर–घर पठाउनको लागि, एसइईको परीक्षा बिना नै नतिजा निकाल्नका लागि, कक्षा ११ र १२ को परीक्षा सञ्चालनका लागि आखिर यी सबै खालका कार्यहरु के का लागि सबै क्रियाकलापहरु अहिले नै हतार छैन हतार छ जस्तै रुपमा किन सञ्चालन भइरहेका छन् ।

आखिर यी क्रियाकलापहरु १/२ महिना पछिको अवधिमा पनि पुरा हुनेखालका हुन् ? अब फेरी हतार छैन हतार छ सँगै गाउँ फर्किकाहरु समस्यामा रहेको महशुस हुन थालेको छ । शहर छिरेसँगै बाँझिएका बारीहरु खनजोत गर्दा, शहरमा जस्तो इन्टरनेट सेवा नहुँदा, मिठो मसिनो खना नपाउँदा शहर तिरै फर्किन चाहेको आभास भइरहेको छ । यस्तै शीलशीलामा घर फर्किदा क्वारेन्टाइन पुगेकाहरुले बरु उही शहरतिरै ठिक भन्ने अवस्थामा पुगिसकेका छन् । हतार छैन हतार छ बाट प्रभावित भएर तयार पारिएका क्वारेन्टाइनहरु पनि कति पो व्यवस्थित छन् र ? फोहोर मैला व्यवस्थापन, खानपानको व्यवस्था, स्वास्थ्य सामग्रीको उपलब्धतामा पनि त हतार छैन हतार छ नै त हो नि । यो यर्थाथता पनि हो । यस्ता खालका हतार छैन हतार छ भन्ने प्रवृतिबाट सञ्चालन भइरहेको गतिविधिहरुको विश्लेषण गरिरहदा मानव जातिमा धैर्यताको आवश्यकता छ । धैर्य रहौँ धैर्यताको साथकार्य सम्पादन गरौ । जिन्दगीमा समय बलवान छ, समय अनुसार चल्नु पनि छ, त्यसैले समय अनुकुल बन्न हतार पनि छ तर समय परिस्थिती अनुसार हतार गरौं धैर्यता अपनौं, पछि पछुताउने काम नगरौँ ।
(लेखक पाल्पा प्यारागनका प्रिन्सीपल तथा प्याब्सन पाल्पाका कोषाध्यक्ष समेत हुन ।)

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update