Shittalpati
सरकार !  प्रवासी नेपालीलाई आफ्नो घर आउन देऊ

शालिकराम पाण्डे ‘शिला
लकडाउन भएको दिनदेखि उठिरहेको एउटा कुरो अहिले पनि उठिरहेको छ, त्यो हो विदेशमा भएका स्वदेश आउन चाहने नेपालीहरुलाई नेपाल ल्याउने । त्यो भन्दा पनि अझ स्वदेश प्रवेशको आशामा सीमामा अड्किएका नेपालीहरुलाई स्वदेश प्रवेश दिने । सरकारले चीनको बुहानबाट नेपालीहरुलाई विमान पठाएर नेपाल ल्यायो । भारत र नेपालको सीमामा अड्किएका केही नेपालीहरुलाई भारतमा कार्यरत नेपालीहरुको संस्था तथा प्रवासी नेपालीहरुको सहयोगमा नेपाल पठाइयो । कोरोना माहामारी डढेलोझैं सल्कन थालेपछि प्रवासी नेपालीहरु आहत हुंदै मर्न परे आफ्नै जन्मभूभि र आफ्न्तको काखमा मर्ने आसामा नेपाल फर्कने प्रयास गरे । तर सरकारले लक डाउनको मिति थप्दै जांदा नेपाली बन्धुबान्धवहरुको यो आर्तनादलाई कुल्चिरÞयो । सीमानाबाट अहिले पनि लुकिछिपी भारतीयहरु नेपालमा छिरिरहेका छन् भने नेपालीहरु सीमामा भोकभोकै बस्न बाद्य भएका छन् ।

उनीहरुको जीवनयापन अत्यन्त कठोर भएको छ । सुख्खा खानाको भरमा दिन गुजार्न परिरहेको गुनासाहरु आएका छन् । रात उत्तिकै कष्टकर रुपमा बिताउन परेको छ । न घर न कर्मथलो भएर बीचमा परेका नेपालीहरुको संख्या पनि हजारौं रहेको छ  । वैदेशिक रोजगारमा खाडी र युरोप तथा अमेरिका गएका नेपाल आउन चाहने नेपालीहरुको संख्या पनि उल्लेख्य छ । यो कोरोना कहरले विदेशमा रहेका सबै नेपालीहरुलाई आफ्नो देशको माटो सम्झाएको छ । घर परिवार र इष्टमित्रहरु सम्झाएको छ । आफ्नै हावापानी र संस्कृति सम्झाएको छ र देश सम्झाएको छ । सुखमा भन्दा दुखमा घरको बढी याद हुन्छ । संकटको बेलामा त हो आमा भनेर चिच्याउने । संकटकै बेलामा हो सहयोग गर्ने र सम्झने । आज सीमामा मात्र होइन, विदेशका शहरहरुमा मात्र होइन, नेपालमै पनि तिनका परिवार रोइरहेका छन् ।

संकटले सिर्जना गरेको पारिवारिक वियोगमा यता घरका र उता प्रवासीका आँखा ओभाएका छैनन् । बीचमा सरकार कानमा तेल हालेर बसेको छ । नेपालीहरु दैनिक करिव पन्ध्र सयको संख्यामा खाडीमा कामको लागि जान्थे । खाडी लगायतका देशहरुमा जाने नेपालीहरुको संख्या त्रिचालीस लाख भन्दा बढी छ । युरोप, अमेरिका, जापान र भारत समेतको आंकडामा यो संख्या करोड पुग्ला । नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । नेपालको वार्षिक बजेट पन्ध्र खरबको हुँदा सात खरब भन्दा बढी पैसा बाहिरबाट आउँछ । नेपालको अर्थतन्त्रमा यत्रो योगदान गर्ने विदेशमा कार्यरत नेपाली युवा शक्तिलाई सरकारले गरेको ब्यवहार भने दुख लाग्दो देखियो । मानव अधिकार आयोगले विज्ञप्ती निकालेको छ, मानवअधिकारकर्मीहरु कराएका छन् । प्रतिपक्ष पाटीले आवाज उठाएको छ तर सरकारले सुन्दैन किनकि यो त दुई तिहाईको सरकार न प¥यो । हरेक संकटहरुले संभावनाहरुलाई पनि बोकेर ल्याएको हुन्छ । संकटमा भेटिने संभावनाहरु पहिचान गर्न सकियो भने हामीले हाम्रो गाउँ ठाउँ र देशको कायापलट गर्न सक्छौं । हरेक विध्वंसहरुमा सिर्जना पनि लुकेको हुन्छ । हामी सिर्जनाको लागि ध्वँस त गर्दैनौंं अपितु अचानक आएका ध्वँसहरुभित्र सिर्जनाको खोजी भने गर्छाै र गर्नु पनि पर्छ । हामीले पढेको कुरा र महसुस गरेको कुरा जापानको प्रगति हो । दोश्रो विश्वयुद्धमा ध्यस्त भएको जापान कसरी उठ्यो ? त्यो बेला सबै त्यसरी त उठेनन् । जापानले ध्वंसभित्र सिर्जना देख्यो र मुलुक बनायो ।

यो कोरोना कहरभित्र पनि संभावनाहरु छन् । विदेशमा रहेका नेपालीहरुलाई मुलुक भिर्‍याउने र उनीहरुलाई कृषिमा सहभागी बनाएर कृषि क्रान्ति गर्ने कुरा अहिलेको सबैभन्दा ठूलो संभावना हो । विदेश भन्दा स्वदेश नै सुरक्षित छ भन्ने महसुस गराउने र अवसरहरुको सिर्जना गर्ने हो भने कुनै युवा विदेश भासिन पर्ने आवश्यकता छैन । त्यसैले विदेशमा गएका युवाहरुलाई बोलाउं, युरोप, अमेरिका र जापान लगायतका मुलुकमा गएका नेपालीहरुलाई स्वदेश फर्कन आह्वान गर । उनीहरुसँग रहेका सीपहरु पहिचान गर र सोही अनुसारको काम देऊ । बाँझो बसेका नीजि तथा सरकारी जमीनहरुमा व्यवसायिक कृषि फर्महरु सञ्चालन गर्न आवश्यक वातावरण निर्माण गरौं । स्थानीय सरकारहरुले आफ्नो अधिकांश बजेट युवा लक्षित कृषि कार्यक्रममा योजनावद्ध ढ·ले लगानी गर्न सहजीकरण गरौं ।

संकटमा मुलुकले नागरिकहरुलाई सहयोग गरे मात्रै नागरिकहरुले सरकारको कदर गर्छन् र सरकारका योजनाहरुमा सघाउन्छन् । सरकारका अभियानहरुमा अभियन्ता बन्छन् । ढुंगामाटोसँग खेल्न तयार हुन्छन् र फलाम उचाल्न तयार हुन्छन् । कसैलाई पनि विदेशमा पसिना बगाउने रहर छैन । सबै नेपालीका दुई थोपा पसिना पनि नेपालमै बगोस् । स्वाभिमानका साथ हाम्रा दाजुभाईहरु आफ्नै जन्मभूमिमा रगत पसिना बगाउन पाउन् । कोरोना माहामारीले हामीलाई दिएको कठोर सन्देश यही हो भन्ने मलाई लागेको छ । समयले हामीलाई कहिल्यै पनि पर्खदैन । घर,परिवार, समाज र मुलुकलाई नै कायापलट गर्न सकिने संभावनाहरु सधैंभरी हाम्रो वरिपरी रहन्न । त्यो एक युगमा एक पटक आउंछ । पक्रन सके बस्छ अन्यथा चिप्लिएर जान्छ ।

सीमामा अड्केका र विदेशमा बसेका स्वदेश आउन चाहने नेपालीहरुलाई नेपाल ल्याउने आंट सरकारले देखाउनुपर्छ । बसोबासका लागि उपयुक्त सरकारी जग्गामा अस्थायी पूर्वाधारहरु तयार गरेर स्वदेश ल्याइएका नेपालीहरुलाई क्वारेन्टाइनमा राख्ने हिम्मत सरकारले गर्नुपर्छ । ति दाजुभाईहरुलाई निश्चित अवधिपछि घर–घरमा पठाउन सकिन्छ । यसका लागि राष्ट्रिय योजना आयोगबाटै अन्तरिम योजनाको निर्माण गरिनुपर्छ । प्रवासी नेपालीहरुलाई लगतका साथ स्वदेश ल्याउने, क्वारेन्टाइनमा राख्ने तथा घर–घरमा पठाएर कृषि क्रान्तिमा सहभागी बनाउने । यसका लागि एकीकृत योजना निर्माण हुनुपर्छ । सरकार र सरकारको पार्टीले राजनीतिक आँखा लगाउंदै युवाहरुलाई जहिले पनि विदेशमा पठाएर राजनीतिक मैदान सुरक्षित भएको महसुस गर्ने हो भने के भन्न सकियो र ! विदेश गएका युवाहरु त्यहाँको सिष्टमदेखेर आएका हुन्छन् । परिवर्तनका पक्षधर हुन्छन् । गरिबीका विरोधी हुन्छन् । श्रमका पक्षपाती हुन्छन् । समुन्नतिका लागि उडन्ते गफ होइन, पाखुरा बजार्न पर्छ भन्ने जानेर आएका हुन्छन् ।

जनताको गरिवीमै सत्ता टिकाउन सकिन्छ भनेर सोंच्ने हो भने के भन्न सकियो र ! परिवर्तनको लागि काम होइन कुरा मात्र गरेर जनतालाई भ्रममा पारिरहने ? हामीलाई स्वदेशमा आउन देऊ, अब आफ्नै मातृभूमिमा रगत पसिना बगाउन्छु भन्ने प्रवासी नेपालीहरुलाई सीमामै कुहाउंछौ ? कोरोना माहामारीले ल्याएको मुलुकलाई कायापलट गर्न सक्ने संभावनालाई बुझ्पचाएर बस्यौ भने मुलुकले तिमीहरुलाई क्षमा दिने छैन । मुलुक बनाउने संभावना प्रवासी नेपालीहरुको आगमनभित्र लुकेको छ । सरकार ¤ दाजुभाईलाई आफ्नो घर आउन खोज्दा कोराना संक्रमण बढ्ने खतरा नदेख । सबै नागरिकलाई आफ्नो घर आउन पाउनु मौलिक अधिकार हो । अहिले के मौलिक अधिकार निलम्बन भएको छ ? उनीहरुलाई माथि भनेझैं विशेष खर्च गरेर ब्यवस्थापन गर्न प¥यो । युवाहरु स्वदेश आए भनेर सत्ता खोसिन्छ कि भनेर नडराऊ ।

मुलुकलाई कायापलट गर्ने अवसरलाई उपयोग गर जनता तिम्रै साथमा हुने छन् । तर बाहिरबाट आउनेहरुलाई प्रतिपक्षका मान्छे भनेर परिभाषित गर्ने र त्यस्तै ब्यवहार गर्ने हो भने त कसको के लाग्यो र ! जनता कसैको पेवा हँुंदैन बरु राम्रो काम गर्नेको पक्षपाती हुन्छ । विदेशी भूमिमा नेपालीका आंशु पोख्न बाध्य नबनाऊ सरकार ! बन्धुबान्धवहरुलाई आफ्नो देश आउन देऊ । आफ्ना परिवारसँग रमाउन देऊ । आफ्नो पसिना आफ्नै ठाउँमा खन्याउने वातावरण निर्माण गरिदेऊ । मुलुकलाई समुन्नत बनाउने आधारभूमी तयार गर । होइन भने विदेशमा रहेका सबै नेपालीहरुको आंशुको भार बोक्न तयार बन । त्यो आंशुको भारले भोलि तिमी सत्ताबाट बग्ने छौ र कहिल्यै उठ्न नसक्ने गरी थिचिने छौं ।
(लेखक सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक अभियान्ता समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update