Shittalpati
प्रधानमन्त्री ओलीका राजग्रह माथि शनिश्चर !

जगदीश भट्टराई
अहिले नेकपाको वर्तमान सरकार समक्ष रहेको प्रचण्ड बहुमत पाच्य हुँदैन कि भन्ने चिन्ता बढी रहेको छ । त्यो हुनुमा प्रधानमन्त्री ओली आफै दोषी देखिएका छन् । एकताको शक्तिलाई कम्युनिष्टहरु एक नभएका कारण नै शक्ति सञ्चित हुन नसकेको भन्दै आएका नेकपाका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का पार्टी अध्यक्ष प्रचण्डले राजनैतिक दलहरुमा विभाजन ल्याएर, फुट्डालो राजकरोको शैली अपनाई रहेका ओली र प्रचण्डबीच बाहिरी सतहमा जति सामिप्यता प्रर्दशन भएको देखिन्छ, त्यो केवल छलकपटका लागि मात्रै हो भन्दा अन्यथा नहोला । राजकाजमा छलकपट नै महत्वपूर्ण हुन्छ भन्ने कुरालाई प्राथमिकता दिदै आएको मुलुकको चरित्रलाई यसले पनि चरितार्थ गर्न सहज बनाई दिएको छ ।

प्रधानमन्त्री केपी ओलीले नेकपा भित्रको तेस्रो वरियताका नेता बामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव र सत्ता हस्तान्तरण गर्छु भन्ने आसयलाई उनकै समकक्षीहरु विश्वास गर्न तयार नभएपछि, नेकपा भित्रको खचपच अझै बढेको छ । शनिबार बसेको नेकपा स्थायी समितिको बैठकले पनि खासै निकास दिन नसकेपछि विभाजनका रेखाहरु बलिया हँुदै गएका छन् । त्यस कारण ओली सरकार रहे सम्म उनलाई उनकै पार्टीबाट काम गर्ने वातावरणमा तगारो लागि रहेपछि प्रधानमन्त्री ओलीलाई समयले कम साथ दिएको हो कि भन्ने तरंगहरु अगाडि आएका छन् । कुनै बेला २०४८ सालको आमनिर्वाचन पछि बहुमत सरकारको नेतृत्व गरेका गिरिजाप्रसाद कोईरालालाई जस्तै अहिले आएर ओलीका राजग्रह माथि शनिश्चर मडराई रहेका छन् की भन्ने अनुभूित नेपालको राजनैतिक वृतमा राम्रोसँग चर्चा गर्न थालिएको छ । त्यस कारण पनि प्रधानमन्त्री केपी ओली अहिले कर्तव्य विमुखको अवस्थामा छन्, भन्दा अत्योक्ती नहोला ।

वर्तमान सरकारका लागि कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनले दिन प्रतिदिन थला पारेको छ । भने अर्कोतर्फ अधिकारवादीका आवाज नै थुन्ने गरी भएका व्यवहारले गर्दा अधिकारवादी र राजनैतिक दलका नेताहरु प्रति ओलीले देखाएको अर्कमण्यता र तयारी विनै आएका दुई चिर्चित अध्यादेशले अन्र्तपार्टी र प्रतिपक्ष समेतका नजरमा मात्रै होईन, सरकारका प्रमुख ओली अहिले आफ्ना निकटका सहकर्मी र आफ्नै समकक्षीबाट दूरी बढाउँदै गएका छन् । जुन दुरी सरकारको आयु छोट्याउँने काममा सहयोगी बन्ने प्रायः निश्चित जस्तै छ । प्रचण्ड, बहुमत अनि आफ्ना सारथी पनि पनि प्रचण्डनै भएको अवस्थामा पनि राजनैतिक समदूरी निर्वाह गर्न असमर्थ ओली आफैले निर्माण गरेको खाँडलमा आफै नराम्रोसँग फसेको अनुभूति भएको छ । नेकपाभित्र ओली प्रतिको वैमनुष्यता बढेको कुरा छताछुल्छ जस्तै भएको छ ।

प्रचण्डको चक्रव्यूहमा घेरिएका ओलीलाई माधव, झलनाथ र वामदेवको निशानाले सरकार नछोड्ने उनको भीष्म प्रतिज्ञा पनि बीचमै तोडिने संकेत देखिएको छ । गत दुई साता पहिला राष्ट्रपति समक्ष पेश भएका दुवै विवादास्पद अध्यादेश तिलस्मी शैलीमा पारित भएको भए पनि प्रतिकारको गुरुत्वकार्षणको चपेटामा पर्ना साथ केपी ओली आफु आफैमा राजनैतिक अस्थिरताको भूँमरीमा कहराई रहेकाछन् । पछिल्लो चरणमा आएर ओलीले प्रधानमन्त्रीको कुर्सीमा चर्तुराजनैतिक खेलाडी पुष्पकमल दहाल, प्रचण्डको सिखण्डी रुपलाई ओलीका उखान टुक्काले नियन्त्रण गर्न सक्ने देखिदैन । त्यसैले होला प्रधानमन्त्री ओली अहिले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाको सामिप्यतालाई आफ्नो कवचको रुपमा प्रयोग गर्ने अवसर खोजी रहेका छन् । देउवालाई प्रयोग गरेर आफ्नो शक्तिमा कुनै कमी नआएको देखाई रहेका प्रधानमन्त्री ओली, आफ्ना असक्षम सारथी पूर्वसञ्चारमन्त्री वास्कोटासँगै वैतरणी जाने सम्भावना पनि त्यतिकै प्रवल हुदै गएको छ । गोकुल बास्कोटा भने आफ्ना सबै खाले कुकृत्यलाई राज्यसत्ताको सहाराले पार लगाउन सकिन्छ कि भन्ने मनसायका साथ ओलीलाई खोली तराउने प्रयत्नमा अझै पनि वेग्रताका साथ लागि परेका छन् ।

पार्टी एकीकरणपछि, प्रचण्ड र ओली दुवै अध्यक्ष भएको नेकपा भित्रका अर्का दुई शक्ति नेपाल र खनालले पर्ख र हेरको अवस्थालाई नजिकबाट चियाँई रहे पनि नेपालले तेस्रो वरियताका नेता वामदेवलाई कुनै न कुनै रुपमा सिंगारी रहेका छन् । यी सबै कुरालाई नजिकबाट नियाली रहेको प्रतिपक्षका कतिपय ठूला नेताहरु कथम कदाचित सरकार परिवर्तन भयो भने अवसर पो, पाईन्छ कि भन्ने आसामा बसेको भान हुन थालेको छ । अन्तरपार्टी विवाद नेकपामा मात्रै होइन, नेकाँभित्र पनि त्यतिकै जरा गाडेको अवस्था हो, तर सरकारका कारण नेकपा भित्रको लडाईले, केही शक्ति केन्द्रहरुलाई राम्रैसँग खेल्ने मौका मिलेको छ । भारतीय गुप्तचर संस्थाहरु, कोभिड १९ को युद्धसंगै नेपालमा राजनैतिक अस्थिरतालाई मलजल गर्ने दाउँ खोजी राख्नुलाई पनि वर्तमान परिस्थितिमा अन्यथा मान्न सकिदैन ।

भारतीय शासकहरु छिमेकी मुलुक नेपालको लोकतन्त्र भित्रको धार्मिक खुलापनलाई एकाँकी रुपमा हेरिरहेको देखिन्छ, अमेरिका जति सुकै शक्तिशाली भनिए पनि भारतको सोंच माथि प्रक्षेपण शैलीले हस्तक्षेप गर्न सक्ने क्षमता प्रर्दशन गर्ने सोंचमा छैन । त्यसकारण पनि नेपालको भू–राजनैतिक अवस्था आफैमा स्थिर रहिरहन दिने अवस्था कमै छ । चीन दक्षिणसँगको सम्वन्धलाई खासै महत्व दिदैन । पाकिस्तान र वंगलादेश आफैमा आन्तरिक समस्याका कारण पनि बोल्ने हिम्मत राख्दैनन्, त्यसकारण नेपालमा साउथ व्लकको कुटनैतिक कृडाले वडी महत्व पाउने अवस्था रही आएको छ । लोकतन्त्र आफैमा आएको होईन र नै आफै कसैले पनि जादैन्, जसले दिए, उनीहरु आवश्यक परेको वेला फिर्ता माग्ने प्रयत्न गर्न सक्छन् , त्यो गर्ने नगर्ने हामी आफैमा निर्भर गर्छ । जनमत प्रजातन्त्र र लोकतन्त्रको सबै भन्दा शक्तिशाली हतियार हो । तर लोकतन्त्रका अवयवहरु भित्र कही न कही तानाशाह, प्रवृतिले पनि स्थान पाइरहेको हुन्छ, त्यही अवस्था अहिले मुलुक भित्रको हो । जनयुद्व, अनि शसस्त्र लडाईका कतिपय आधारभूत मूल्य मान्यतालाई पनि लोकतन्त्रमा आएका विकृतरुपलाई रोक्न सकिएन भने, इतिहासको एकोहोरोे भजनले मात्रै लोकतन्त्र टिक्दैन ।

भ्रष्टाचारका नाममा हुने व्यवस्था प्रतिको प्रहार, अनि अनावश्यक राजनैतिक घोंचपेंच बीचको अप्रजातान्त्रिक सम्वन्धको कडीलाई बलियो बनाउने कामलाई प्राथमिकता दिईएन भने पनि मुलुक ठूलो दुर्घटनाको शिकार हुनसक्छ । आर्थिक विकास, अनि सूचना प्रविधिको सही प्रयोग हुन नसक्नुलाई लोकतन्त्र भित्रको कमजोरी हो भनेर भन्दै गर्दा राजनैतिक नेतृत्व गर्नेहरुमा देश र जनता प्रतिको लगावलाई वास्तविक धरातलीय अवस्थासम्म नलग्ने हो भने पनि हामी हाम्रा सन्ततिका लागि लोकतान्त्रिक क्षवीयुक्त मुलुक हस्तान्तरण गर्ने सार्मथ्य गुमाई सकेका हुने छौ । त्यसकारण लोकतन्त्र भनेको जनआधार पनि हो, केवल संविधान निर्माण र त्यसको कार्यान्वयनको सुंगा रटाईले मात्र पनि हँुदैन । पद्दति र प्रक्रियालाई लोकतान्त्रिक बनाउन नसक्नु पनि हामी र हाम्रा लागि सबै भन्दा ठूलो समस्या हो ।


जननेता विपी कोईराला र मदन भण्डारी जस्ता शक्तिका विचारक हामी र हाम्रो शैली उनीहरुका मेनिफेस्टोसँग कतै पनि मेल नखाए पनि विपीवाद र जनताको जनवाद भन्दैमा लोकतन्त्रवादी हो भन्ने हुदैन् । लोकतन्त्र भित्रको जनवाद, र समाजवादी चिन्तनले आम जनताका मन र मस्तिष्कलाई छुन सक्नुपर्छ अनि मात्र, हाम्रा विचारहरु परिलक्षित हुदै जान्छन् । सीमा आफैमा भूगोल भए पनि, त्यहाँ राष्ट्रवाद लुकेको छ । वैदेशिक सम्बन्ध र असंलग्न परराष्ट्रनीति राम्रो छ भन्दैमा कार्यान्वयन सही रुपमा नभए सफल हुन सकिदैन । हाम्रा प्राकृति सम्पदाको दोहन गर्ने परिपाटीलाई विज्ञानसँग गाँसेर, प्रयोग गर्दै गर्दा, कति क्षति भयो, त्यसको क्षतिपूर्ति पनि कही कतै भरेकै हुनुपर्छ । त्यस कारण ओली सरकार केवल कार्य सम्पादनमा कमजोरी भएका कारण भन्दा पनि अन्र्तपार्टी समन्वयमा आएको कमी र आफ्ना नजिकको सल्लाहकारहरुको गलत सल्लाहका कारण यस्तो अवस्था आएको हो भन्दा अन्यथा नहोला ।
(लेखक नवजनचेतना दैनिक र शित्तलपाटी डटकमका सम्पादक समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update