Shittalpati
माताको सधैँ सम्मान गरौं

जन्मदिने माताप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन मनाइएको छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंशीका दिन मनाइने गरिन्छ । यस वर्ष पनि बिहीबार मातातिर्थ औंशीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरी मनाइएको छ ।

दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको छ । मातातिर्थ औंशीका दिन श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मनपर्ने खानेकुरा तथा उपहार दिई छोराछोरीहरूले आमाबाट शुभ आर्शिवाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई मातातीर्थ औंसी भन्ने गरिन्छ । आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरू मार्फत सम्झने गर्छन् भने आमा नभएकाहरूले पनि आमाको आत्माको शान्तिको कामना गर्दै श्राद्ध–तर्पण गरी मातृत्वको स्मरण गर्छन् ।

यसवर्ष विश्वभर फैलिएको कोरोना महामारीका कारण अधिकांश सन्तानहरुले आफ्नो जन्म दिने आमालाई भेट्न पाएनन् । आमासँग भेट नहुनेहरुले सामाजिक सञ्जालमा सम्झिए । यसलाई सकारात्मक रुपमा लिए पनि वर्षको एक पटक मात्र आमालाई सामाजिक सञ्जालका भित्ताहरूमा मात्रै सजाएर आमा सम्झिने प्रवृत्तिको विकासलाई भने सकारात्मक मान्न सकिदैन । हिजोआज बढ्दो पश्चिमीकरण र तिनका मूल्य–मान्यता अँगाल्ने होडमा धेरै आमाहरू अवहेलनामा परिरहेका छन् । आफू सक्षम नबनुञ्जेल काखमा लुटपुटिने र सक्षम बनिसकेपछि तिनै आमालाई साहारा विहीन बनाउने सन्तानहरू अहिले बढिरहेका छन् । यो अत्यन्त दुःखको कुरा हो । हाम्रै समाजमा पनि आमाहरू छोराबुहारीको दुव्र्यवहार सहेर बसिरहेका देखिन्छन् । छोराबुहारी आरामदायी सवारीमा हुइँकिरहँदा सडकका पेटीमा आँशु बगाउँदै बसेका आमाहरू हामीले देखेका छौँ । यस्तो अवस्थामा सन्तानहरूले आफ्नो दायित्व सम्झन जरुरी छ । सन्तान आफ्नो दायित्वबाट विमुख हुनु भनेको मानव हुनुको औचित्य गुमाउनु हो । आमाको माया र दूधको भारप्रति हामी वफादार र इमान्दार हुनु पर्दछ । तसर्थ सबैलाई कर्तव्य र जिम्मेवारीको ज्ञान हुन सकोस्, एकदिन मात्र होइन हरेक दिन आमाबाबुको मुख हेर्ने दिन मनाउन सकियोस् ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update