Shittalpati
सिमसार दिवसको सन्दर्भ

प्राकृतिक तथा कृत्रिम रूपमा पानी जमेर वा बगेर, अस्थायी वा स्थायी रुपमा बनेको दलदल क्षेत्रलाई ‘सिमसार’ भनिन्छ । सिमसारमा पानी नसुक्ने र जमिन नलुक्ने क्षेत्रलाई लिने गरिन्छ । तर अहिले यो क्षेत्र संकटमा पर्न थालेको छ । सिमसार क्षेत्रलाई विश्वव्यापी रूपमा संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष फ्रेब्रुअरी २ का दिन विश्व सिमसार दिवस मनाइने गरिन्छ ।

हरेक वर्ष जस्तै आज पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सिमसार महासन्धि २ फेबु्रअरी १९७१ मा इरानको रामसार भन्ने शहरमा भएको थियो । सन्धि भएको दिनको सम्झनास्वरुप सन् १९८५ फ्रेब्रुअरी २ देखि विश्व सिमसार दिवस मनाउन थालिए पनि नेपालमा भने १९९१ देखि मनाउन थालिएको हो । यो दिवस मनाउन थालेको पनि यतिका वर्ष भयो तर सिमसार क्षेत्रको जुन किसिमले संरक्षण र प्रवद्र्धन हुनुपर्ने हो त्यसो हुन सकिरहेको छैन । यो अत्यन्त दुखको कुरा हो । खासगरी ताल, तलैया, नदीकिनार, दह, दलदले जमिन, सिम, जरुवा, नुनिलो तथा क्षारयुक्त पानी रहने ६ मिटरभन्दा कम गहिराइका भू–भाग नै सिमसार हुन् । जैविक विविधताले भरिपूर्ण सिमसारलाई जलचरको प्रमुख वासस्थानका रूपमा लिइन्छ । शुद्ध जलसहितको पारिस्थितिक प्रणाली सञ्चालनका लागि मात्र नभएर संस्कृति, परम्परा, पर्यटन, अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा सिमसार क्षेत्रको महत्व रहेको छ । यद्यपि विश्वका हरेक क्षेत्रबाट असीमित रूपमा सिमसार क्षेत्र घटिरहेका छन् । यसतर्फ खासै कसैको पनि ध्यान जान सकिरहेको छैन ।

जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्छ । सिमसार संरक्षण तथा पर्यापर्यटन विकासमा सिमसारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकन लगायतका प्राकृतिक सौन्दर्यको अनुभव सिमसारले नै गराउँछ । सिमसारमा आश्रित समुदायको गरिबी निवारणमा पनि पर्यटन विकासले ठूलो भूमिका खेलेको हुन्छ । भविष्यको स्वच्छ तथा सन्तुलित पर्यावरणको लागि पनि सिमसारको संरक्षण आज प्राथमिकताको विषय बनेको छ । तर, नेपालका सिमसार क्षेत्रहरु दिनानुदिन नासिँदै गएको विडम्बनापूर्ण अवस्था छ । मुलुकभर रहेका सिमसार क्षेत्रहरुको पूर्ण विवरण संकलन गरी प्राथमिकता र सम्भाव्यता अनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगका लागि सम्बन्धित सबै निकाय सक्रिय हुनु अत्यावश्यक छ । सिमसार क्षेत्रको व्यापक महत्व र उपयोगितालाई आत्मसात गर्दै यसको संरक्षण र संवद्र्धनमा यथोचित ध्यान दिन सकियो भने मात्र सिमसार दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update