Shittalpati
पाल्पासहित लुम्बिनी प्रदेशमा चिसो बढ्यो

पाल्पा, पछिल्लो केही दिन यता पाल्पासहित लुम्बिनी प्रदेशका अधिकांस जिल्लाहरुमा चिसो बढेको छ । मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको हो । पाल्पा, गुल्मी, रुपन्देही कपिलवस्तुसहितका अधिकांश जिल्लामा चिसो बढेको महसुुस गरिएको छ ।

विशेष गरी रुपन्देही र कपिलवस्तुमा दुई दिनदेखि शीतलहर तथा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरले चिसो बढेपछि यी जिल्लाका अधिकांश चोक चौराहमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको बताइएको छ । खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबैभन्दा बढी प्रभावित भएको चिकित्सकहरू बताउँछन् । उनीहरूमा चिसोका कारण हुने बिरामी देखिएको छ ।

चिसोका कारण स्थानीय अस्पतालमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्ने जस्ता रोगका बिरामी अस्पतालमा बढेको सम्बन्धित अस्पतालहरु बताउँछन् । चिसोबाट बच्नका लागि ठाउँ ठाउँमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ । चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ भने विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिन थालेको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update