Shittalpati
निर्वाचनको दिन अत्यावश्यक सवारीसाधनले अनुमति लिनु नपर्ने

पाल्पा, निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावको दिन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने प्रष्ट पारेको छ । आयोगले एक सूचना सार्वजनिक गर्दै अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने जनाएको हो । आयोगले सवारी आवागमनलाई सहज बनाउन यस्तो निर्णय गरेको सूचना मार्फत जानकारी गराएको छ । अनुमति दिएका सवारी साधनले मतदाता ओसारपसार गर्न भने नपाउने आयोगले प्रष्ट पारेको छ ।
आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन,अस्पतालमा कार्यरत परिचयपत्र बोकेको चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनु नपर्ने बताएको छ । यस्तै सूचना तथा प्रशारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारीसाधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधनका लागि पास लिनु नपर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताको सवारी साधनका लागि पनि अनुमति लिनुु पर्दैन ।
आयोगका अनुसार फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेटका सवारीसाधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन, कुटनीतिक नियोग, युएन एजेन्सी, दुईपक्षीय, बहुपक्षीय साझेदार संस्थाहरुमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्ने सवारीसाधनलाई पनि अनुमति आवश्यक छैन । आयोगले अशक्त व्यक्तिहरुको हकमा समेत मतदानलाई सहजीकरण गर्न वडा कार्यालयको सिफारिसमा सम्बन्धित निर्वाचन अधिकृतले अनुमतिपत्र दिने व्यवस्था गरेको जनाएको छ । आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधनलाई अनुमति चाहिँदैन । अन्यको हकमा भने सम्बन्धित निर्वाचन अधिकृतले आवश्यकताको आधारमा अनुमति दिने व्यवस्था गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update