Shittalpati
नयाँ मतदातामा उत्साह, पुरानामा निराशा

रामचन्द्र रायमाझी
पाल्पा, बगनासकाली गाउँपालिका बराङ्दीकी १८ वर्षीया सपना बस्याल मंसिर ४ को निर्वाचनमा पहिलो पटक भोट हाल्दै छिन् । उनमा अन्य मतदातामा भन्दा धेरै उत्साह छ । यस अघिका निर्वाचनमा उनी मतदाता हुन उमेरले योग्य थिइनन् । अरूले मतदान गरेको हेर्न भने नजिकको मतदान केन्द्रमा पुगेकै हुन्थिन् । ‘यसअघिका चुनावमा मत हाल्न उमेर पुगेको थिएन,’ उनले भनिन्, ‘तर भोट हालेको हेर्न मतदान केन्द्रमा गइरहन्थें, रमाइलो लाग्थ्यो, अहिले भने बल्ल भोट हाल्ने भइयो ।’ आफ्नो गाउँ ठाउँको विकास गर्दिने, खानेपानीको सुविधा घर–घर पु¥याइदिनेलाई भोट दिने उनले बताइन् । तानसेनमा बसेर अध्ययन गर्दै आएकी रैनादेवी छहराकी १९ वर्षीया अनिता रायमाझीले पनि पहिलो पटक मतदानको मौका पाउँदा खुसी लागेको बताइन् । उनले गाउँमा पिछडिएर रहेका समुदाय, वर्गको विकासमा लागिपर्ने उम्मेदवारलाई आफ्नो पहिलो मत खसाल्न आतुर रहेको सुनाइन् । रायमाझीले मत कसरी खसाल्ने भनेर अलि–अलि मनमा डर भने लागिरहेको सुनाइन् । उनले भनिन् ‘अहिले त चार वटा मत पत्रमा मत खसाल्नुपर्छ रे, कतै अलमलमा परिने पो हो की ? अहिलेसम्म कसैले पनि यसरी हाल्नुपर्छ भनेर सिकाउन आएका छैन् ।’ आफु पढेलेखेको भएकाले त्यहाँ उल्लेख गरे अनुसार मत खसाल्न भने आतुुर रहेको रायमाझीले बताइन् ।

गुल्मी इस्मा गाउँपालिका हस्तिचौरकी कल्पना जिसीले पनि पहिलो पटक मतदान गर्दैछिन् । यस अघि उमेर पुगे पनि मतदाता परिचय पत्र नबनेकाले मत हाल्नबाट बञ्चित भएकी जिसी मंसिर ४ को निर्वाचनमा भने आफूले चाहेको उम्मेदवारलाई भोट हाल्न आतुर भएको बताईन् । उनले ढुक्कसँग मत हाल्न सक्ने बताइन् । ‘पहिले –पहिले निर्वाचनको कुनै महत्व लाग्दैनथ्यो, तर अहिले निर्वाचनको महत्व महशुस भएको छ । साथीहरुले निर्वाचनको महत्व बताइदिएपछि अहिले मतदान गर्न रहर जाग्यो’ उनले भनिन् ‘अहिले त भोट हाल्ने दिन कहिले आउला भन्ने जस्तो भइसक्यो ।’ पहिले उनको बुझाइमा भोट नेताहरुका लागि मात्र हो भन्ने थियो । तर अहिले उनको त्यो पुरानो मानसिकता तोडिएको छ । ‘नेताहरुले चुनावमा जिताएर पठाएपछि नेतृत्व तहमा पुग्ने र गाउँको विकास र समृद्धि ल्याउने विश्वास दिलाएका छन्,’ उनले भनिन्, ‘गाउँको समृद्धि हुन्छ भने भोट किन न हाल्ने भनेर यसपाली सहभागी हुन थालेकी हुँ ।’ ‘पहिलोपटक मतदान गर्दैछु,’ गुल्मीका भुवन पाण्डेले भने, ‘पहिलोपटक चुनावमा भोट हाल्न पाउने भएकाले पनि पहिलो अनुभव संगाल्न हतार भएको छ ।’ उनीहरु जस्तै पाँच वर्षपछि आएको निर्वाचनमा पहिलो पटक भोट हाल्ने मतदातामा उत्साह छाएको छ । सानो छँदा अभिभावकहरूले लाइनमा बसेर भोट हालेको हेरेका अहिलेका नयाँ मतदातामा एकपल्ट भोट दिइसकेकाहरूमा भन्दा निकै उत्साह देखिएको छ । विकासको अपेक्षासँगै मतदानको नयाँ अनुभव लिने ठूलो अवसरका रुपमा नयाँ मतदाताले लिएका छन् । नयाँमा उत्साह देखिए पनि पुराना मतदातामा भने उत्साह छैन । पटक –पटकका निर्वाचनमा भोट हालेर जिताएर पठाए पनि नेताहरुले जनअपेक्षा अनुसार काम नगरेपछि पुराना मतदाता भने निराशमा छन् ।

तानसेन भगवती टोलका देवेन्द्रबहादुर रायमाझीसँग निर्वाचनमा भोट हालेको लामो अनुभव छ । ०७४ सालको निर्वाचनमा भोट हाल्दा जुन उत्साह थियो, यसपटकको निर्वाचनमा भने नभएको उनले बताए । हरेक निर्वाचनमा दलहरूले आश्वासन दिने तर काम नगर्ने परिपाटीले अहिले भोट हाल्न उत्साह नभएको रायमाझीको भनाई छ । ‘जनताका समस्याप्रति जनप्रतिनिधिले चासै दिंदैनन्, सिंहदरबारको अधिकार गाउँमा आयो भन्नुमात्रै हो,’ उनले भने ‘हरेक पटक जनतालाई झुक्याउने काममात्रै भयो ।’

गुल्मी तम्घासकी गोमा खत्रीलाई पनि पछिल्लो पटक निर्वाचन वाक्कै लाग्न थालेको बताइन् । उनले भनिन् ‘नेताहरुलाई जिताएर पठाए पनि कुर्चीका लागि एक आपसमा लड्ने बाहेक अरु केही पनि भएनन् । चुनावका बेला यसो गर्छाैंं, उसो गर्छौ भन्ने, जितेर गएपछि भने फर्किएर पनि हेर्दैनन् । यीनीहरुलाई भोट दिएर के हुन्छ ?’ रायमाझी र खत्री मात्र होइन, पुराना पुस्ताका मतदाताहरुमा अहिले उत्साह नै छैनन् । पाँच वर्ष अघिको निर्वाचनमा हरेक दर र उम्मेदवारहरुले समृद्ध बनाउने नारा लगाए । घर–घरमा रोजगारी, खानेपानी, एक गाउँ एक उत्पादनजस्ता नारा आए । तर, पाँच वर्षमा ती वाचा पूरा नहुँदा जनतामा निराशा छाएको हो । अहिले पनि दलहरू तिनै नारा र आश्वासन लिएर गाउँ पसेका छन् । आफूले जिते गाउँ र नगर समृद्ध हुने उनीहरूका दाबी अहिले पनि दोहोरिएका छन् । निर्वाचनका समयमा दलहरूले बाँड्ने आश्वासनमा विश्वासै लाग्न छाडेको मतदाता बताउँछन् । पाल्पामा १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष गरी २ लाख १ हजार ३ सय २६ मतदाताले निर्वाचनमा भाग लिदैछन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update