Shittalpati
ओडारमा बस्दै आएको जुनाको परिवारलाई घर

गुल्मी, घर–सम्पति नभएर ओडारमा बस्दै आएका बागलुङको बडिगाड गाउँपालिका– ६ का एक दमाई परिवारलाई घर बनाई दिइएको छ । वर्षौदेखि खाल नजिकैको ओडारमा कष्टकर जीवन बिताउदै आएका जुना दमाईको परिवारलाई समाजसेवी लिलबहादुर थापाले घर बनाइदिएका हुन् ।
नेपालगञ्जका थापाले केही समय अघि उक्त परिवारलाई बडिगाड गाउँपालिका– ५ टारीमा जग्गा खरिद गरी लाल पुर्जा दिएका थिए । जुनाको परिवारलाई ओडारबाट लिएर केही समय भाडामा कोठा लिएर राखेका थापाले आफैले खरिद गरिदिएको जग्गामा अहिले घर बनाइदिएका हुुन् । आफ्नै खर्चमा निर्माण गरिदिएको उक्त घर एक औपचारिक कार्यक्रमका बिच दमाई परिवारलाई हस्तान्तरण गरिएको छ । स्थानीय जनप्रतिनिधि, पत्रकारहरुको उपस्थितीमा निर्माणधिन घर हस्तान्तरण गरिएको हो । घर पाएपछि जुनाले आफ्नो जीवनमा भगवानको रुप लिएर समाजसेवी थापा आएको भन्दै भावुक बनिन् । उनले आफु कहिल्यै पनि ओडारबाट फेरी घरसम्म जान पाईएला भनेर कल्पना समेत नगरेको भन्दै भगवान रुपी थापालाई धन्यवाद दिइन् । उनका श्रीमान वृद्धा चाउरे दमाईले घर पाएपछि गहभरी आँसु झादै आफूहरुको लागि साँच्चै नै जिउँदो भगवान बनेर थापा आइदिएको बताए । उनको ४ जनाको परिवार अहिले नयाँ घरमा बसेको छ । घर हस्तान्तरण गर्न पुुगेका बडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले सरकारले गर्नु पर्ने काम समाजसेवी थापाले एक्लैले गरेको भन्दै उनलाई धन्यवाद दिइन् । पालिका अध्यक्ष अधिकारीले थापाले गरेको सहयोग अनुकरणीय र प्रसंशनिय रहेको बताइन् । गाउँपालिका उपाध्यक्ष भिमसेन वनले बागलुङको ग्रामीण क्षेत्रमा गरिब परिवारलाई घर निर्माण गरिदिएर लाखौँ पूण्य काम गरिदिएको बताए ।

आफुलाई सुन्दा चलचित्रको कथा जस्तै लागेको भन्दै उनले सरकारले थापा जस्ता व्यक्तिहरुलाई सम्मान गर्न सक्नुपर्ने समेत बताए । गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले दानवीर लिल बहादुर थापा जस्ता व्यक्तिहरु अझै प्रत्येक ठाउँमा हुन सकेमा कोही पनि दुखी गरिब भएर बस्नुनपर्ने बताए । ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले आफ्नै वडाका नागरिकहरुले घर पाउँदा आफुलाई पनि खुसी लागेको बताए । वडाध्यक्ष आचार्यले सोही अवसरमा जुना दमाईका छोरा छोरीलाई भानु माध्यमिक विद्यालयमा अध्ययन गर्न आवश्यक खर्चको सम्पूर्ण जिम्मेवारी लिने समेत बताए ।

पूर्व वडाध्यक्ष अर्जुन प्रसाद खरेलले धन आर्जन र धनी व्यक्तिहरु यो देशमा भए पनि थापा जस्ता दानवीर व्यक्तिहरु कमै हुने गरेको बताए । घरको आर्थिक अवस्था निकै कमजोर भएका दमाई परिवारको जिटिभी नेपालमार्फत सञ्चालित संघर्षका कथा मार्फत प्रशारण भएको भिडियो सामाग्री हेरेर समाजसेवी थापाले घर निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गरेका थिए । जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले जिटिभि नेपालले उठाएको विषयलाई हेरेर घरबारविहीन परिवारको घर बनाइदिएकोमा समाजसेवी थापालाई धन्यवाद दिए । एकाइसौ शताब्दीमा समेत ओडारमा बस्नु परेको अवस्था दुःखद् रहेकाले आफुले घर बनाउन सहयोग गरेको घर निर्माण गरिदिएका समाजसेवी थापाले बताए । –कौरव खत्रीको सहयोगमा

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update