Shittalpati
अधुरा योजना पुरा गर्दै महिलालाई स्वरोजगार बनाउँछौं : राना

पाल्पा, प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले अधुरा योजना पुरा गर्दै महिलालाई स्वरोजगार बनाउने बताएका छन् । सोमबार तानसेन नगरपालिका ५ का विभिन्न टोल र बगनासकालीमा भएको महिला भेलालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा सुरु गरेका अधुरा योजनाहरु सम्पन्न गर्ने र महिलाहरुलाई स्वरोजगार बनाउने दिशामा लाग्ने बताएका हुन् ।

उनले आफुु प्रदेश सांसद् र मन्त्रि भइसकेपछि यहाँका सिचाई, कृषि, विद्युत, खानेपानी लगायतका क्षेत्रमा थुप्रै काम गरिसकेको र केही क्षेत्रमा योजनाहरु सञ्चालनमै रहेकाले ति योजनाहरु पुरा गर्ने गरी आफु पुनः प्रदेश सदस्यमा उम्मेदवारी दिएको बताए । मन्त्री रानाले महिलाईहरुलाई सीप प्रदान गरी स्वरोजगार बनाउने काममा आफ्नो ध्यान केन्द्रीत हुने समेत बताए । उनले अहिले पनि धेरै महिलाहरु श्रीमानकै भर पर्नु पर्ने अवस्था रहेकाले त्यसको अन्त्यका लागि आफुले विशेष योजना बनाएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले अहिले गठबन्धनसित जनताले ठूलो आशा र भरोसा राखेकाले पनि गठबन्धनका उम्मेदवारले जित्नै पर्ने बताए । ‘नेपालको सामाजिक, आर्थिक शैक्षिक सबै क्षेत्रमा आमुल परिवर्तन गरी नेपाललाई विकसित मुलुकको रुपमा रुपन्तरण गर्नु परेको छ,’ उनले भने, ‘यसैका लागि गठबन्धन गर्नु परेको हो । मुलुकलाई विकसित र समृद्ध बनाउन यो गठबन्धनले संकल्प गरेको छ ।’ उनले व्यक्तिगत स्वार्थका लागि जनतालाई दिग्भ्रमित नपार्न एमालेलाई चेतावनी समेत दिए । उनले पाल्पाको विकासमा आफूले जनताको हरेक सुख, दुखमा साथ दिएका कारण पनि यसपाली संक्रमणकालिन अवस्थामा आफूले जित्नै पर्ने बताए । उनले विपक्षी नेताहरुसँग कुनै एजेन्डा नभएपछि जनतालाई दिग्भ्रमित गर्ने खालको काम गर्ने गरेकाले त्यस्ता भ्रममा नपर्न सबै मतदताहरुलाई आग्रह समेत गरे । 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update