Shittalpati
पाइला श्रीनगरतिर, सिकाइ जीवनतिर

पाल्पा, बिहानीको उत्साह, काँधमा झोला, आँखामा गन्तव्यको उत्सुकता । अनि समूहमा एकअर्कालाई हौसला दिँदै अघि बढिरहेका विद्यार्थीका पाइला । यो कुनै सामान्य घुमफिरको यात्रा थिएन । यो थियो—सिक्दै, रमाउँदै र चुनौतीसँग जुध्दै अघि बढ्ने यात्रा ।

पाल्पा प्यारागन इङ्लिस बोर्डिङ स्कुलको स्काउट ट्रुपका विद्यार्थीहरू श्रीनगरडाँडातर्फ उकालो लाग्दा उनीहरूको यात्रामा उत्साहसँगै जिम्मेवारी पनि थियो । प्रकृतिको सुन्दरता नियाल्दै अघि बढेका विद्यार्थीहरूले बाटोमा आउने कठिनाइलाई सामूहिक प्रयासबाट पार गर्दै हाइकिङ पूरा गरेका छन् । विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास, सहकार्य र प्रकृतिप्रतिको प्रेम विकास गर्ने उद्देश्यले विद्यालयको स्काउट ट्रुपले हाइकिङ कार्यक्रम आयोजना गरेको हो । हाइकिङमा सहभागी विद्यार्थीहरूले श्रीनगर डाँडाको मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्दै रमाइलोसँगै व्यवहारिक सिकाइसमेत हासिल गरेका थिए । उकालो तथा केही कठिन बाटोमा यात्रा गर्दा विद्यार्थीहरूले एकअर्कालाई साथ र सहयोग गर्दै अघि बढेका थिए । 

कसैलाई अप्ठ्यारो पर्दा हात थाम्ने, समूहका सबै सदस्यलाई सँगै अघि बढाउने र निर्धारित गन्तव्यसम्म सामूहिक रूपमा पुग्ने अभ्यासले विद्यार्थीहरूमा सहयोग, भाइचारा, धैर्यता र जिम्मेवारीबोध थप बलियो बनाएको थियो । स्काउट गतिविधिको मूल मर्मअनुसार हाइकिङका क्रममा विद्यार्थीहरूले अनुशासन र नेतृत्वलाई व्यवहारमै उतारेका थिए । समूहमा विभाजित भएर यात्रा गर्दा उनीहरूले नेतृत्व गर्ने, साथीहरूको हेरचाह गर्ने तथा चुनौतीपूर्ण परिस्थितिमा संयमित भएर निर्णय लिने अभ्याससमेत गरेका थिए । हाइकिङ केवल गन्तव्यमा पुग्ने यात्रा मात्र नभई विद्यार्थीका लागि प्रकृतिबाट सिक्ने अवसरसमेत बनेको स्कुलका प्रिन्सिपल गंगा बहादुर खत्रीले बताए ।  कसैलाई अप्ठ्यारो पर्दा अर्को साथीको साथ, थाकेकालाई हौसला र पछाडी परेकालाई पर्खिंदै अघि बढ्ने संस्कारले हाइकिङलाई अझ अर्थपूर्ण बनाएको उनको भनाई छ ।

प्रिन्सिपल खत्रीले भने “यस यात्राले विद्यार्थीलाई एउटा महत्वपूर्ण पाठ सिकायो—गन्तव्यमा एक्लै पुग्नु ठूलो कुरा होइन, सबैलाई साथ लिएर गन्तव्यसम्म पुग्नु अझ ठूलो उपलब्धि हो ।” श्रीनगरडाँडाको प्राकृतिक सौन्दर्य नियाल्दै विद्यार्थीहरूले वातावरण संरक्षणको महत्वबारे समेत जानकारी हासिल गरेका थिए । प्राकृतिक क्षेत्रमा फोहोर नगर्ने, वातावरण स्वच्छ राख्ने र प्राकृतिक सम्पदाको संरक्षण गर्ने विषयमा उनीहरूलाई सचेत गराइएको प्रिन्सिपल खत्रीले बताए । प्राकृतिक क्षेत्रमा फोहोर नगर्ने, वातावरण स्वच्छ राख्ने र प्राकृतिक सम्पदाको संरक्षण गर्ने प्रतिबद्धता विद्यार्थीले गरेका छन् ।

स्काउट केवल पोसाक र अनुशासनमा सीमित गतिविधि होइन । यसले विद्यार्थीलाई व्यवहारिक जीवनका लागि तयार पार्ने अवसर पनि दिन्छ भन्ने सन्देश व्यवहारमा उतार्नका लागि पनि हाइकिङ महत्वपूर्ण बन्ने प्रिन्सिपल खत्रीले विश्वास व्यक्त गरे । विद्यालयका स्काउट शिक्षक रामप्रसाद तिमिल्सिना, ढाकामाया राना र धनी रानाको संयोजनमा कार्यक्रम सञ्चालन भएको थियो । शिक्षकहरूको मार्गदर्शनमा विद्यार्थीहरूले अनुशासित र व्यवस्थित रूपमा हाइकिङमा सहभागिता जनाएका थिए । हाइकिङले विद्यार्थीलाई कक्षाकोठाभित्रको सैद्धान्तिक ज्ञानभन्दा बाहिर गएर अनुभवबाट सिक्ने अवसर प्रदान गरेको स्काउट शिक्षक रामप्रसाद तिमिल्सिनाले बताए । शारीरिक सक्रियता, आत्मअनुशासन, नेतृत्व, सहकार्य, आत्मविश्वास र प्रकृतिप्रतिको सम्मान विकासमा यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update