विशाल दर्लामी
‘माओवादी अपहरण’ चक्रब्यूह थापाद्वारा लिखित आफ्नो जीवनमा घटेको अत्यन्त कठिन र पीडादायी घटनालाई केन्द्रमा राखेर लेखिएको आत्मकथा हो । पुस्तक केवल एउटा व्यक्तिको अपहरण र यातनाको कथा मात्र होइन, यो नेपालको सशस्त्र द्वन्द्वकालीन इतिहासको एउटा प्रतिनिधिमूलक अनुभव, मानवीय पीडाको दस्तावेज र समयसँगै मानिसको राजनीतिक तथा वैचारिक यात्रामा आउन सक्ने परिवर्तनको रोचक उदाहरण समेत हो ।
लेखकका अनुसार, २०६२ साल वैशाख ३१ गते पाल्पाको दोभानबाट माओवादीद्वारा अपहरणमा परेका चक्रब्यूह थापा करिब एक महिनापछि २०६२ जेठ २७ गते मुक्त भएका थिए । त्यस अवधिमा उनले भोगेको शारीरिक तथा मानसिक यातना, कुटपिट, दुव्र्यवहार, श्रम शिविरमा गराइएको काम र दैनिक जीवनका कठिनाइलाई पुस्तकमा दिनैपिच्छेको डायरीका रूपमा प्रस्तुत गरिएको छ । पुस्तकको एउटा महत्वपूर्ण विशेषता यसको दैनिकी शैली हो । घटनालाई वर्षौँपछि सम्झेर सामान्य रूपमा वर्णन गर्नुको सट्टा प्रत्येक दिनका घटनाक्रमलाई क्रमशः प्रस्तुत गरिएकाले पाठकले लेखकसँगै त्यो कठिन यात्रा गरिरहेको अनुभूति गर्न सक्छन् । एक दिनको पीडा सकिएपछि अर्को दिन के हुने हो भन्ने अनिश्चितता, डर, शारीरिक थकान र मानसिक तनावलाई डायरीले अझ जीवन्त बनाएको छ ।

यस पुस्तकको सबैभन्दा गम्भीर पक्ष भनेको हिंसा र मानव अधिकारको प्रश्न हो । सशस्त्र द्वन्द्वको समयमा राजनीतिक उद्देश्य प्राप्तिका लागि व्यक्तिको स्वतन्त्रता हरण गर्ने, अपहरण गर्ने, शारीरिक तथा मानसिक यातना दिने र जबर्जस्ती श्रम गराउने जस्ता कार्यले नागरिक अधिकारमाथि कस्तो असर पारे भन्ने विषय पुस्तकले व्यक्तिगत अनुभवमार्फत उठाएको छ । यस अर्थमा पुस्तक एउटा व्यक्तिको आत्मकथा मात्र नभई द्वन्द्वकालीन समाजको एउटा पीडादायी ऐना बन्न पुगेको छ । तर ‘माओवादी अपहरण’को चर्चा यतिमै सीमित हुँदैन । पुस्तकको सबैभन्दा रोचक र गम्भीर प्रश्न यहीँबाट सुरु हुन्छ—जसले माओवादीबाट अपहरण, यातना र कष्ट भोगे, उनी पछि स्वयं माओवादी आन्दोलनमै कसरी समाहित भए ? यो विरोधाभास नै पुस्तकलाई सामान्य पीडाको संस्मरणभन्दा फरक बनाउने महत्वपूर्ण पक्ष हो । लेखकको जीवनमा घटेको यो परिवर्तनले मानिसको राजनीतिक चेतना, समयको प्रभाव, वैचारिक रूपान्तरण र राजनीतिक यात्राका जटिलतालाई बुझ्न पाठकलाई बाध्य बनाउँछ । आज चक्रब्यूह थापा त्यही राजनीतिक शक्तिसँग आबद्ध भएर माओवादी केन्द्र,नेकपा हुँदै अहिले नेपाली कम्युनिस्ट पाल्पाको–इन्चार्जको जिम्मेवारीमा रहेको तथ्यलाई समेत सन्दर्भमा राख्दा पुस्तक अझ गम्भीर प्रश्नतर्फ उन्मुख हुन्छ । यसले पाठकसामु एउटा स्वाभाविक प्रश्न खडा गर्छ—हिजो आफैंले भोगेको हिंसा र यातनाको अनुभवले मानिसलाई त्यही आन्दोलनबाट टाढा लैजानुपर्ने हो कि त्यसै आन्दोलनको राजनीतिक उद्देश्य र परिस्थितिलाई नयाँ ढंगले बुझ्न पनि प्रेरित गर्न सक्छ ?
यही कारणले यो पुस्तक केवल ‘पीडितको कथा’ भनेर पढेर समाप्त गर्न मिल्दैन; लेखकको त्यसपछिको राजनीतिक यात्रालाई समेत जोडेर पढ्नुपर्ने हुन्छ । त्यसैले यो पुस्तकको मूल्याड्ढन गर्दा घटनालाई मात्र होइन, घटनापछिको लेखकको वैचारिक यात्रालाई पनि सँगसँगै हेर्नुपर्छ । द्वन्द्वकालीन नेपाललाई बुझ्न चाहने पाठकका लागि यसमा एउटा महत्वपूर्ण मानवीय पक्ष छ—राजनीतिक आन्दोलनमा सहभागी हुने मानिसहरू पनि एउटै समय र घटनालाई फरक–फरक ढंगले अनुभूति गर्न सक्छन् र जीवनका अनुभवले उनीहरूको राजनीतिक दृष्टिकोण परिवर्तन गर्न सक्छ । समग्रमा ‘माओवादी अपहरण’ पीडा, भय, यातना, संघर्ष र मानसिक दबाबको कथा हुँदै मानिसको राजनीतिक रूपान्तरण र जीवनयात्राको कथा बन्न पुगेको छ । यसले नेपालको द्वन्द्वकाललाई एउटा फरक कोणबाट नियाल्ने अवसर दिन्छ । पुस्तक पढ्दा द्वन्द्वको समयमा भएका हिंसात्मक घटनाप्रति गम्भीर प्रश्न उठ्छन्, मानव अधिकारको महत्व अझ प्रस्ट हुन्छ र राजनीतिक यात्राका जटिल पक्षबारे सोच्न बाध्य बनाउँछ । सबैभन्दा महत्वपूर्ण कुरा, लेखकले आफूले भोगेको पीडालाई लुकाएर होइन, लेखेर सार्वजनिक गरेका छन् ।
त्यसैले यो पुस्तकलाई केवल राजनीतिक दृष्टिकोणबाट समर्थन वा विरोध गर्नेभन्दा पनि एउटा व्यक्तिले इतिहासको कठिन कालखण्डमा भोगेको अनुभवका रूपमा पढ्नु उचित हुन्छ । ‘माओवादी अपहरण’ त्यस अर्थमा एउटा व्यक्तिको अपहरणको कथा मात्र होइन; यो द्वन्द्वकालीन नेपालको पीडा, राजनीति, मानव अधिकार र एउटा व्यक्तिको असाधारण वैचारिक यात्रालाई एकै ठाउँमा उभ्याउने आत्मकथात्मक दस्तावेज हो । र सायद पुस्तकले पाठकलाई छोडेर जाने सबैभन्दा ठूलो प्रश्न यही हो—“हिंसाले घाइते बनाएको मानिस त्यही राजनीतिक यात्राको सहयात्री कसरी बन्न पुग्यो ? आगामी दिनमा तपाईका अरु सिर्जनाहरु अध्ययन गर्ने अवसरका लागि आशाचित हुँदै, तपाईंको अध्ययन,लेखन कार्य निरन्तर रहोस् भन्ने शुभेक्षा पनि गर्दछु ।


