तानसेन, नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सत्ताको उन्मादमा एमालेलाई गलत ढंगले चलाउन खोजिए त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् । एमाले पाल्पाको पाँचौँ बैठकलाई तानसेनमा सम्बोधन गर्दै सचिव विश्वकर्माले इगोको राजनीति सफल नहुने बताउँदै सरकारले जनतालाई सेवा दिनेभन्दा विपक्षी दलका नेता तथा कार्यकर्तालाई धम्क्याउने, थर्काउने र अनाहकमा पक्राउ गरेर आतंकित पार्ने काम गरिरहेकाले त्यसको एमालेले प्रतिकार गर्ने बताएका हुन् ।
“कानुनको धज्जी उडाएर सत्ताको उन्माद देखाउनु हुँदैन,”उनले चेतावनी दिए । एमाले राष्ट्रियता र जनताको हितमा काम गर्दै आएकाले विभिन्न घेराबन्दीको सामना गर्नुपरेको दाबी गरे । सचिव विश्वकर्माले वर्तमान रास्वपा नेतृत्वको सरकारले एमालेलाई कमजोर बनाउने उद्देश्यले प्रहार गरिरहेको आरोप लगाउँदै त्यस्तो प्रयास सफल नहुने बताए । “जनअभिमतको एमालेले सम्मान गर्छ,” उनले भने, “वर्तमान सरकारले जनताको हितमा काम गर्छ भने सहयोग गर्छौं, तर जनहितविपरीत काम भए खबरदारी गर्छौं ।” उनले बालेन नेतृत्वको सरकारले कानुनसम्मत ढंगले काम नगरेको तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई असन्तुलित बनाउने गतिविधि गरिरहेको आरोप लगाए । यस्ता गतिविधि नसच्याए त्यसका विरुद्ध आवाज उठाउने उनको भनाइ थियो ।
एमालेका नेता तथा कार्यकर्ता पार्टीको अनुशासन र प्रणालीमा चल्नुपर्नेमा समेत उनले जोड दिए । एमालेमा रहेर ‘फ्री स्टाइल’ मा चल्ने छुट कसैलाई नभएको बताउँदै उनले पार्टीको नीति, विधि र प्रणालीअनुसार अघि बढ्न आग्रह गरे । “कुस्ती खेलमा पनि नियम हुन्छ, एमालेमा पनि आफ्नै नीति र नियम छन्,” उनले भने। विश्वकर्माले आगामी दिनमा पार्टीलाई थप मजबुत बनाएर अघि बढाउने विषयमा पार्टी केन्द्रको सचिवालयमा छलफल भइरहेको जानकारी दिए । प्रदेश तहमा समेत छलफल गरी सुझाव संकलन गरिएको र प्राप्त सुझावलाई समेटेर कार्यदलले प्रतिवेदन तयार गरिरहेको उनले बताए ।
एमालेले सञ्चालन गरिरहेको ‘मिसन जागरण अभियान’ ले पार्टीका तल्लो तहमा रहेका जनता, नेता–कार्यकर्ता तथा शुभेच्छुकसँग प्रत्यक्ष जोडिने लक्ष्य लिएको उनले बताए । आफ्ना जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न समेत उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । बैठकमा एमाले केन्द्रीय सदस्य ठाकुर गैरे, केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज नारायण आचार्य, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेललगायतको उपस्थिति थियो । एमाले लेखा आयोगका केन्द्रीय उपाध्यक्ष धनेन्द्रराज घिमिरेले समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा एमाले पाल्पाका उपसचिव दीपक विश्वकर्माले पार्टी केन्द्रको अन्तरपार्टी निर्देशन तथा प्रदेश कमिटीको आन्तरिक कमिटी निर्देशनबारे जानकारी गराएका थिए । एिमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षता, उपाध्यक्ष विमल काफ्लेलेको स्वागत, सचिव रामजी पोखरेलको सञ्चालनमा बैंठक भएको हो । –मिलन विश्वकर्माबाट


