Shittalpati
ढाकाको राजधानी पाल्पासँगका मेरा आत्मीय पलहरू

विष्णु घर्ती ‘भनभनेली’

कुनै पनि ठाउँसँगको सम्बन्ध केवल स्थानीय भूगोलले मात्र जोडिँदैन, समय, सन्दर्भ, अनुभव र सम्झनाले पनि जोड्दछ । मेरो लागि पाल्पा त्यस्तो एउटा जिल्ला हो, जहाँ मैले विद्यार्थी जीवनदेखि सरकारी सेवासम्मका महत्वपूर्ण चरणहरू पार गर्दै आएँ । वि.सं. २०५५ सालमा स्नातक तहको अध्ययनका लागि पहिलो पटक पाल्पा, तानसेन पुगेको म, त्यसपछि सरकारी जीवनका विभिन्न मोडमा घुमीफिरि सार्वजनिक सेवा प्रवाह गर्नका लागि पटक पटक त्यहीँ फर्किने अवसर पाएँ ।

 वि.सं. २०७१ सालमा जिल्ला प्रशासन कार्यालय पाल्पामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा र वि.सं. २०७८ सालमा बगनासकाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्दा पाल्पा र पाल्पाली पदचिन्हहरूलाई अझ नजिकबाट चियाउँदै बुझ्ने अवसर मिल्यो । कार्यालयको जिम्मेवारीसँगै जिल्लाका गाउँबस्ती, ऐतिहासिक सम्पदा, सांस्कृतिक धरोहर र त्यहाँका मेहनती मानिसहरूसँग साक्षात्कार गर्ने अवसरले पाल्पाप्रतिको मेरो आत्मीयता अझ गहिरो बन्दै गयो । पाल्पा भन्नासाथ धेरैको मनमा श्रीनगर डाँडा, पाल्पा दरबार, भगवती मन्दिर, रानीमहल, तानसेन बजार, हृषीकेश, भैरवनाथलगायतका धार्मिक तथा ऐतिहासिक सम्पदाहरू आउँछन्। तर मेरो मनमा भने एउट ‘पाल्पाली ढाका’ । हुन त गुल्मीमा छँदा पनि पाल्पाली ढाकाको प्रयोग निकै गरिन्थ्यो। यो केवल एउटा कपडा मात्र होइन; यो पाल्पाको पहिचान, मेहनत, सिर्जना, सीप र संस्कृतिको जीवन्त प्रतीक पनि हो । समयसँगै मैले पाल्पाली ढाकालाई केवल हेर्ने वा किन्ने वस्तुका रूपमा मात्र लिइनँ, यसलाई आफ्नो दैनिक जीवनको एउटा अभिन्न अ· बनाएँ र कार्यालयमा उपयुक्त हुने स्थान र अवसरमा पाल्पाली ढाकाको प्रयोगलाई उच्च प्राथमिकता दिंदै पनि आएँ । आज पनि सम्भव भएसम्म म ढाकाको टोपी, आसकोट, पर्स, टाई, रुमाल वा अन्य पोशाक प्रयोग गर्छु ।

उपयुक्त अवस्था र अवसरहरूमा विभिन्न महानुभावहरूले जिज्ञाशा पनि राख्नुहुन्छ, “कस्तो सुहाएको ?, कहाँको हो ?, किन यति धेरै ढाका मन पर्छ तपाइँलाई ?”  “यसमा मेरो उत्तर सधैँ एउटै हुने गर्दछ —यसमा नेपालीपन छ, श्रमिकको पसिना छ, पाल्पाको आत्मा छ ।” यही कारण म अन्य जिल्लामा जाँदा पनि साथीभाइ, सहकर्मी र चिनेजानेकाहरूलाई पाल्पाली ढाका प्रयोग गर्न सिफारिस, सहयोग, समन्वय र प्रेरित गरिरहन्छु । आफ्नै देशको उत्पादनलाई माया गर्नु र त्यसको प्रवद्र्धन गर्नु पनि राष्ट्रिय दायित्वको एउटा सानो रूप हो भन्ने विश्वास मेरो रहेको छ । वि.सं. २०७८ सालको चैत महिनामा पाल्पालाई औपचारिक रूपमा “ढाकाको राजधानी” घोषणा गरियो । यो घोषणा केवल एउटा उपाधि मात्र होइन, दशकौँदेखि ढाका उद्योगको तानमा समर्पित हजारौँ बुनकर, उद्यमी र श्रमिकको सम्मान थियो । पाल्पामा उत्पादन हुने ढाकाले आज विविध रूप लिएको छ । पहिले टोपी वा पछ्यौरामा सीमित रहेको ढाका अहिले साडी, चोलो, दौरा, सुरुवाल, कुर्ता, आसकोट, टाई, पर्स, ब्याग, सजावटका सामग्री, उपहारका सामग्रीलगायत करिब ९० प्रकारका उत्पादनमा विस्तार भएको छ  । पाल्पा पुग्ने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकले ढाकाका सामानलाई कोसेलीका रूपमा लैजाने गरेको दृश्य आज पनि उत्तिकै आकर्षक लाग्दछ । पाल्पाली ढाकाको यो यात्राको इतिहास पनि प्रेरणादायी रहेको पाइन्छ। स्वर्गीय गणेशमान महर्जनले भारतबाट ढाका बुन्ने सीप सिकेर फर्किएपछि वि.सं. २०१५ सालदेखि पाल्पामा यस व्यवसायको थालनी गरेका थिए । एउटा सानो र व्यक्तिगत प्रयासले समयसँगै अन्तर्राष्ट्रिय पहिचान बनायो ।

अहिले तानसेन मात्र होइन, कसेनी, मदनपोखरा, कुसुमखोला, चिर्तुङधारा, बन्दीपोखरा, अर्गलीलगायतका क्षेत्रमा पनि ढाका बुनाई निरन्तर भइरहेको छ भने बुटवल, काठमडौंलगायत देशका मूख्य शहरहरूमा पनि पाल्पाली ढाका पसलहरू सञ्चालनमा रहेका छन् । युके एड (सीप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका संघको सहकार्यमा ढाकालाई ब्रान्डिङ गरेर बजारमा स्थापित गर्ने प्रयासले यसको मूल्य र प्रतिष्ठा दुवै बढाएको छ । सरकारी सेवाको क्रममा मैले धेरै बुनकर परिवारसँग भेट्ने अवसर पाएँ। उनीहरूका हातले तानमा बुनेका प्रत्येक धागामा धैर्य, लगन र आशा मिसिएको देखिन्थ्यो । एउटा कपडा तयार हुन धेरै दिनको समय लाग्ने, आँखाको सूक्ष्म मेहनत र निरन्तर अभ्यास आवश्यक पर्ने यो काम केवल व्यवसाय होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप र संस्कृतिको निरन्तरता पनि हो। यिनै मेहनती हातका कारण पाल्पाली ढाका आज राष्ट्रिय गौरवको विषय बनेको छ । मलाई अझै सम्झना छ, पाल्पाका विभिन्न कार्यक्रममा सहभागी हुँदा धेरै स्थानीयले गर्वका साथ ढाकाको पोशाक लगाएको देख्थेँ। उपहारमा प्राय पाल्पाली ढाकाकै उपयोग गरिन्थ्यो। त्यो दृश्यले मलाई सधैँ एउटा प्रश्न सोध्दथ्यो —हामी आफ्नै उत्पादनप्रति कति गर्व गर्छौँ ?’ आज विश्व बजारमा स्थानीय उत्पादनको महत्त्व बढिरहेका बेला नेपाली हस्तकलाको उत्कृष्ट उदाहरण पाल्पाली ढाका हो । यदि हामी आफैँले यसको प्रयोग र प्रवद्र्धन बढाउन सक्यौँ भने यसले हजारौँ परिवारको आयआर्जनसँगै नेपालको सांस्कृतिक पहिचानलाई पनि बलियो बनाउनेछ ।

जीवनले मलाई पाल्पासँग धेरै पटक जोड्ने अवसर दियो । विद्यार्थी जीवनको उत्साह, प्रशासनिक जिम्मेवारीको अनुभव र स्थानीय जनजीवनसँगको आत्मीय सम्बन्ध— यी सबै स्मृतिहरूमा पाल्पाली ढाका सधैँ सँगै रहेको छ । अहिले पनि जब म ढाकाको टोपी वा आसकोट लगाउँछु, मलाई केवल एउटा पोशाक लगाएको अनुभूति हुँदैन; पाल्पाका गल्लीहरू, तानसेनको चहलपहल, तानमा व्यस्त बुनकरका हात, श्रीनगरको शीतल हावा र त्यहाँ बिताएका जीवनका अविस्मरणीय दिनहरू एकैसाथ सम्झनामा आइपुग्छन् । सायद यही कारण हो, मेरो लागि पाल्पा केवल एउटा जिल्ला होइन, एउटा आत्मीय अनुभूति हो । र पाल्पाली ढाका केवल कपडा होइन, मेरो जीवनका अनेकौँ स्मृतिलाई जोड्ने एउटा सजीव धागो हो । त्यसैले जहाँ पुगे पनि म पाल्पाली ढाकालाई गर्वका साथ प्रयोग गर्छु, अरूलाई पनि यसको प्रयोग गर्न आग्रह गर्छु, किनकि पाल्पाली ढाकाको सम्मान गर्नु भनेको नेपाली सीप, श्रम, संस्कृति र आत्मसम्मानको उच्च सम्मान गर्नु हो ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update