Shittalpati
किशोर श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग

पाल्पा, जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई समाचार लेखेकै कारण पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वदेखि वर्तमान नेतृत्वका पत्रकार अगुवा र एक पत्रकार प्रतिष्ठानले गम्भीर आपत्ति जनाएका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापकदेखि वर्तमान नेतृत्वसम्मका मेघराज शर्मा, गोविन्द भट्टराई, झपेन्द्र गहिरे, भगवान भण्डारी, राजेशकुमार अर्याल, रेखिराम राना र कमलराज तिमिल्सेनाले  संयुक्त विज्ञप्ती जारी गर्दै पत्रकार श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।उनीहरुले श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन् । साथै समाचारसम्बन्धी विवादको निरुपण प्रेस काउन्सिलमार्फत गर्न र सुरक्षा निकायमार्फत प्रेस नियमन गर्ने प्रवृत्ति अन्त्य गर्न उनीहरूले आग्रह गरेका छन् । यस्तै पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल पाल्पाले पनि एक विज्ञप्ति जारी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरेको छ । पत्रकार प्रतिष्ठानका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद भट्टराई र अध्यक्ष सन्तोष खनालद्वारा जारी विज्ञप्तिमा प्रकाशित समाचारप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा प्रहरीमार्फत पत्रकार पक्राउ तथा सञ्चार सामग्री जफत गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानको मर्मविपरीत भएको ठहर छ ।

उनीहरूका अनुसार श्रेष्ठलाई साउन २७ गते राति करिब ९ बजे काठमाडौं प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि समाचारको स्रोत खोज्ने क्रममा प्रहरीले घर तथा कार्यालयमा पटक–पटक खानतलासी गरी सिपीयू, ल्यापटप, मोबाइल, आइप्याडलगायत सञ्चार उपकरण तथा बालबालिकाका अध्ययन सामग्रीसमेत जफत गरेको परिवारको भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update