Shittalpati
स्वदेश फर्किएका देउवाले भने– ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

पाल्पा, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन् । ५ महिनाभन्दा बढी लामो समय विदेश बसाइपछि स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै भनेका छन्, “म शक्ति प्राप्त गर्ने उद्देश्यले नभई राष्ट्रिय एकता सुदृढ गर्न र मुलुकको सेवामा समर्पित हुन  फर्किएको छु ।” उनले आफु नेता बनेर नभई महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको उल्लेख गरे ।

देउवाले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कँदा राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरू एक हुनुपर्ने धारणा राखेको स्मरण गर्दै अहिले पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताए । उनले विगतका विभाजन र विद्वेषका घाउहरू निको पार्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्नुपर्नेमा जोड दिए । “यस्तो नेपाल निर्माण गरौं जहाँ प्रत्येक बालकले निर्भिक सपना देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस् र प्रत्येक समुदाय समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्,” देउवाले भनेका छन् । देउवाले सार्वजनिक जीवनमा पदमा बसेर काम गर्दै जाँदा विभिन्न आलोचना, प्रत्यालोचनाहरू हुनु स्वाभाविक रहेको पनि जनाएका छन् ।

“मैले सधैँ भन्ने गरेको छु जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरी मानी काम गरेको छु । कानुन र नीति विपरीत कुनै काम गरेको छैन । मेरो जीवन खुला किताब हो । म प्रतिज्ञा गर्दछु अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान कानुन र नैतिकता मूल्य मान्यताअनुरुप काम गर्नेछु र यी विषयमा कुनै कसैसँग मेरो सम्झौता हुन सक्दैन,” देउवाले भनेका छन् । देउवाले उपचारका क्रममा आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने, चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले आफूलाई ‘विनम्र सेवक’का रूपमा प्रस्तुत गर्दै सुन्न, सिक्न र समुन्नत मुलुक निर्माणको यात्रामा योगदान गर्न तयार रहेको बताएका छन् । उनले नेपाली कांग्रेस लामो राजनीतिक संघर्षबाट स्थापित भएको पार्टी भएको उल्लेख गरेका छन् । 

२०२० सालदेखि आफू निरन्तर राजनीतिक संघर्ष र यात्रामा सहभागी हुँदै आएको स्मरण गर्दै देउवाले बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताहरूको त्याग र योगदानलाई नयाँ पुस्ताले बिर्सन नहुने बताए । उनका अनुसार अग्रजहरूले निर्माण गरेको राजनीतिक विरासत गौरवको विषय मात्र नभई जनताको विश्वासका रूपमा वर्तमान पुस्ताले बहन गरिरहेको जिम्मेवारी हो । देउवाले पछिल्लो समय युवा पुस्तामा देखिएको असन्तुष्टि र परिवर्तनको आकांक्षालाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । विश्व परिवर्तन भइरहेकाले नेपाली राजनीति पनि समयको गतिसँगै अघि बढ्नुपर्ने उनको भनाइ छ । गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको उनले स्मरण गरे ।

परिवर्तनको अर्थ विगतका पुस्ताको संघर्ष, त्याग र बलिदानलाई अस्वीकार गर्नु नभएको स्पष्ट पार्दै उनले लोकतन्त्र, स्वतन्त्रता, अधिकार र राजनीतिक प्रणाली निर्माणका लागि अघिल्लो पुस्ताले गरेको योगदानको सम्मान गर्नुपर्ने बताए । “केही कमी–कमजोरी भए होलान्, तर त्यसलाई स्वीकार गर्दै समुन्नत मुलुक निर्माणमा सबै पक्षको हातेमालो आवश्यक छ,” देउवाको भनाइ छ । उनले लोकतन्त्रमा सत्ता अस्थायी हुने तर जनताको मन बुझ्ने नेता दीर्घकालसम्म स्मरणीय हुने धारणा पनि व्यक्त गरेका छन् । सिंगापुर गएको पाँच महिनापछि उनी हङकङ हुँदै विहीबार नेपाल फर्किएका हुन् ।

उनी लामो समयदेखि उपचारका क्रममा विदेशमा थिए । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको थियो । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए । देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update