विदुर घिमिरे
पाल्पाका माननीय वीरबहादुर रानाले आफ्ना भाषणहरूमा पटक–पटक प्रयोग गर्ने एउटा वाक्य छ— “जन्मघर फर्केर हेर ।” सामान्य लाग्ने यी केही शब्दभित्र आजको नेपालको विकास, राजनीति, समाज र नागरिक दायित्वसँग जोडिएको अत्यन्त गहिरो अर्थ लुकेको छ । त्यसैले मेरो बुझाइमा यो केवल एउटा राजनीतिक भाषणको सुन्दर वाक्य होइन; राज्य सञ्चालनको जिम्मेवारीमा पुगेका हरेक व्यक्ति, देशभित्र सफल जीवन बिताइरहेका नागरिक र विदेशमा पुगेर आफ्नो जीवन बनाएका नेपालीका लागि एउटा नैतिक प्रश्न पनि हो । मा. वीरबहादुर राना नेपाली काँग्रेस पाल्पाका दुई कार्यकाल जिल्ला सभापति, २०७४ सालमा लुम्बिनी प्रदेशका समानुपातिक प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री र २०७९ सालमा पाल्पा क्षेत्र नं. २(क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । आफ्ना कुरा प्रस्ट, खरो र निर्भीक ढंगले राख्ने तथा जनताका भावनालाई भाषणमार्फत कलात्मक रूपमा प्रस्तुत गर्ने नेताका रूपमा उहाँ परिचित हुनुहुन्छ । उहाँका धेरै अभिव्यक्तिमध्ये “जन्मघर फर्केर हेर” भन्ने शब्दले मलाई विशेष रूपमा छोयो । शब्दमा यो सानो छ, तर विचारमा असाध्यै विशाल ।
मलाई त यो वाक्य गौतम बुद्धले संसारलाई दिएको शान्तिको सन्देशजस्तै गहिरो लाग्यो—थोरै शब्दमा धेरै अर्थ बोकेको । देश विकासको यात्रामा हामीले खोजिरहेको एउटा महत्वपूर्ण उत्तर सायद यही वाक्यभित्र लुकेको छ । नेपाल लामो समयदेखि विकासको प्रतिक्षामा बसेको देश हो । राजनीतिक व्यवस्था फेरिए, सरकार फेरिए, नेतृत्व फेरियो; तर जनताको जीवनमा अपेक्षित परिवर्तनको गति भने अझै सन्तोषजनक हुन सकेको छैन् । भ्रष्टाचार, कुशासन, राजनीतिक अस्थिरता र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले राज्यलाई कमजोर बनाउँदै लगेको तीतो यथार्थ हामीसामु छ । जनताले संघीय सरकारबाट नीति, कानुन र राष्ट्रिय विकासको अपेक्षा गर्छन् । प्रदेश सरकारबाट क्षेत्रीय विकासको अपेक्षा गर्छन् । स्थानीय सरकारबाट भने उनीहरू आफ्नो दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका बाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र सार्वजनिक सेवाको अपेक्षा गर्छन् । तर “जन्मघर फर्केर हेर” ले यी सबैभन्दा माथि पुगेर एउटा नागरिक प्रश्न गर्छ—तिमी जहाँ पुगेका छौ, त्यहाँ पुग्नुअघि तिमी कहाँबाट आएका थियौ ? जन्मघर भनेको केवल चार भित्ताभित्रको घर मात्र होइन । त्यो हाम्रो पहिचान पनि हो । हाम्रो बाल्यकाल हो । हाम्रो पहिलो सपना हो । हामीले पहिलो पटक अक्षर चिनेको विद्यालय हो । पानी बोकेको पँधेरो हो । खेल्दै हुर्किएको चौतारी हो । हिँडेको गोरेटो हो । पूजा गरेको मन्दिर हो । पौडी खेलेको खोला हो । चढेको डाँडा हो । दुःख–सुखमा साथ दिएका छिमेकी हुन् । त्यसैले जन्मघर फर्केर हेर्नु भनेको आफ्नै जरा फर्केर हेर्नु हो ।
हामीले किन फर्केर हेर्न सकेनौँ ?
नेपाल ग्रामीण भूगोलले बनेको देश हो । हिमालदेखि तराईसम्म प्रकृतिले हामीलाई असाधारण सम्भावना दिएको छ । गाउँ–गाउँमा धार्मिक सम्पदा छन्, ऐतिहासिक स्थल छन्, झरना छन्, डाँडाकाँडा छन्, हिमाली दृश्य छन्, मौलिक संस्कृति छन्, कृषि सम्भावना छन् । तर यस्ता धेरै सम्भावना अझै विकासको नक्सामा पर्याप्त रूपमा समेटिएका छैनन् ।
हामीले प्रश्न गर्नुपर्छ—किन ?
मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्म सामान्य परिवारमा जन्मिएका हजारौँ नेपाली आज राज्यका महत्वपूर्ण निकायमा पुगेका छन् । कोही मन्त्री बनेका छन्, कोही सांसद, कोही उच्च प्रशासक, कोही उद्योगी–व्यवसायी । लाखौँ नेपाली संसारका विकसित मुलुकमा पुगेर आर्थिक रूपमा सम्पन्न भएका छन् । उनीहरूले व्यवस्थित शहर देखेका छन् । उत्कृष्ट शिक्षा र स्वास्थ्य सेवा अनुभव गरेका छन् । आधुनिक प्रविधिको शक्ति बुझेका छन् । राम्रो सडक, स्वच्छ खानेपानी, व्यवस्थित सार्वजनिक सेवा र पर्यटकीय विकासको महत्व देखेका छन् । तर प्रश्न फेरि उही छ—तीमध्ये कति जनाले आफ्नो जन्मघर सम्झिएका छन् ? बाल्यकालमा हिँडेको गोरेटो कस्तो छ भनेर कति जनाले सोधेका छन् ? आफूले पढेको विद्यालयको अवस्था कस्तो छ भनेर कति जनाले हेरेका छन् ? पानी बोकेको पँधेरो सुकेको छ कि बगेको छ भनेर कति जनाले सम्झेका छन् ? आफ्नो गाउँको मन्दिर, चौतारी, खोला, डाँडा र सम्भावनालाई कति जनाले फर्केर हेरेका छन् ?
फर्केर हेर्नुको अर्थ के हो ?
“जन्मघर फर्केर हेर” भन्नुको अर्थ केवल वर्षमा एकपटक गाउँ गएर केही दिन बिताउनु मात्र होइन । यसको अर्थ हो—आफूले संसारबाट सिकेको कुरा आफ्नो गाउँमा प्रयोग गर्नु । आफूले पाएको अवसरको केही अंश आफ्नो समाजलाई फर्काउनु । आफूले देखेको विकासको अनुभव आफ्नो जन्मभूमिसँग जोड्नु । आफूले कमाएको ज्ञान, सीप, प्रविधि, सम्बन्ध र स्रोतलाई आफ्नो समाजको भविष्य निर्माणमा लगाउनु । किनकि जीवन अजम्बरी छैन् । एक दिन हामी सबैले यो संसार छोड्नुपर्छ । त्यस दिन हामीसँग पद हुँदैन, पैसा हुँदैन, पहुँच हुँदैन् । बाँकी रहने कुरा हाम्रो कर्म र सम्झना हो । त्यो बेला हामीले बाल्यकालमा दुःख–सुख बाँडेका आफ्ना आफन्त, छिमेकी र गाउँलेलाई सम्झनुपर्छ । हामीलाई जन्मघरले के दियो र हामीले जन्मघरलाई के दियौँ भन्ने प्रश्न आफैँसँग गर्नुपर्छ । आज सुखमा जोडिएका धेरै सम्बन्धहरू समयसँगै टाढिन सक्छन् । तर गाउँको माटो, जन्मघरको आँगन र बाल्यकालका सम्झनाहरूले मानिसलाई जीवनभर पछ्याइरहन्छन् । त्यसैले प्रश्न पैसा कमाएको छ कि छैन भन्ने मात्र होइन । आफ्नो जन्मघरका लागि के गर्यौँ भन्ने पनि हो । प्रत्येक सफल व्यक्ति जन्मघर फर्किए भने ? एकपटक कल्पना गरौँ । नेपालका प्रत्येक सफल व्यक्तिले आफ्नो जन्मगाउँको एउटा विद्यालय सुधार्न पहल गरे भने के होला ? कसैले एउटा खानेपानी आयोजना बनाइदिए । कसैले एउटा पर्यटकीय स्थलको प्रचार गरिदिए । कसैले एउटा सडक व्यवस्थित गर्न पहल गरे । कसैले स्थानीय उत्पादनलाई बजारसँग जोडिदिए । कसैले गाउँका युवाका लागि सानो उद्योग स्थापना गरिदिए । कसैले गाउँमा पुस्तकालय खोलिदिए । कसैले स्वास्थ्य सेवामा सहयोग गरिदिए । कसैले आफ्नो ज्ञान र सीप गाउँका युवालाई सिकाइदिए । आहा ! यस्ता हजारौँ साना प्रयास जोडिँदा नेपालको विकासको गति कस्तो होला ? राज्यको बजेट मात्रले देश बन्दैन । राज्यको नीति र नागरिकको सहभागिता मिल्दा मात्र विकासले गति लिन्छ । हामी विकासलाई प्रायः सिंहदरबारबाट गाउँतर्फ आउने बजेटको आँखाबाट हेर्छौं । तर विकासको अर्को बाटो पनि हुन सक्छ—गाउँबाट उठेको नागरिक योगदान, सहर हुँदै राज्य र राज्य हुँदै राष्ट्र निर्माणतर्फ जाने बाटो । “जन्मघर फर्केर हेर” यही नागरिक दायित्वको सम्झना हो ।
नेताहरूले पनि जन्मघर फर्केर हेर्नुपर्छ
यो सन्देश नागरिकका लागि मात्र होइन, नेताहरूका लागि पनि हो । नेताहरूले चुनावका बेला गरेका वाचा सम्झनुपर्छ । जनताको घरमा पुग्दा देखेका समस्या सम्झनुपर्छ । गाउँका बाटा, विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, कृषि, पर्यटन र रोजगारीका सम्भावना सम्झनुपर्छ । सत्तामा पुगेपछि त्यही गाउँ, त्यही बाटो, त्यही विद्यालय र त्यही नागरिक किन प्राथमिकतामा पर्दैनन् ? जनताले नेताबाट केवल भाषण होइन, परिणाम खोजेका छन् । त्यसैले “जन्मघर फर्केर हेर” भन्ने वाक्य नेताका लागि अझ ठूलो ऐना हो । आफू आएको ठाउँलाई सम्झ, आफूले गरेका वाचा सम्झ र आफूले पाएको जिम्मेवारीको हिसाब गर ।
विदेशमा रहेका नेपालीले पनि फर्केर हेर्नुपर्छ
आज लाखौँ नेपाली विदेशमा छन् । उनीहरूले संसार देखेका छन् । विकसित देशको जीवनशैली भोगेका छन्। नयाँ प्रविधि सिकेका छन्। व्यवसाय सञ्चालनको तरिका बुझेका छन्। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारका आधुनिक मोडल देखेका छन् । त्यसैले विदेशमा रहेका नेपालीको योगदान केवल आर्थिक सहयोगमा सीमित हुनुपर्दैन । उनीहरूको ज्ञान, सीप, प्रविधि, अनुभव र सोच पनि नेपालको ठूलो पूँजी हो । संसार देखेका नेपालीले नेपाललाई संसारजस्तै बनाउन सक्छन् —यदि उनीहरूले आफ्नो जन्मघरलाई विकासको पहिलो प्रयोगशाला बनाए भने ।
स्थानीय सरकारको पनि जिम्मेवारी
स्थानीय सरकारले पनि “जन्मघर फर्केर हेर” भन्ने भावनालाई केवल नाराका रूपमा होइन, विकासको नीतिका रूपमा लिन सक्छ । आफ्नो गाउँ वा नगरभित्रका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्भावनाको पहिचान गर्ने, त्यसलाई प्रवद्र्धन गर्ने र स्थानीय नागरिक, प्रवासी नेपाली तथा निजी क्षेत्रलाई जोड्ने काम गर्न सकिन्छ । हरेक स्थानीय तहले आफ्नो ठाउँबाट बाहिर गएका सफल नागरिकको पहिचान गर्न सक्छ । उनीहरूको ज्ञान, सीप र स्रोतलाई स्थानीय विकाससँग जोड्न सक्छ । किनकि गाउँलाई माया गर्न भाषण गर्नुपर्दैन । एउटा काम गरे पुग्छ । एउटा विद्यालय राम्रो बनाऔँ । एउटा बाटो सुरक्षित बनाऔँ । एउटा पँधेरो संरक्षण गरौं । एउटा धार्मिक स्थल जोगाऔँ । एउटा पर्यटकीय गन्तव्य चिनाऔँ । एउटा स्थानीय उत्पादनलाई बजारसँग जोडौँ । एउटा युवालाई गाउँमै रोजगारीको अवसर दिऔँ । यिनै स–साना काम जोडिँदै गए भने ठूलो परिवर्तन सम्भव छ ।
जन्मघर बलियो भयो भने देश बलियो हुन्छ
आज नेपाललाई केवल नयाँ सरकारले मात्रै सबै कुरा गरिदिने अपेक्षा गरेर पुग्दैन । नेपाललाई नयाँ सोचसहित आफ्नो जन्मघर सम्झिने नागरिक चाहिएको छ । एउटा जन्मघर बलियो हुँदा एउटा परिवार बलियो हुन्छ । परिवार बलियो हुँदा एउटा गाउँ बलियो हुन्छ । हजारौँ जन्मघर बलियो हुन थाले भने जिल्ला बलियो हुन्छ । जिल्ला बलियो भए प्रदेश बलियो हुन्छ । प्रदेश बलियो भए देश बलियो हुन्छ । र देश बलियो भयो भने हामी बलियो हुन्छौँ, हाम्रा सन्तति बलिया हुन्छन् । सायद त्यसपछि विकास खोज्दै सधैँ राजधानीतिर मात्रै घरघडेरी किन्नुपर्ने बाध्यता पनि घट्नेछ । आफ्नै आँगनमा विकासको उज्यालो बाल्न सक्यौँ भने आफ्नै गाउँमा बस्न सकिन्छ । आफ्नै गाउँमा जीवन बिताउन सकिन्छ । र एक दिन आफ्नै जन्मभूमिको काखमा हाँसी–हाँसी मर्न पनि सकिन्छ ।
अन्त्यमा...
त्यसैले आजको प्रश्न केवल “जन्मघर फर्केर हेर” भन्ने होइन । प्रश्न हो—हामी फर्केर हेर्ने कि नहेर्ने ? जसले जहाँबाट सफलता पाएको छ, उसले आफ्नो जन्मघरलाई एकपटक फर्केर हेरोस् । जसले देश चलाउने अवसर पाएको छ, उसले आफ्नो गाउँको अनुहार सम्झियोस् । जसले विदेशमा आधुनिक विकास देखेको छ, उसले आफ्नो गाउँको सम्भावना देखोस् । जसले धन कमाएको छ, उसले आफ्नो जन्मभूमिमा केही लगानी गरोस् । जसले पद पाएको छ, उसले जनताको दुःख सम्झियोस् । जसले जीवनमा सफलता पाएको छ, उसले आफूलाई सफल बनाउने माटोलाई नबिर्सियोस् । सायद त्यसपछि कुनै दिन हामी गर्वका साथ भन्न सक्नेछौँ—आहा, मेरो जन्मघर ! आहा, मेरो गाउँ ! आहा, मेरो पाल्पा ! आहा, मेरो नेपाल ! आहा, मेरो देश ! आहा, हामी नेपाली ! अन्त्यमा एउटा कुरा स्पष्ट गर्न चाहन्छु—“जन्मघर फर्केर हेर” भन्ने सुन्दर शब्द मैले मा. वीरबहादुर रानाको अभिव्यक्तिबाट सुनेको हुँ । त्यसैले यो विचार र वाक्यको श्रेय तथा सिर्जनात्मक स्वामित्व म सम्मानपूर्वक मा. वीरबहादुर रानाज्यूलाई नै हस्तान्तरण गर्दछु । मैले त उहाँका केही शब्दभित्र लुकेको एउटा ठूलो सम्भावना देखेको मात्र हुँ । “जन्मघर फर्केर हेर”—सायद यो केवल एउटा वाक्य होइन, आफ्नो जरा सम्झिएर देश बनाउने एउटा सूत्र हो ।


