Shittalpati
गठबन्धन विजयी हुनु भनेकै युवाको जित हो : श्रेष्ठ

पाल्पा, वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले गठबन्धन विजयी हुँदै गर्दा युवाको पनि जित हुने बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले गठबन्धनको जित नै युवाहरुको जित रहेको बताएका हुन् ।
उनले युवाहरुका हरेक समस्या समाधानमा गठबन्धन मात्र एक विकल्प रहेको बताउँदै गठबन्धनको जित भएमा सबै युवाहरुको जित हुनेमा जोड दिए । उनले भने ‘परिवार पाल्न विदेशिएका युवा हुुन् वा पढाई सकेर बेरोजगार बसेका युवाहरु हुन् उनीहरुको व्यवस्थापनमा गठबन्धन गम्भीर छ, निर्वाचनपछि बन्ने गठबन्धनको प्रदेश र संघीय सरकारले यी समस्या समाधान गर्ने छन् ।’ सभापति श्रेष्ठले युवाहरुलाई स्वदेशमै रोजगारको ग्यारेन्टी गठबन्धनले गर्ने भएकाले मंसिर ४ को निर्वाचनमा गठबन्धनका सबै उम्मेदवारहरुलाई विजयी गराउन युवाहरुलाई आग्रह गरे । गठबन्धनका साझा उम्मेदवार तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेयले अहिलेको गठबन्धन कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउनका लागि नभएको भन्दै देशले मागेका कारण गठबन्धन गरिएको बताए । उनले काँग्रेस र कम्यूनिष्ट पार्टी मिल्दा नै २०४७ सालमा बहुदल ल्याउन र २०६२/६३ मा गणतन्त्र ल्याउन गठबन्धनको आन्दोलनहरु सफल भएको भन्दै अहिलेको गठबन्धन पनि त्यसैको उपज रहेको बताए । उनले अहिलेको गठबन्धन भनेको संविधान सभाबाट निर्माण गरिएको लोकतान्त्रिक संविधानको रक्षा र कार्यान्वयनको लागि गरिएकाले गठबन्धनलाई ढुक्क भएर मत दिन आग्रह गरे । उनले व्यक्तिगत स्वार्थका लागि जनतालाई दिग्भ्रमित नपार्न एमालेलाई चेतावनी समेत दिए । उनले पाल्पाको विकासमा आफूले जनताको हरेक सुख, दुखमा साथ दिएका कारण पनि यसपाली संक्रमणकालिन अवस्थामा आफूले जित्नै पर्ने बताए । उनले विपक्षी नेताहरुसँग कुनै एजेन्डा नभएपछि जनतलाई दिग्भ्रमित गर्ने खालको काम गर्ने गरेकाले
त्यस्ता भ्रममा नपर्न सबै मतदताहरुलाई आग्रह गरे ।
प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले प्रतिगमनलाई परास्त गर्न गठबन्धन गरिएको बताए । एमालेले लोकतन्त्र, संविधान तथा परिवर्तनलाई कुल्चन थालेपछि एमालेको विरुद्धमा ५ दलीय गठबन्धन गर्नु परेको उनले स्पष्ट पारेका हुन् । राजनीति समर्पण हुनुपर्नेमा पेशा बनेको उल्लेख गर्दै उनले यसलाई चिर्न पनि आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी रहेको बताए । अघिल्लो पटक लुम्बिनी प्रदेशमा छोटो कार्यकालका लागि मन्त्री बनेपनि पाल्पामा उल्लेख्य काम गरेको दाबी गर्दै उनले यसपटक पनि आफ्नो जित सुनिश्चित रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, माओवादी केन्द्र केन्द्रीयत सदस्य अनिलकिशोर घिमिरे, समानुपातिका उम्मेदवार अशोककुमार शाही, काँग्रेस तानसेन नगर सभापति सुुवर्णमुनी शाक्य,काँग्रेस नेता यमलाल तिमिल्सीना, तरुण दलका तानसेन नगर सभापति सुुशील शाक्य लगायतले गठबन्धनको विजयीको लागि सबैको हातेमालो आवश्यक रहेको बताए । युवा परिचालन समितिका अध्यक्ष प्रकाश गंगोलको अध्यक्षता, नेपाली काँग्रेस तानसेन नगर सचिव शैलेन्द्र भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update