Shittalpati
विकास र समृद्धिका लागि गठबन्धनलाई मत : घर्ती मगर

पाल्पा, प्रदेश सभा पाल्पा क्षेत्र नं. २ (२) वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार तुलाराम घर्ती मगर बसन्तले विकास र समृद्धिका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । उनले रिब्दीकोट र तिनाउका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग देशको विकास र समृद्धि गठबन्धनबाट मात्रै सम्भव रहेकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदाताहरुसँग आग्रह गरेका हुन् ।

माओवादी केन्द्रका नेता समेत रहेका घर्तीले शान्ति प्रक्रियामा समेत माओवादी र काँग्रेसको सहकार्य रहेको बताउँदै अब विकास र समृद्धिका लागि पनि सहकार्य भइरहको बताए । माओवादीको नीतिमा देश चलेकाले नीति अनुसारको नेतृत्वको लागि अहिले गठबन्धन गरेर माओवादी, काँग्रेस, समाजवादी, जनमोर्चा लगायतका पार्टीहरु चुनावी मोर्चामा होमिएको उनले बताए ।

रिब्दीकोट गाउँपालिकाको ठिमुरे, भैरवस्थान, पालुङ्मैनादी, खस्यौली, कशुमखोला, तिनाउका स्थानमा घरदैलो कार्यक्रम गर्दै घर्तीले आर्थिक समृद्धिको अभियान अगाडि बढाउन नीति अनुसारको नेतृत्व आवश्यक रहेकाले गठबन्धनको उम्मेद्वारहरुको विजयी हुनुपर्ने धारण व्यक्त गरेका छन् । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशिता सहितको संविधान र त्यस व्यवस्थामा माओवादीको एजेन्डा भएकाले सोही नीति अनुसारको नेतृत्वको लागि अहिले पाँचदलीय गठबन्धन भएको उनले स्पष्ट पारे । उनले एमालेको दम्भका कारण दुई तिहाई सरकार ढालेर पटक पटक संसद विघटन भएकाले देशमा आर्थिक नैरास्यता समेत छाएको बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update