Shittalpati
घर–घरमा गठबन्धनका उम्मेदवारहरुः भन्छन्,‘जनताका समस्या हाम्रो प्राथमिकता’

पाल्पा, पाल्पामा उम्मेदवारहरूलाई यतिबेला मतदातासँग भोट माग्न भ्याइनभ्याइ छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै वाम– लोकतान्त्रिक गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवाजदी, राष्ट्रिय जनमोर्चाका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेण्डा लिएर गाउँ, टोल बस्तीमा पुुगेका छन् । सत्ता गठबन्धनतर्फका पाल्पा क्षेत्र नं .२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेय, प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर राना र प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम (बसन्त) घर्ती चुनावी साझा एजेण्डा लिएर मतदातासँग भोट माग्न गाउँ बस्ती पुगेका हुन् ।

उनीहरु गाउँ वस्तीमा पुुगेर जनताका हरेक समस्याहरु सुन्दै समाधान गर्ने आफुहरुको पहिलो प्राथमिकता रहेको बताएका छन् । जनताका हरेक समस्यासँग आफूहरु अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने उनीहरुले मततदाताहरुसँग प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेले सोमबार रिब्दीकोट गाउँपालिकाको फेक र पालुुङ्गमैनादीमा मतदातासँगको भेटघाटमा यस क्षेत्रका समस्याहरुका विषयमा आफुु जानकार भएको र ति समस्या समाधानमा आफुु प्रतिवद्ध भएर लाग्ने बताएका छन् । उनले विगतमा यस क्षेत्रमा भएका अधिकासं समस्या समाधान गरिसकेको भन्दै बाँकी समस्या र विकास निर्माणका काम आफ्ना पहिलो प्राथमिकता रहने बताए । सत्ताको मातमा ओलीले संविधानले निर्धारण गरेका राजनीतिक नियममाथि पटक–पटक प्रहार गरेको र संवैधानिक निकाय कब्जा गर्न थालेकाले त्यसका विरुद्ध अहिले गठबन्धन भएको समेत मतदातालाई बताएका छन् । उनले असंवैधानिक र प्रतिगामी कदम रोक्न तथा संवैधानिक प्रक्रियालाई सहि बाटोमा ल्याउन ऐतिहासिक प्रक्रिया प्रारम्भ भएकाले गठबन्धनका दलहरुलाई विजयी बनाउन आग्रह गरे । पाण्डेसँगै मतदाता भेट्न पुुगेका प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम (बसन्त) घर्तीले पनि जनताका हरेक समस्यामा आफुु सधै साथ रहेको बताएका छन् । उनले अहिलको निर्वाचन दलहरुबीचको हारजीतको लडाइँ भन्दा पनि राष्ट्रियता जोगाउने र भत्काउने शक्तिहरु बिचको लडाइँ भएको भन्दै गठबन्धनका उम्मेदवारहरुले आगामी निर्वाचनमा राष्ट्रियताको पक्षमा जनमत उभिने दाबी गरे ।

उता प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार वीरबहादुर रानाले बगनासकाली गाउँ पालिकाको नायर, खानीछाप, करङ्गा, मुस्लाङ्खोला, चौपारी, म्याउछाप लगायतका स्थानमा पुुगेर मतदताहरुको समस्या सुन्ने काम गरेका छन् । उनले मतदाताहरुको समस्या आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले भनेका छन् ‘यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।’लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्ने उनले बताए । ‘लोकतन्त्र संकटमा परेको बेला बनेको गठबन्धनलाई बलियो बनाएर अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्छ,’ उनलले भने । उम्मेदवारहरुसँगै घरदैलोमा गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठ, नेपाली काँग्रेसका उपसभापति झपेन्द्र गहिरे, नेकपा एसका जिल्ला अध्यक्ष कमल पाण्डेय ,माओवादी केन्द्रका मधुरा ढकाल, नेपाली कांग्रेसका केन्द्रीय प्रचार बिवभाग सदस्य हरि प्रसाद नेपाल, एकीकृत समाजवादिका केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, पुर्ब गभर्नर चिरञ्जीवी नेपाल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र बिक, राष्ट्रिय जनमोर्चाकी नरमती सिंजाली, नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिका सभापति रामचन्द्र पाण्डे, नेपाल तरूणदल रिब्दीकोट गाउँपालिका संयोजक दिपक पचभैया लगाएतको टोली पुुगेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update