
हाम्रा संवाददाता
पाल्पा, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ७ जनाको ज्यान गएको छ । बाँके, दाङ, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा भएका छुट्टाछुट्टै घटनामा ७ जनाको ज्यान गएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझामा स्कुटर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ग.९ प १६६० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय खेमराज शाही र स्कुटरमा सवार १६ वर्षीय दिनेश राना मगरको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङहोम नेपालगञ्ज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कोठरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मुत्यु हुनेमा सोही ठाउँका ५४ वर्षीय चित्रबहादुर विक रहेका छन् । आफ्नै खेत जोत्ने क्रममा खेतमा लत्रिएको तारबाट करेन्ट लागेर अशक्त भएका उनको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ कुन्द्रेखोलास्थित खोलामा डुवेर एक जनाको ज्यान गएको छ । यहाँको मालारानी गाउँपालिका–४ मखताका २० वर्षीय विक्रम खनालको खोलामा डुवेर ज्यान गएको हो । उनी खोलामा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका थिए । उनको ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा अचेत अवस्थामा फेला परेको थियो । अचेत अवस्थामा फेला परेका खनालको सामुदायिक अस्पताल ४ नम्बर कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै रूपन्देहीको कञ्चन गाउँपालिका–१ हात्ती बजारमा पोखरीमा डुवेर एक जनाको ज्यान गएको छ । सोही ठाउँका बाबुराम गमालकी ७ वर्षीया छोरी रीतु गमालको नमुना सामुदायिक वनमा रहेको पोखरीमा डुवेर ज्यान गएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । साथीहरूसँग खेल्दै जाने क्रममा चिप्लिएर उक्त पोखरीमा डुवेर उनी अशक्त भएकी थिइन् । अशक्त भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । उता कपिलवस्तुको बुद्धभूमी नगरपालिका–८ पचगैयामा पानी जमेको खाल्डोमा डुवेर एक बालिकाको ज्यान गएको छ । सोही ठाउँकी १८ वर्षीया सीता यादवको घर नजिकै रहेको खेतमा पानी जमेको खाल्डोमा डुवेर ज्यान गएको हो । खेतमा काम सकेर उक्त पानी जमेको खाल्डोमा हातखुट्टा धुने क्रममा उनको डुवेर ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै नवलपरासीको गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको नदी किनारमा शव फेला परेको हो । घटनाको थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।