पाल्पा, विश्व क्षयरोग दिवसको अवसरमा पाल्पामा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी दिवस मनाइएको छ। कार्यक्रममा धुमपान, मद्यपान, धुलो–धुवाँ तथा प्रदूषित वातावरणमा काम गर्ने व्यक्तिहरू क्षयरोगको उच्च जोखिममा रहने तथ्य प्रस्तुत गरिएको छ।
स्वास्थ्यकर्मीका अनुसार दुई हप्तासम्म लगातार खोकी लाग्ने, साँझपख ज्वरो आउने, भोक नलाग्ने, तौल घट्दै जाने, खकारमा रगत देखिने तथा छाती दुख्ने जस्ता लक्षण देखिएमा तत्काल परीक्षण गराउनुपर्ने बताइएको छ। स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कअनुसार जिल्लाका अन्य पालिकाको तुलनामा निस्दी गाउँपालिकामा क्षयरोगका बिरामी बढी देखिएका छन्। गत आर्थिक वर्षमा २५ जनाको मृत्यु भएको र चालु आर्थिक वर्षको ८ महिनामै ९ जनाको मृत्यु भइसकेको निमित्त प्रमुख टुक प्रसाद पोखरेलले जानकारी दिए ।
सञ्चारकर्मीसँगको अन्तर्क्रियामा पोखरेलले समयमै परीक्षण गरी लगातार ६ महिनासम्म औषधी सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने बताएका छन्। उनले संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कबाट बच्न र सावधानी अपनाउन आग्रह गरे। त्यसैगरी, स्वास्थ्य कार्यालयका क्षयरोग अधिकृत विश्वनाथ न्यौपानेले पाल्पाका सबै १० पालिकामा परीक्षण सेवा उपलब्ध रहेको जानकारी दिँदै लक्षण देखिनेबित्तिकै परीक्षण गराउन आग्रह गरे। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा संक्रमण तीव्र हुने र समयमै उपचार नभए ज्यानै जान सक्ने चेतावनी पनि उनले दिए। कार्यक्रममा क्षयरोगको परीक्षण तथा उपचार सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको जानकारीसमेत गराइएको थियो।


