पाल्पा, जिल्लाका तानसेन नगरपालिका र बगनसकाली गाउँपालिकामा ‘परागसेचन परियोजना’ सुरु भएको छ । नेपाल परागसेचन परियोजना अन्तर्गत विदेशी तथा स्वदेशी संघ संस्थाको सहयोगमा दिगो कृषि र जैविक विविधताका लागि परागसेचन वैज्ञानिक परीक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले यहाँ सो परियोजना सुरु भएको हो ।
हर्ड इन्टरनेशन र लिवर्ड सहित ५ वटा साझेदार संस्थाहरूको सहयोगमा सञ्चालित यस परियोजनाले यी दुई पालिकालाई कार्यक्षेत्र बनाएर अध्ययन तथा अनुसन्धानको थालनी गरेको छ । हर्ड इन्टरनेशनल नेपालले तानसेनमा पालिकास्तरीय प्रारम्भिक समन्वय तथा परिचयात्मक बैठकको आयोजना गरेर परियोजनाका बारेमा जानकारी गराएका छ । परियोजनाले यी दुई पालिकामा सुन्तला, तोरी र काक्रो वालीमा परागसेनको अवस्थाको बारेमा पूर्ण रुपमा अनुसन्धान गर्ने छ । यो परियोजनाले सन् २०२९ सम्म पाल्पामा रहेर परागसेचनका विविध पक्षमा काम गर्ने छ । परियोजनाले कृषक सचेतना, पराग सेचनका प्राकृतिक जिवाणु बढाउने, विद्यालयका शिक्षक तथा बालबालिका सचेतना, सरकोकारवाल पक्षसँग समय समयमा पैरवी कार्यक्रमलाई प्राथमिकता दिएको परियोजना संयोजक एव कृषि अधिकृत केदार नेपालले बताए ।
पछिल्लो समय नेपालमा मौरी, भमरा, पुतली जस्ता प्राकृतिक परागसेचकहरूको संख्यामा तीव्र गिरावट आइरहेको छ । खेतीपातीमा रासायनिक विषादीको अनियन्त्रित प्रयोगले परागसेचक कीराहरू मौरी, भमरा र पुतली जस्ता प्राकृतिक किराहरु मर्दै गएका छन् । वन फँडानी, आगलागी, बाढी पहिरो र अव्यवस्थित सहरीकरणका कारण यस्ता जीवहरूको प्राकृतिक बासस्थान नासिदै गएको छ । जलवायु परिवर्तनका कारण तापक्रममा भएको वृद्धि र वर्षाको अनिश्चित चक्रले परागसेचकहरूको जीवनचक्र र फूल फुल्ने समयबीचको तालमेल विग्रिएकोले पनि परम्परागत परागसेचन प्रक्रियामा अवरोध बढेकोले अध्ययन अनुसन्धानबाट ठोस कुरा पत्ता लगाई नितीगत रुपमा प्राकृतिक परागसेचनलाई सुन्तुलित बनाउन परियोजनाले काम गरेको परियोजना संयोजक नेपालले बताए । बाली नालीमा परागसेचनमा कमी आउँदा केवल प्रकृतिलाई मात्र नभई प्रत्यक्ष रूपमा किसान र आमउपभोक्तालाई समेत असर परेको कृषि विज्ञहरू बताउँछन् । परागसेचनको कमीले फलफूल र तरकारीको उत्पादनमा ठूलो गिरावट आएको छ, जसले किसानको आम्दानी घटाएको छ भने खाद्य असुरक्षालाई बढाएको छ । उत्पादन घट्दा बजारमा महँगी बढ्ने र पोषणयुक्त खाद्यान्नको अभाव हुने जोखिम बढेको छ । जसले गर्दा समग्र चक्रिय प्राकृतिक प्रणाली नै कमजोर बनेको छ ।
प्राकृतिक परागसेचन बढाउन, कृषकहरुले खेतीपातीमा रासायनिक विषादीको विकल्पमा जैविक विधिहरू अपनाउने, प्रयोग गर्नै परेमा हरियो स्टिकरको विषादी मात्र प्रयोग गर्ने, खेतबारीको डिलमा परागसेचकलाई आकर्षित गर्ने फूलहरू रोप्ने, एउटै वाली नाली नलगाई फरक–फरक किसिमका वाली नाली लगाउने, किसान र स्थानीय समुदायलाई परागसेचनको महत्व र संरक्षणका विधिबारे तालिम दिने, स्थानीय स्तरमा रहेका रैथाने परागसेचकहरूको पहिचान र तिनको संरक्षणका लागि नीतिगत व्यवस्थाको परियोजना मार्फत पहल गर्ने परियोजना संयोजक नेपालले बताए ।
परियोजनाले पाल्पामा आगामी ५ वर्षसम्म फार्म प्रदर्शनी गर्ने, परागसेचनको वैज्ञानिक अध्ययन गर्ने, जागरण पैदा गर्ने, सरोकारवालमा क्षमता अभिबृद्धि गर्ने, विद्यालयस्तरमा हरित वगैचा निर्माण गर्ने, कृषक तथा कृषि प्राविधिक पाठशाला सञ्चालन गर्ने, सामाजिक सञ्जालमा पराग सेचन पैरवी कार्यक्रम सञ्चालन गर्ने, परागसेचन परेड कार्यक्रम सञ्चालन गर्ने, मौरीको उत्पादन बढाउन कृषक तथा प्राविधिकलाई तालिम, सामाग्री सहयोग, कृषि पर्यटनलाई बढाउन होमस्टे तालीम तथा सहयोग जस्ता कार्यक्रमहरु सञ्चालन गरिने लिवर्डका कार्यक्रम अधिकृत अनुपम उप्रेतीले जानकारी दिए ।
परियोजनाले तानसेन र बगनासकालीका किसानहरूलाई दिगो कृषि अभ्यासमा जोड्दै जैविक विविधता संरक्षणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ । कार्यक्रममा जिल्ला समन्वय समिती, तानसेन नगरपालिका, कृषि ज्ञान केन्द्र, सुन्तला जात फलफूल, प्रधामन्त्री कृषि आधुनिकरण परियोजना तानसेनका वडा नं. ६ र ९ को सहभागिता रहेको थियो । छलफलमा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा बहादुर थापा, कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डे, वडा अध्यक्षहरु राजेश कुमार अर्याल, सागर महर्जन, हेफर इन्टरनेसनलका कार्यक्रम अधिकृत सोभाखर न्यौपाने लगायतले कार्यक्रमको बारेमा जिज्ञासा राखेका थिए । नगर उपप्रमुख उपप्रमुख प्रतिक्षा गाँहा सिंजालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हर्ड इन्टरनेशनलका लालबहादुर जिरेलले गरेका थिए ।


