बुटवल,नेपाली काँग्रेसकी प्रभावशाली नेतृ निर्मला क्षेत्रीले वर्तमान सरकारले धमाधम अध्यादेश ल्याएर लोकतान्त्रिक अभ्यास विपरित काम गरेको बताएकी छन् ।बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संसद अधिवेशन अन्त्य गरेर धमाधम अध्यादेश ल्याइनु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएकी हुन् । लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक समेत रहेकी क्षेत्रीले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिलाई “संसदीय प्रणालीमाथिको गम्भीर प्रहार”को संज्ञा दिँदै लोकतन्त्रलाई कमजोर पार्ने कुनै पनि कदम नेपाली काँग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारिन् ।वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको उनले आरोप लगाइन् । जनप्रतिनिधिको भूमिकालाई निष्क्रिय बनाउँदै “चोर बाटो”बाट कानुन लाद्ने प्रयास जनमतको अपमान भएको उनको भनाइ थियो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत शक्ति केन्द्रित गर्ने प्रयासले शक्ति पृथकीकरणको सिद्धान्तमाथि नै प्रश्न उठाएको उल्लेख गर्दै उनले संविधानको मर्म, संस्थागत सन्तुलन र लोकतान्त्रिक प्रणालीको रक्षा गर्न कांग्रेस दृढतापूर्वक उभिने बताइन् ।
“संविधानको आत्मा भनेकै शक्ति सन्तुलन हो। जब सरकारले संवैधानिक निकायहरूलाई नियन्त्रणमा राख्ने उद्देश्यले अध्यादेशको दुरुपयोग गर्छ, त्यसले अधिनायकवादलाई प्रश्रय दिन्छ,” क्षेत्रीले भनिन्, “नेपाली कांग्रेस लोकतन्त्र र संविधानमाथि हुने कुनै पनि प्रहारविरुद्ध चट्टानझैँ उभिन्छ ।”सुकुम्वासी बस्तीमाथिको बल प्रयोगप्रति पनि उनले गम्भीर चिन्ता व्यक्त गर्नुभयो। सुकुम्वासी समस्याको समाधान दमन, डोजर र त्रासबाट सम्भव नहुने उल्लेख गर्दै उनले पहिचान, संवाद र सम्मानजनक पुनस्र्थापनामार्फत मात्रै दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राखिन् । राज्य नागरिकको अभिभावक बन्नुपर्नेमा डर र असुरक्षा फैलाउने माध्यम बन्दै गएको भन्दै उहाँले सुशासनको वास्तविक अर्थ नागरिकको मौलिक अधिकारको संरक्षण भएको स्पष्ट पारिन् । नेपाली कांग्रेसको ‘जरा अभियान’की केन्द्रीय प्रतिनिधिसमेत रहेकी क्षेत्रीले कांग्रेस अब लोकतन्त्र कमजोर पार्ने गतिविधि टुलुटुलु हेरेर नबस्ने चेतावनी दिइन् । जनहितका सकारात्मक कानुन निर्माणमा कांग्रेस सधैँ सहयोगी रहने तर संविधान, संसद र नागरिक अधिकारविपरीत आउने हरेक कदमको सदनदेखि सडकसम्म सशक्त प्रतिवाद गरिने उनको अडान थियो ।


