Shittalpati

गुल्मी,गुल्मीमा रातीको समयमा मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको वैशाख २१ गतेको बसेको बैठकले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई गर्न यस्तो निर्णय गरेको हो ।निर्णय अनुसार राति ९ बजेपछि  मदिरा विक्री र सेवन गर्न पाइने छैन् । पछिल्ला वर्षमा भएका मदिराका कारण आपराधिक घटनामा वृद्धि हुँदै जान थालेपछि स्थानीय तह तथा सरोकारवालाको अनुरोधमा  राति ९ बजेपछि मदिरा बिक्री र सेवनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । ‘‘मदिराका कारण समाजमा बढ्दो अपराधलाई रोक्न र शान्ति सुव्यवस्था कायम गर्नका यस्तो निर्णय गरिएको हो’’ प्रमुख जिल्ला अधिकारी गैह्रेले भने, ‘‘नियम उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिनेछ ।’’ जिल्लास्थित व्यवसायीहरूलाई न्यून गुणस्तरका मदिरा ल्याई बिक्री वितरण नगर्न वा नगराउन आग्रह गरिएको छ । तोकिएको समयपछि मदिरा बिक्री गर्ने वा सेवन गर्ने दुवैलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने बताइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मदिरा नियन्त्रण मार्फत जिल्लामा आपराधिक गतिविधि न्यूनीकरण, शान्ति सुरक्षा कायम गर्न र सामाजिक विकृति नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ । जिल्लामा मदिरा सेवन गरि घरपरिवारका सदस्यहरुलाई कुट्ने तथा गाली बेइजती गर्ने मुद्दाहरु जिल्ला प्रहरी कार्यालयमा बढी नै आउने गरेको पाइन्छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update