पाल्पा,कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र पाल्पाले स्थानीय तहसँग योजन तर्जुमा गोष्ठी तानसेनमा गरेका छन् । उनीहरुले लुम्बिनी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा निर्वाचन लक्षित आवश्यकता पहिचान सम्बन्धी अन्तक्र्रिया तथा स्थानीय तहसँग योजन तर्जुमा गोष्ठी गरेका हुन् ।
गोष्ठीको गाउँपालिका राष्ट्रिय महासंघकी केन्द्रीय सदस्य तथा बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले उद्घाटन गरेकी हुन् । गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेकी चिदीले छलफलबाट वास्तविक कृषक लक्षित बजेट तर्जुमा हुनेमा विश्वास व्यक्त गरिन् । उनले पाल्पा कृषि र पशुको क्षेत्रमा सम्भावना भएको जिल्ला भएकाले गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । अध्यक्ष चिदीले बाँदरका कारण किसानहरु पलायन हुने अवस्था सिर्जना भएकाले नीतिगत रुपमा प्रदेश र संघीय सरकारले त्यसलाई रोक्नेतर्फ ध्यान दिन आग्रह गरिन् । उनले स्थानीय सरकारले पालिका भित्रका कृषकहरुलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउन प्रदेश र संघ सरकारसँग समन्वय गर्दै आए पनि त्यहाँबाट पर्याप्त बजेट विनियोजन हुन नसेको बताइन् ।गोष्ठीमा सहभागी स्थानीय तहका कृषि शाखाका प्रमुखहरुले स्थानीयस्तरमा कृषकहरुले नियमित माटो परीक्षणको कार्यक्रम, बीज वृद्धि, मौरिपालन कार्यक्रम व्यवस्था गर्नुपर्ने माग गरेको बताएका थिए । उनीहरुले दक्ष जनशक्ति र समय अनुसार उनीहरुको क्षमता विकासमा ध्यान दिनुपर्ने समेत बताए । यसका साथै कृषि क्षेत्रको सम्भाव्यता अध्ययन, मल उत्पादनका लागि कारखाना, प्रविधिको प्रर्दशन, ब्राण्डिग, प्याकेजिंग र बजार व्यवस्थापनमा सहयोग पुग्ने कार्यक्रम तर्जुमा गर्न आग्रह समेत गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम तथा योजना र बजेटमा कृषि र पशु क्षेत्रका योजना निर्माणमा एक रुपता ल्याउनका लागि गोष्ठी गरिएको पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा प्रसाद खनालले जानकारी दिए । कृषि र पशु क्षेत्रको विकास योजनामा स्थानीय, प्रदेश र संघीय सरकारका विषयगत कार्यलय र सोही क्षेत्रमा काम गर्दै आएका सामाजिक संस्थाको समेत उपस्थितिमा भएको गोष्ठीले कार्यक्रमको दोहोरोपना हटाउन मद्दत गर्ने उनले बताए । कार्यक्रममा प्रदेश निर्देशानलयका बागवनी निर्देशक सन्देश धितालले कृषि पशु क्षेत्रका योजनाका विषयमा प्रस्तुती राखेका थिए । गोष्ठीमा माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष तथा प्रतिनिधि, पालिका कृषि तथा पशु शाखाका प्रमुख तथा प्रतिनिधि, स्थानीय कृषक समूह, कृषि सञ्जाल, सहकारीका प्रमुख लगायतका विषयगत कार्यालय र सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख अमिता पाण्डेको अध्यक्षता, पशु सेवा विज्ञ केन्द्र पाल्पाका युवराज ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।


