पाल्पा,चिनिया मल्ल स्मृति रनिङ कप २३ वर्षपछि ब्याडमिन्टन संघ पाल्पालाई हस्तान्तरण गरिएको छ । २०५७ सालमा व्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कप २०६० देखि यता हुन सकेको थिएन । आर्थिक अभावका कारण लामो समयदेखि प्रतियोगिता हुन नसक्दा त्यतिकै थन्किएको रनिङ कप संघका तत्कालिन सचिव राजेन्द्र बहादुर बज्राचार्यले दोस्रो साधारण सभाको अवसरमा संघका अध्यक्ष बसन्तलाल बज्राचार्यलाई हस्तान्तरण गरेका हुन् ।
राजेन्द्रले लामो समय प्रतियोगिता नभएपछि कप सुरक्षितरुपमा आफ्नै घरमा राख्दै आएका थिए । उनले संघको दोस्रो साधारण सभाको अवसरमा उक्त कप प्रतियोगिता सञ्चालन गर्ने गरी हस्तान्तरण गरेका छन् । बज्राचार्यले भने “रनिङ कप हाम्रो इतिहास हो, जिल्लाको ब्याडमिन्टन खेलको व्यापक विस्तार र विकास गर्ने गरी यो कप सञ्चालनमा ल्याएका थियौं, २०५७ र २०५९ मा दुई पटक मात्र रनिङ कप प्रतियोगिता गर्न सक्यौं । पछि आर्थिक स्रोत नभएपछि प्रतियोगिता गर्न छोड्यौं ।, त्यो कप मैले सुरक्षित नै राखेको हुँ । अहिले साथीहरुले प्रतियोगिता गर्ने चासो देखाएपछि संघलाई कप हस्तान्तरण गरेको छु ।” २०४३ सालमा पाल्पामा पहिलो पटक राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता गर्न सफल भएको उनले बताए । उनका अनुसार सो प्रतियोगितामा देशभरका ७३ जिल्लाबाट खेलाडीहरु सहभागी भएका थिए ।
संघका अध्यक्ष बसन्तलाल बज्राचार्यले इतिहासलाई सुरक्षित तरिकाले राखेकोमा खुसी हुँदै राजेन्द्र बज्राचार्यलाई हार्दिक आभार व्यक्त गरे । उनले छिट्टै रनिङ कप प्रतियोगिता गर्ने समेत बताएका छन् । तानसेनका दिनेश मल्लले आफ्ना बुबाको सम्झनामा कप स्थापना गरिदिएका थिए । सो कप दुई सय तोला चाँदीबाट निर्मित रहेको संघका तत्कालिन सचिव बज्राचार्यले बताए । उनका अनुसार हाल यसको मूल्य एक लाख भन्दा बढी पर्न जान्छ । संघका हाल बरिष्ठ सल्लाहकार समेत रहेका बज्राचार्यले तानसेनमा सम्पन्न साधारण सभामा संघका लागि दुई थान वाल पंखा समेत सहयोग गरेका छन् । उनी संघको तदर्थ समितिका अध्यक्ष समेत थिए । बज्राचार्य सामुदायिक व्याडमिन्टन क्लवका संस्थापक अध्यक्ष पनि भएर लामो समय खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याए । उनले आफ्नो कार्यकालमा प्रथम मेयर कप समेत गरेका थिए ।


