आज विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मे ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वव्यापी रुपमा छरिएर रहेका रेडक्रसका निकाय र यसमा आबद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन विशेष पर्व हो । रेडक्रस अभियानका संस्थापक एवम् पवद्र्धक महानायक जाँ हेनरी ड्यूनाको सम्झनामा उनीप्रति श्रद्धासुमन प्रकट गर्ने र अभियानका मानवीय गतिविधि, यसका आदर्श सिद्धान्त र समृद्ध इतिहासलाई प्रचारप्रसार गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा यो दिवसलाई लिइन्छ । आज देशका ७७ वटै जिल्लामा शाखा, ८ हजार ३१९ उपशाखा र १० लाख २७ हजारभन्दा बढी स्वयम्सेवक आबद्ध छन् । यी स्वयम्सेवकहरु नै रेडक्रसको आत्मा हुन्, जो निस्वार्थ भावले विपत्तिमा परेका मानिसलाई उद्धार गर्छन्, जीवनरक्षा गर्छन् र समाजलाई सहानुभूतिपूर्ण बनाउँछन् । रेडक्रसको मूल धर्म भनेको मानव उद्धार हो । युद्ध होस् वा प्राकृतिक विपत्ति, महामारी होस् वा भूकम्प नै किन नहोस् रेडक्रस सधैँ अग्रपङ्क्तिमा रहँदै आएको छ । रेडक्रस अभियानको लक्ष्य जुनसुकै समय र स्थानमा हुन सक्ने मानवीय पीडा हटाउनु वा कम गर्नु पनि हो । यस संस्थाले आकस्मिक सेवा मात्र होइन, विकास र पुनर्निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । दिवसमा हामी सबैले रेडक्रसका स्वयम्सेवक र कर्मशीललाई धन्यवाद दिनुपर्छ । उनीहरुको निस्वार्थ सेवा र समर्पणले समाजलाई सुरक्षित, सहानुभूतिपूर्ण र मानवतामय बनाएको छ ।
रेडक्रस दिवस केवल स्मरणको दिन होइन, यो आत्मपरीक्षणको दिन पनि हो । हामीले आफैँलाई सोध्नुपर्छ, के हामीले मानवीय सेवामा योगदान दिन सकेका छौँ ? के हामीले पीडितलाई सहारा दिन सकेका छौँ ? रेडक्रसले देखाएको बाटो एक संस्थाको लागि होइन, सम्पूर्ण मानवसमाजको लागि हो । रेडक्रस दिवसले हामी सबैलाई प्रेरणा दिन्छ कि मानवीयता नै सबैभन्दा ठूलो धर्म हो । जब हामी जाति, धर्म, राजनीति वा वर्गको सीमाभन्दा माथि उठ्छौँ तब मात्र साँचो मानवता प्रकट हुन्छ । रेडक्रसले यही सन्देश दिएको छ, मानवसेवा नै जीवनको सर्वोच्च मूल्य हो । मानवसेवाको अभियानमा जोडिएका सबैमा रेडक्रस दिवसको हार्दिक शुभकामना ¤

