Shittalpati
पाल्पा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व, अध्यक्षमा सिंह 

पाल्पा, पाल्पा उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व आएको छ । संघको १७ औं अधिवेशनबाट समिरमान सिहंको नेतृत्वमा संघले नयाँ नेतृत्व पाएको हो । 

शनिबार भएको मतदानको राती आएको अन्तिम मतपरिणाम अनुसार सिंहले अध्यक्ष पदका प्रतिस्पर्धी शैलेन्द्र भट्टराईलाई ६८ मतान्तरले पछि पार्दै संघको अध्यक्षमा विजयी भएका हुन् । सिंहले ५७९ मत ल्याएर बिजयी हुँदा निवर्तमान अध्यक्ष समेत रहेका भट्टराईले ५११ मत प्राप्त गरेको निर्वाचन अधिकृत टंक प्रसाद पन्थले जानकारी दिए । अध्यक्ष पदमा एक हजार एक सय १२ मत खसेको थियो । जसमा २१ मत बदर भएको छ । यी दुवै काँग्रेस निकट व्यवसायी हुन् । दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्षमा निर्वाचित सिंहलाई संघका पूर्व अध्यक्षहरुको समर्थन रहेको थियो भने  पराजित भट्टराईलाई नयाँ पुस्ताका व्यवसायीहरुको समर्थन थियो । अध्यक्षमा निर्वाचित सिंह संघको निवर्तमान महासचिव हुन् । तीन वर्ष महासचिवको अनुभव उनले लिइसकेका छन् ।

संघको २५ सदस्यीय समितिको लागि ३६ जनाले उम्मेदवारी दिएका थिए । यस्तै, वाणिज्य उपाध्यक्षमा भएको निर्वाचनमा रञ्जना अर्याल थापाले ५३१ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्दी सुरेन्द्र कर्माचार्यले ३३६ मत ल्याए । त्यस्तै उद्योग उपाध्यक्षमा मुक्तिराम जि.सी. यस अघि नै निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै क्षेत्रगत सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ । क्षेत्र नं. ३ मा दुई पदको लागि भएको निर्वाचनमा विनोद नेपाल, विश्व के.सी. र विष्णुप्रसाद रेग्मी चुनावी मैदानमा थिए । जसमा विनोद नेपाल र विश्व के.सी. विजयी भएका छन् । यस्तै क्षेत्र नं. ४ मा दुई सदस्यको लागि  नारायण न्यौपाने, मञ्जु रेग्मी र नारायण बहादुर पछाईबिच प्रतिष्प्रर्धा भएको थियो । जसमा नारायण न्यौपाने र नारायण बहादुर पछाई विजयी भएका छन् । क्षेत्र नं. ७ मा दुई सदस्यको लागि महेश शर्मा आचार्य, सविन मल्ल, मोहन बहादुर कुवँर र महेन्द्र श्रेष्ठबिच प्रतिष्प्रर्धा भएकोमा मोहन बहादुर कुवँर र सविन मल्ल निर्वाचित भएका छन् ।  यसैगरी क्षेत्र नं. १० मा दुई सदस्यको लागि सागर खड्का, विदुर घिमिरे, नविन घिमिरे, सुरेश गोदार र नम्रता थापाबिच प्रतिष्प्रर्धा भएको थियो । जसमा विदुर घिमिरे र सुरेश गोदार विजयी भएका छन् । यस्तै क्षेत्र नंं ११ मा दुई सदस्यको लागि कमल प्रसाद पाण्डे, जीवन पाण्डे, अनित श्रेष्ठ र सन्तोष श्रेष्ठ चुनावी मैदानमा थिए । जहाँ समान ३१ मत आएपछि भएको गोलाप्रथामा जीवन पाण्डे बिजयी भएका छन् । पाण्डे र सन्तोष श्रेष्ठको बराबर मत आएको थियो । अर्का सदस्य कमल पाण्डे ३३ मत ल्याएर बिजयी भएका छन् ।

यस्तै गरी क्षेत्रगत सदस्यहरुमा क्षेत्र नं. २ बाट सञ्जय कुमार श्रेष्ठ र विष्णु बहादुर पछाई, क्षेत्र नं. ५ बाट विनायक महर्जन र किशोरदर्शन बज्राचार्य, क्षेत्र नं. ६ बाट लक्ष्मण प्रसाद रेग्मी र अमन श्रेष्ठ, क्षेत्र नं. ८ बाट रमेशराज बज्राचार्य, क्षेत्र नं. ९ बाट निराकार श्रेष्ठ, क्षेत्र नं. १२ बाट दिपक घिमिरे र गंगाराम नेपाल, क्षेत्र नं. १३ बाट समत मियाँ र एसोसियट सदस्यमा दामोदर गैरे  भने यस अघि नै निर्विरोध निर्वाचित भएका थिए । अध्यक्षमा निर्वाचित भएसँगै सिंहले जिल्लाको समग्र उद्योग, व्यवसाय र वाणिज्यको क्षेत्रमा उपलब्धिमूलक कार्ययोजना बनाएर कार्यान्वयन गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पाल्पा आफैमा पर्यटकीय क्षेत्र भएकाले त्यसको प्रवद्र्धनमा सिंगो नेतृत्वले काम गर्ने उनले बताए । प्रजातान्त्रिक मुलुकमा हुने निर्वाचनका दौरानमा पक्ष–विपक्ष देखिनु स्वाभाविक भएको भन्दै सिंहले निर्वाचनको अन्त्यसँगै सबै एक भएर लक्ष्य हासिलमा लाग्ने उद्घोष गरे । 
 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update