पाल्पा,नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पाले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ प्रति घोर निन्दा र भत्र्सना गरेको छ । आज निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी मार्फत एमालेले प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउँदै वर्तमान सरकारले प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी तरीकाबाट नेताहरुलाई पक्राउ गरेको ठहर गरेको छ ।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित भनिएको ’गौरीबहादुर कार्की आयोग’ को प्रतिवेदन कार्यान्वयन गर्ने नाममा नेताहरूलाई पक्राउ गरेकोमा एमालेले गम्भीर आपत्ति जनाएको छ । उक्त आयोगले प्रारम्भदेखि नै निष्पक्षता गुमाएको र प्रतिवेदन सत्य खोज्ने भन्दा पनि प्रतिशोधलाई वैधता दिने दस्तावेजका रूपमा आएको एमालेको ठहर छ । सरकार गठन भएको चौबीस घण्टा नबित्दै गरिएको यस्तो कार्यले विधिको शासनको घोर उल्लङ्घन गरेको र कानुनी राज्यमाथि नै प्रहार गरेको एमाले पाल्पाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाएको विरोधपत्र उल्लेख गरेको छ ।
नेकपा एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्ति मगरद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै ५ वटा बुँदाहरू तत्काल कार्यान्वयन हुनुपर्ने माग गरेको छ । भदौ २३ र २४ को घटना छानबिनका लागि गठित कार्की आयोगप्रति पार्टीको सुरुदेखि नै असहमति रहेको र सर्वोच्च अदालतले समेत यसमा प्रश्न उठाएकाले अब सर्वोच्चकै बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने माग एमालेले गरेको छ ।
पूर्वाग्रही कार्की आयोगको प्रतिवेदन तत्काल खारेज गर्न र मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता लिनु पर्ने, सत्ताको दुरुपयोग गरेर समाजमा आतंक सिर्जना गर्ने गतिविधि स्वीकार्य नहुने एमाले पाल्पाले चेतावनी दिएको छ । प्रतिवेदन सार्वजनिक नहुँदै पूर्वाग्रही ढंगले गरिएको गिरफ्तारीले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने भएकाले अध्यक्ष केपी शर्मा ओली र नेता रमेश लेखकलाई अविलम्ब र निःशर्त रिहा गर्र्नु एमाले पाल्पाले जोडदार माग गरेको छ । बजारमा ग्यास, डिजेल, पेट्रोल लगायतका दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव र चर्को मूल्यवृद्धिका कारण जनताको जनजीवन कष्टकर बनेको भन्दै यस्ता समस्या तत्काल सम्बोधन गर्न माग गरेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा छिमेकी देशहरू चीन र भारतबाट हस्तक्षेप भइरहेको खबर आए पनि सरकार मौन रहेकोमा एमालेले आपत्ति जनाएको छ । नेपाली भूभागमा व्यावहारिक स्वामित्व स्थापना गर्न सरकारसँग माग गरिएको छ ।
एमाले पाल्पाले भदौ २३ मा आन्दोलन भड्काउने र राष्ट्रिय संरचनामाथि आक्रमण गर्ने तत्वहरू नै आज राज्यसत्ताको वरिपरि रहेको दाबी गरेको छ । जिल्ला प्रशासन कार्यालय अगााडी विरोधसभालाई सम्वोधन गर्दै एमाले केन्द्रिय सदस्य नारायण प्रसाद आचार्यले सरकारले आफ्नो शैली नसच्चाए र नेताहरूलाई रिहा नगरे देश पुनः दीर्घकालीन द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिए । एमाले पार्टी कार्यालय तानसेनको गोलखाना बाट विभिन्न नाराजुलुस गर्दै कार्यकर्ताहरु विरोधपत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । यसैगरी अनेरास्ववियु पाल्पाले पनि एमाले अध्यक्ष केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै,सहायक प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको छ । विरोध कार्यक्रमको संचालन पार्टी उपसचिव दिपक विश्वकर्माले गरेका थिए ।


