मुलुकको अभिभारा युवाको काँधमा आएको छ । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता ३६ वर्षीय बालेन्द्र शाहले प्रधानमन्त्रीको नेतृत्व गरेसँगै देशको अभिभारा युवाको काँधमा आएको हो । यो सँगै नेपाली राजनीति नयाँ चरणमा प्रवेश गरेको छ । नवयुवा पुस्ताले गरेको आन्दोलनको सफलतास्वरूप मुलुकको राजनीतिक नेतृत्व युवापुस्ताको काँधमा आएको हो । अहिलेसम्म मुलुकको नेतृत्व पुरानो पुस्ताले गर्दै आएको थियो । गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ बहुमत ल्यायो । यही सफलताले २०७२ सालमा नयाँ संविधान बनेयता एकल पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको छ । यो सरकारले बिनाअवरोध पाँच वर्ष मुलुकको नेतृत्व गर्न पाउने अवसर प्राप्त गरेको छ । अब राजनीतिक अस्थिरता र अस्थिर सरकारको पीडाबाट मुलुकले मुक्ति पाउने आम नागरिकको विश्वास छ ।
हिजोका कुरीति र विकृतिविरुद्ध आवाज उठाउने र समाजलाई सचेत गराउने पुस्ता आज सरकारको जिम्मेवारी तहमा पुगेको छ । ती सबैको आशा र भरोसाको केन्द्रमा बालेन छन् । बालेनको शपथ सुशासनको हो । शंखनाद र मन्त्रोच्चारण जनताको सुख, समृद्धि र शान्तिका लागि हो । यो मर्म बुझेर अघि बढ्न बालेनले फरक शैली, संस्कार र व्यवहार अपनाउनै पर्छ । विगतका राम्रा कामलाई निरन्तरता दिँदै नराम्रा पक्षलाई हटाउदै जानु वर्तमान सरकार दायित्व रहने छ । यसका लागि सिंगो रास्वपाको भूमिका प्रमुख हुनेछ भने अन्य दल, कर्मचारीतन्त्र, सामाजिक र पेसागत क्षेत्रबाट समेत उत्तिकै रचनात्मक सहयोगको खाँचो छ । नकारात्मकता त्यागेर सिर्जनात्मक बन्दै हातेमालो गर्न सके साँच्चै देशको अवस्था र जनताको मुहार फेर्न सम्भव छ । इतिहासले अवसर सबैलाई दिन्छ तर त्यसलाई सही रूपमा उपयोग गर्ने क्षमता सीमित व्यक्तिहरूमा मात्र हुन्छ । यो सरकारका लागि पनि त्यही क्षण आएको छ । यदि यसले पुरानो परम्परालाई तोड्दै नयाँ मानक स्थापित गर्न सक्यो भने, यसले केवल सफल सरकारको रूपमा होइन, परिवर्तनको प्रतीकको रूपमा आफ्नो पहिचान बनाउनेछ । अन्यथा, बहुमतको शक्ति भएर पनि अपेक्षाहरू पूरा गर्न नसक्ने सरकारको सूचीमा अर्को नाम थपिनेछ ।

