Shittalpati
पाल्पा उवासंघ अध्यक्षका उम्मेदवार भट्टराईको अभिव्यक्तिप्रति पूर्व अध्यक्षहरुको ध्यानाकर्षण  

पाल्पा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवार तथा निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराईको अभिव्यक्ति प्रति संघका पूर्व अध्यक्षहरुको गम्भीर ध्यनाकर्षण भएको छ । भट्टराईले एवान टेलिभिजनमा अन्र्तवार्ता दिने क्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु र पूर्व कार्य समितिलाई भ्रष्टाचारीको संज्ञा दिई कुशासनको आरोप लगाएको भन्दै पूर्व अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

संघको शनिबार हुने निर्वाचनमा केन्द्रीत अन्तर्वार्ता दिने क्रममा भट्टराईले गोर्खेकोटमा निर्माण भएको संघको भवन निर्माणका क्रममा पूर्व अध्यक्षहरुले ठूलो आर्थिक अनियमित गरेको भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति संघका पूर्व अध्यक्षहरु हरी रायमाझी, भुषण राजलवट,मधु दयाल सैंजू, मोहन श्रेष्ठ, राजु महर्जन लगायतले गम्भीर ध्यानाकर्षण भएका जनाएका छन् ।
उनीहरुले आफ्नो मत माग्ने आधार नभएपछि भट्टराईले आफुहरुलाई अनावश्यक आरोप लगाएको बताएका छन् । उनीहरुले यस्ता गलत प्रवृत्तिका विरुद्ध सजग हुन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् । “आफ्नो मत माग्ने आधार नभएपछि गालीगलौज र जातीय नारा लगाउने प्रवृत्तिका विरुद्धमा हामी सबै सजग र सचेत हुन जरुरी छ । भट्टराईको कार्यकालमा कुनै उल्लेखनीय कार्य नभएको र सो को लाज छोप्न व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएको कुरालाई सम्पूर्ण उद्योगी, व्यापारी, व्यवसायीहरुले बुझ्नु भएको छ भन्नेमा हामी विश्वस्त छौं । हामीले पाल्पा उद्योग वाणिज्य संघको सम्पूर्ण अग्रजहरु र सदस्यहरुको अपमान सहित मानहानी भएको महसुस गरेका छौं” विज्ञप्तिमा भनिएको छ । 

संघको अध्यक्ष जस्तो गरिमामय पदको  जिम्मेवारी सम्हालिसके व्यक्तिबाट अग्रज र संघको नै मानमर्दन हुने गरी आएको अभिव्यक्ति आफुहरुको लागि कुनै पनि हालतमा उचित नहुने उनीहरुको भनाई छ । उनीहरुले सो अभिव्यक्तिप्रति सार्वजनिक रुपमा माफी मागी फिर्ता नलिएमा कानूनी प्रक्रियामा जाने समेत भट्टराईलाई चेतावनी दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update