Shittalpati
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

पाल्पा,लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
रूपन्देहीको सैनामैना नगरपालिका–४ लखनपाडास्थित सैनामैनामा एक पुरुष मृत भेटिएका छन् । सैनामैनास्थित कृषि पशुपंक्षी तथा मत्स्यपालन फर्ममा काम गर्ने नवलपरासी सरावल गाउँपालिका–७ का ६७ वर्षीय राम आज्ञा केवट मृत भेटिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उनी सोही फर्मको आफै सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै दाङको शान्तिनगर गाउँपालिका–६ कोर्वाङघाटस्थित कुलोमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बबई गाउँपालिका–७ की ६५ वर्षीया गंगी कुवँर मृत अवस्थामा फेला परेकी हुन् । मृतकको अनुहार र खुट्टामा घाउचोट देखिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले घटनाका शंकास्पद एक जना व्यक्तिलाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ ।

यस्तै बर्दिया गुलरिया नगरपालिका–४ स्थित बबई नदीमा डुबेर एक बालकको ज्यान गएको छ । सोही ठाउँ बस्ने धनिराम यादवको १० वर्षीय छोरा रिदम यादवको नदीमा डुवेर ज्यान गएको हो । नदीमा पौडी खेल्ने क्रममा डुबेर अचेत भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update