Shittalpati
आज विश्व पानी दिवस मनाइदैं

पाल्पा, आज विश्व पानी दिवस नेपालमा पनि मनाइँदै छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मंगलबार विश्व पानी दिवस मुलुकभर मनाउन लागिएको हो । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोग लगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक संघसंस्थाले विविध कार्यक्रम आयोजना गरिरहेका छन् । उनीहरुले देशका विभिन्न स्थानमा विश्व पानी दिवस सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

प्रत्येक वर्ष मार्च २२ तारिखका दिन यो दिवस मनाइने गरिन्छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो । पानी पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसका लागि मात्र नभई सबै जीव र वनस्पतिको जीवनको आधार हो । चेतनशील प्राणीका रुपमा मानवको जीवनका क्रियाकलाप पनि पानीमा निर्भर रहन्छन् । हाम्रा घरायसी क्रियाकलाप, खेतीपाती र पशुपालन जस्ता कृषि प्रणाली, स्वास्थ्य र आर्थिक क्रियाकलापदेखि धार्मिक एवं सांस्कृतिक संस्कारमा गर्भावस्थादेखि मरणोपरान्त सम्म पानीको आवश्यकता पर्दछ । पृथ्वीको दुई तिहाइ भू–भाग पानीले ओगटेको भए पनि स्वच्छ पानीका स्रोत कम छन् । असावधानीपूर्वक थालिएका विकास प्रयास र मानवीय हस्तक्षेपका कारणले भएका सीमित स्वच्छ पानीका स्रोतसमेत प्रदूषित भएका छन् । स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्व दर्शाउनका लागि नै विश्व खानेपानी दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update