
पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । ५ करोड ८७ लाख ३७ हजार ४ सय ९५ रुपयाँको लागतमा नगर सरकारले आफ्नै भवन निर्माण गरेको हो ।
४ तले भवनमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित विषयगत शाखाका छुट्टाछट्टै कक्ष रहेका छन् । आयुर्वेद शाखा र पशु विकास सेवाको छुट्टै आफ्नै भवन छ । नवनिर्मित भवनमा ३५ कोठा रहेका छन् । सहज सेवाका लागि नगरपालिकाले आफ्नै आन्तरिक स्रोतको रकम बिनियोजन गरी प्रशासनिक भवन निर्माण गरेको जनाएको छ । नवनिर्मित भवनको नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका छन् । भवनको उद्घाटन गर्दै गृहमन्त्री खाँणले नगरको सेवा प्रवाहमा भवन निर्माणले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले अधिकांस स्थानीय तहहरुले सांघुरा भवनबाट सेवा प्रवाह गर्नु परेको भन्दै अब भौतिक पूर्वधार निर्माणमा समेत ध्यान दिन आवश्यक रहेको औल्याए । मन्त्री खाँणले सुरक्षा व्यवस्था पछिल्लो समय मजबुद भएको दावी गर्दै यस कार्यमा सहयोग गर्ने सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रति धन्यवाद ज्ञापन गरे । उनले प्रहरीहरुको मनोबल उच्च बनाउनका लागि सरकारले थप कार्यक्रम ल्याउन लागेको बताए । मन्त्री खाँणले एउटा नेपालीले अर्को नेपालीको अस्तित्व स्वीकार गर्ने वातावरण तयार गर्नु नै सरकारको दायित्व रहेको औल्याए । कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले पहाडमा रहेका गाउँको विकास नहुँदासम्म देशको विकास नहुँने भन्दै पहाड मै विकास गर्नु प्रदेश सरकारको लक्ष्य रहेको बताए । नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधा कृष्ण कंडेलले विकासको लागि सहमति र सहकार्यको आवश्यक रहेको औल्याए । जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मिरा मरासिनीले निर्वाचन संघारमा आएको बताउँदै महिलाहरु नेतृत्व लिनको लागि हिम्मत राखेर अघि बढ्न आग्रह गरिन् ।
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले युवाहरुलाई रोजगर र उत्पादनसँग जोड्ने समय आएको बताए । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य कमलराज भट्टराईले नगरपालिकामा प्रशासनिक भवनबाट सबै सेवा प्रवाह हुनु सुखद् कुरा रहेको धारणा व्यक्त गरे । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सल्लाहकार लेखनाथ पोखरेल, रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकाल नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णु देवी घिमिरे, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी, प्रवक्ता हुमनाथ न्यौपाने लगायतले आ–आफ्ना धारणा राखेका थिए । योजना अधिकृत कपिल बहादुर खाँणको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो ।