Shittalpati
१२ अर्ब ४६ करोडको धान आयात

पाल्पा, धान उत्पादनमा उल्लेख्य सफलता हासिल गर्न नसक्दा नेपालमा बर्सेनि धान आयातको दर बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा मात्र १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरको धान आयत भएको छ । भन्सार विभागको तथ्याड्ढमा उल्लेख भए अनुसार सो समयमा ४२ करोड ६३ लाख ५७ हजार ८ सय १० केजी धान आयात भएको हो । सो अवधिमा ब·लादेशबाट १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ ।

केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याड्ढमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७ सय ९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले जनाएको छ । मुलुकमा बर्सेनि चामलको खपत बढिरहे पनि सोही मात्रामा धानको उत्पादन हुन नसक्दा आयात बढेको हो । कृषिमा उत्पादनमुखी कार्यक्रम लैजान नसक्दा मुलुकमा धान आयत बढ्दै जाने देखिन्छ । धानको उत्पादकत्वमा सुधार आवश्यक रहे पनि सरकारले त्यसतर्फ ध्यानै दिएको छैन । अहिले सहरी क्षेत्रका उपभोक्ताले मसिनो र बास्नादार चामलको माग बढाइरहेका छन् । विदेशबाट अर्बौंको चामल आयात भएको सुनिन्छ, खासमा अरू कुनै नभएर यही मसिनो र बास्नादार जातको चामल आएको हो ।

सहरी क्षेत्रमा बस्ने मध्यम र उच्च वर्गीय उपभोक्ताले स्वादिलो र मसिनो चामलको माग गर्ने, तर नेपालमा त्यस्तो चामलको उत्पादन न्यून हुने हुँदा आयातदर धेरै देखिएको हो । त्यसैले सरकारले मसिनो र बास्नादार धानको उत्पादन बढाएर आयात प्रतिस्थापनको लक्ष्य राख्नुपर्छ । धानखेती हुने क्षेत्रफलमा बिस्तारै अन्य बालीले प्रश्रय पाउन थालेकाले पनि नेपालमा धान उत्पादन न्यून हुने गरेको छ । पहाडी क्षेत्रमा अलैँची, चिया, कफी, तरकारी खेती फैलिन थालेको छ । तराईमा पनि नगदे बाली लगाउन थालिएको छ । त्यस्तै, तराईमा खेतीयोग्य जमिनलाई प्लटिङ गरी बस्ती बसाउन थालिएकाले पनि क्षेत्रफल घटेर उत्पादनमा ह्रास आइरहेको छ । यहाँ रहेका सीमित धानखेती हुने क्षेत्रफलको संरक्षण गर्ने र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रम ल्याउनतर्फ सरकारले ध्यान दिनुपर्छ ।

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update